डिएसपी पक्राउपछि एसएसपी हेडक्वार्टर तानिए

pitaकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेका महानगरिय प्रहरी परिसर ललितपुरका डिएसपी दयानीधि ज्ञवालीको काण्डले परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीलाई ठूलो धक्का लागेको छ ।अधिकारी राम्रो कमाण्ड गर्न नसकेको भन्दै  हेडक्वार्टर तानिएका छन् ।

 जहाँ  बस्यो त्यही चेन अफ कमाण्डमा कमजोर मानिदैं आएका एसएसपी अधिकारी डिएसपी ज्ञवालीको भ्रष्ट आचरण र गैर कानुनी कारोबार बारे पहिल्यै जानकार थिए । तर, एमाले नेताहरुको दबाबमा ज्ञवालीलाई जे गर्न पनि छुट हुँदै आएको थियो । ज्ञवाली खराव प्रहरी अधिकृत भए पनि प्रवक्ता र परिसरमा मुद्दा हेर्ने जिम्मा पाएका थिए । एसएसपी अधिकारी ज्ञवालीको घुस काण्डपछि तनावमा परेको प्रहरी स्रोत बताउँछ । यसअघि अधिकारी जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रमुख छँदा उनकै मातहतका प्रहरी एसएलआर राइफल सहित भागेका थिए ।

  एसएलआर सहित भागेका छोटेलाल ठाकुरलाई महानगरिय प्रहरी अपराध महाशाखको टोलीले तीन महिना अघि सुन्धाराको लुम्बिनी पाहुना घरमा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सामा छँदा पनि एसएसपी अधिकारीकै कमजोर चेन अफ कमाण्डकै कारण हतियार हराएको थियो । प्रहरीमा अधिकारीलाई राम्रा अधिकृतका रुपमा लिने गरिए पनि चेन अफ कमाण्डमा उनी कमजोर मानिन्छन् ।त्यसो त, परिसरकै कमजोर चेन अफ कमाण्डको फाइदा लिएका डिएसपी ज्ञवालीकै आडमा गुण्डा नाइके विश्वक्रान्ति सिंहले पेट्रोल पम्पमा विचौलियाको भूमिका निर्वाह गरेका थिए ।

 सोमबार पेट्रोल पम्पको स्वामित्व भोगचलन विवादमा विचौलियाको भूमिका निर्वाह गर्ने विश्वक्रान्ति हेटौडाका कुख्यात गुण्डा नाइके हुन्,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ । विश्वक्रान्ति डन दिपक मनाङ्गे निकट मानिन्छन् । गत वर्ष एक करोड ठगी काण्डमा जेल परेका विश्वक्रान्ति ललितपुरलाई आधार क्षेत्र बनाई असुली धन्दामा सक्रिय थिए । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई सोह्रखुट्टे प्रहरीको इन्चार्ज छंदा ज्ञवालीमाथि सात लाख असुलेर छाडेको आरोप लागेको थियो ।ज्ञवाली स्वयम्भू बृत्तमा प्रमुख रहँदा अर्का गुण्डा नाइके बाघे लामासँग पनि नजिक रहेर गुण्डागर्दीलाई संरक्षण गरेको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंका तत्कालिन एसएसपी रमेश खरेलले स्पष्टिकरण सोधेका थिए ।

 अख्तियारले एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन सम्बन्धमा गैह्रकानूनी रुपले मुद्दा खिचेर विवाद मिलाइदिने नाममा डिएसपी ज्ञवाली, इन्सपेक्टर रमेशबहादुर सिंह र सई लालमणी पाण्डेसहित विचौलिया गुण्डा विश्वक्रान्तिलाई रकम लिइरहेको अवस्थामा मंगलबार बेलुका पक्राउ गरेको थियो । डिएसपी ज्ञवाली, इन्सपेक्टर सिंह र विचौलिया विश्वक्रान्ति पुल्चोकस्थित थाईघर रेष्टुरेन्टबाट तीन लाख लिंदालिंदै पक्राउ परेका थिए भने सई पाण्डे कलंकीस्थित स्टुडेन्ट क्याफेबाट एक लाख पचास हजार घुस रकम लिदैगर्दा पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित