पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नयाँ विमान अझै भेटिएन

Tara-Air-Viking-काठमाडौं। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान उडेको १३ मिटेटपछि सम्पर्क विहिन भएको छ । चालक दलका सदस्यसहित २१ जना सवार तारा एयरको विमान आज बिहान बेपत्ता भएको हो । बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको हो । कल साइन 9N-AHH रहेको सो विमानको खोजी कार्य जारी रहेको छ । विमानको खोजीका लागि जोमसोमबाट नेपाली सेनाको एउटा र पोखराबाट पनि एउटा निजी हेलिकोप्टर समेत परिचालन गरिएको र शंकास्पद स्थानमा खोजी भइरहेको छ । तारा एयरले जनाए अनुसार हराएको यो विमान गत सेप्टेम्बरमा मात्रै खरीद गरिएको नयाँ हो । म्याग्दीमा दुर्घटना भएको आशंकामा खोजी जारी छ । दाना गाविसको रुप्सेभीर लगायतका स्थानमा खोजी भइरहेको छ । स्थानीयबासीले ठूलो आवाज आएको सुनेको तथा आगो देखेको भनेकै भरमा खोजी गर्ने गरिएको छ । विमानको खोजीमा खराब मौसमले पनि अवरोध उत्पन्न भएको छ । नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार नेपाली सेनाको हेलिकोप्टर खोजीमा सक्रिय छ । रुप्सेभीर क्षेत्रमा बादल लागेकाले खोजी प्रभावित भएको छ । स्थल मार्गबाट पनि सेना, पुलिस र सशस्त्र प्रहरी खटिएका छन् । तर, अहिलेसम्म विमान दुर्घटनाग्रस्त भएको भेटिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित