क्यासिनो प्रकरणमा एआईजीलाई आइजीपीको चेतावनी

aig pratapकाठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापाले क्यासिनोमा नेपाली प्रवेशलाई खुकुलो बनाएको भन्दै आइजीपी उपेन्द्रकान्त अर्यालले अबदेखि कडाई गर्न उनलाई चेतावनी दिएका छन् । स्रोतका अनुसार भारतीय परिचयपत्र बोकी क्यासिनो प्रवेश गरेका नेपाली जुवाडेहरुलाई क्यासिनोसँगको सेटिङका आधारमा एआईजी थापाले मातहतका निकायलाई छाड्न दबाब दिएको समाचार बाहिर आएपछि आईजीपी अर्यालले थापालाई प्रहरी हेडक्वार्टर बोलाई चेतावनी दिएका हुन् । अर्यालले कुनै पनि हालतमा नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाउन महानगरिय प्रहरी परिसर र बृत्तका प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् । एआईजी थापासँगकै सेटिङका कारण सोल्टी होटलमा सञ्चालित क्यासिनो माजोङ खारेज हुनबाट जोगिदै आएको छ । नेपाली जुवाडेहरुलाई भारतीय रासन कार्ड बनाएर जुवा खेलाउँदै आएको उक्त क्यासिनोबाट कालिमाटी बृत्तका प्रहरीले पक्राउ गर्दा समेत एआईजी थापाकै कारण जुवाडे छुट्दै आएका छन् ।

 क्यासिनो व्यवस्थापन नियमावलीमा क्यासिनोमा नेपालीलाई प्रवेश गराएको खण्डमा लाइसेन्स नै रद्द हुने प्रष्ट प्रावधान छ । तर, क्यासिनो जोगाउन पक्राउ परेका व्यक्तिलाई जुवा ऐनअनुसार मुद्दा नचलाई एआइजी थापाकै दबाबमा प्रहरीले सार्वजनिक अपराध मुद्दामा केही दिन थुनेर छाडेको थियो । महानगरीय प्रहरी वृत्त कालिमाटीले पुस २५ गते बेलुका क्यासिनो माजोङमा छापा हानी गुर्जुधाराका श्रवणकुमार शाहीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनी अजय साहको नाममा बनाइएको भारतीय निर्वाचन आयोगले जारी गरेको परिचयपत्रका आधारमा क्यासिनो छिरेका थिए ।

 उनलाई तत्काल छाड्न एआईजी थापाले मातहतका प्रहरीलाई दबाब दिएका थिए । पछि सार्वजनिक अपराध मुद्दा चलाएर छाडिएको थियो । शाहीलाई पक्राउ गर्ने क्रममा क्यासिनो माजोङका महाप्रबन्धक पूर्व एआईजी रोहित थापा र सेक्युरीटी इन्चार्ज गोविन्द अधिकारीलाई पनि नियन्त्रणमा लिएकोमा एआईजी थापाकै दबाबमा उनीहरु पछि तत्काल छुटेका थिए । राजधानीमा हाल चार वटा क्यासिनो सञ्चालनमा छन् ।

  माजोङसहित बौद्धको हायात होटलमा क्यासिनो प्राइड, याक एण्ड यतीमा क्यासिनो रोयल र सांग्रिला होटलमा क्यासिनो मिलिनियर्स क्वल सञ्चालनमा छन् । सबै क्यासिनासँग एआईजी थापाले सेटिङ मिलाइसकेको स्रोतको भनाई छ । तर, आईजीपी अर्यालले बृत्तका प्रमुखहरुलाई गलत काममा हाकीमले दबाब दिए नटेर्न आदेश दिइसकेको हुँदा क्यासिनो प्रकरणमा थापाको सेटिङ कतिको सफल होला ? त्यो भने समयले नै बताउला । थापाले पछिल्लो समय हुण्डी कारोबारी र सुन तस्करसँग पनि सेटिङ मिलाईसकेको हुँदा प्रहरीले हुण्डी कारोबार र सुन तस्करी रोक्न खासै पहल गरेको छैन,यूनाइटेड पोष्टमा खबर छ   ।

प्रतिक्रिया

सम्बन्धित