कांग्रेस सभापति सुशील कोइरालाको निधन

sushil daकाठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ । कोइरालाको निमोनियाका कारण मंगलबार बिहान १२ बजेर ५० मिनेटमा निधन भएको कोइरालाका स्वकीय सचिव अतुल कोइरालाले जानकारी दिए । दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो । निधनको खबरपछि राति नै काठमाडौंमा उपलब्ध नेताहरु कोइराला निवास महाराजगञ्ज पुगेका थिए । यसैबीच कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा जारी निर्वाचन प्रक्रिया स्थगन गर्ने निर्णय गरेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान १० बजे बस्ने आकस्मिक केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धि औपचारिक निर्णय गर्नेछ । अधिकांश नेताहरु महाधिवेशनका लागि काठमाडौं बाहिर छन् । अस्वस्थ्य भएपछि कोइराला सोमबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । काठमाडौं कांग्रेसको अधिवेशन उद्घाटन, प्रधानमन्त्रीले बोलाएको पूर्वप्रधानमन्त्रीहरुको छलफलमा पनि जान सकेका थिएनन् । यसैबीच कांग्रेसले शोक विज्ञप्ती जारी गर्दै कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ ।

इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरुकमा सबैभन्दा सादा जीवन व्यतीत गर्ने मध्येमा एक थिए । प्रधानमन्त्री छँदा उनको सम्पत्ति मात्र तीन वटा मोबाइल रहेको खबरले चर्चा समेत पायो र विदेशी सञ्चार माध्यमहरुले उनलाई विश्वकै गरिव प्रधानमन्त्री समेत भने । बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्मिएका कोइराला वाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै आएका थिए । विसं २००७ सालमा ११ वर्षको छँदै राजनीतिमा चासो राख्न थालेका कोइराला निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए । कोइराला विसं ०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२औं महाधिवेशनबाट पार्टीको सर्वोच्च पदसभापतिमा निर्वाचित भएका थिए । ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी प्रजातन्त्रमाथि ‘कु’ गरेपछि उनी १६ वर्षसम्म प्रवास भारतमा बसे । नेपालमा लोकतन्त्र वहालीका लागि कांग्रेसले सञ्चालन गरेको शसस्त्र क्रान्तिमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा सुशीलको महत्वपूर्ण भूमिका रहेको थियो । गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला कार्यबाहक हुँदै पार्टी सभापति भए । भारतमा तीन वर्ष विताउन मुस्कील परेथ्यो कोइरालालाई वि.सं. ०३० सालमा गिरिजाप्रसाद कोइरालाको योजना अनुरुप तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमान अपहरण गरी भारत बिहारको फारवेसगञ्जमा उतारियो । त्यही विमान अपरहणबाट प्राप्त गरेको ३० लाख भारतीय रुपैयाँ शसस्त्र क्रान्तिमा उपयोग भएको थियो । विमान अपहरणपछि भारतीय प्रहरीलाई छल्न सुशील कोइरालाले मुम्वई, कालिङपोङ लगायत भारतका विभिन्न शहरमा भूमिगत जीवन बिताएका थिए । पछि सोही अभियोगमा दिल्लीबाट पक्राउ परेका कोइरालालाई अत्यन्त क्रुर यातनासहित भारतको तिहाड, अररिया, पूणिर्या, भागलपुर आदि ठाउँमा तीन वर्षसम्म राखिएको थियो । राजनीतिक जीवनमा सुशीलले सबै भन्दा कठीन दुःख त्यहीबेला पाएका थिए । वि.सं. ००७ सालपछि नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले ६ वर्ष जेलसमेत गरी १६ वर्ष भारतमा बिताएका छन् । वीपी कोइरालाको निधनपछि जर्मनी अष्ट्रेलिया र वेलायतलगायतका युरोपियन मुलुकमा पार्टीको पक्षमा लविङका लागि गएका कोइराला सोसलिष्ट इन्टरनेशनलका अधिकांश सम्मेलनमा सहभागी भएका छन् । वि.सं. ०४६ सालको जनआन्दोलनपछि ०४८ र ०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसदमा विजयी भएका कोइराला सधैं सत्ता र शक्तिभन्दा बाहिर रहँदै आएका थिए । ०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि गठित पहिलो सरकारमा परराष्ट्रमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका कोइरालाले उपप्रधानमन्त्री बन्न गरिएको आग्रह पटक–पटक अस्वीकार गर्दै आएका थिए । २०७० साल मंसिरमा भएको संविधानसभाको निर्वाचनमा बाँके ३ र चितवन ४ वाट निर्वाचित कोइराला २०७० साल माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । कोइरालाकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो । असोज ३ गते नयाँ संविधान जारी भएपछि उनले असोज २३ गते राजीनामा दिए । कोइराला यतिबेला पार्टीको १३ औं महाधिवेशन गराउने तयारीमा थिए ।

प्रतिक्रिया

सम्बन्धित