इक्यानमा भित्र भित्रै प्यानल खडा

ecannकाठमाडौं । एजुकेशन कन्सलटेन्सीहरुको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा चुनावी चहलपहल बढेको छ । आगामी फागुन १५ गते इक्यानको नयाँ नेतृत्वको लागि चुनाव हुँदैछ । अहिलेसम्म अध्यक्ष पदमा दुई जनाको मात्र चर्चा चलेको छ । नेट्कोटेकका सञ्चालक सरोजकुमार बस्नेत र मेट्स एजुकेशनका प्रकाश पाण्डेबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । दुबैले आफ्नो एजेण्डा भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् । पाण्डे एमाले निकट हुन् भने बस्नेत कांग्रेस निकट हुन् । दुबैले भित्रभित्रै प्यानल खडा गरेपनि बाहिरी रुपमा घोषणा भने गरेका छैनन् ।

  व्यवसायीहरु भने राजनीतिक मात्र नभई व्यवसायिक एजेण्डा बोकेका सक्षम नेतृत्वको खोजीमा छन् । पछिल्लो सयम इक्यानमा बढि राजनीति हावी हुन थालेपछि बस्नेत र पाण्डे दुवै जना राजनीतिक आस्थाका आधारमा भन्दा प्रभावशाली व्यवसायीहरुलाई आफ्नो प्यानलमा ल्याउने लबिङमा पनि जुटेका छन् । इक्यानका अध्यक्ष राजेन्द्र बरालले आफूले अब अध्यक्षमा दावी नगर्ने बताइसकेको हुँदा चुनाव हुनेमा व्यवसायीहरु निश्चित छन् ।

 इक्यानमा तीन उपाध्यक्षको पद रहेकोमा एजुकेशन पार्कका निरज सिटौला (भुपेन्द्र), कंगारो एजुकेशनका महेशबाबु तिमिल्सना, ओपारोका पदम भट्टराईले दावी गरिरहेका छन् । यि तिनै जना कांग्रेस निकट मानिन्छन् । सिटौला स्पष्ट भिजनकासाथ व्यवसायिक एजेण्डा बोकेर हिंडिरहेका छन् । त्यस्तै, रोयल एजुकेशनका बिष्णुहरी पाण्डेले अध्यक्षमा हल्ला गरी प्रकाश पाण्डेको समूहबाट उपाध्यक्षमा आउने इच्छा देखाएका छन् । उपाध्यक्षमा द नेक्स्टका सञ्चालक शालिकराम भण्डारी पाण्डेको प्यानलमा परेका छन् ।

  पाण्डेकै समूहबाट यशोधा भट्टराईको नाम बाहिर आएपनि व्यवसायीहरुले भने उनलाई त्यति रुचाएका छैनन् । त्यस्तै, महासचिवमा कमन फाउण्डेसनका सन्तोष प्याकुरेल र काठमाडौं इन्फोसिसका राजेन्द्र रिजालको नाम अहिलेसम्म चर्चामा छ ।

   सचिवमा कांग्रेसबाट उमेश ढुंगेल र एमालेबाट श्रीराम पौडेल तथा सन्दीप मिश्रको नाम चर्चामा छ । कोषाध्यक्षमा कांग्रेसबाट भरत रेग्मी र एमालेबाट रमेश वाग्ले तथा खड्ग ताम्लिङको नाम चर्चामा छ भने सहकोषाध्यक्षमा कांग्रेसबाट राकेश श्रेष्ठको नाम चर्चामा छ । त्यसैगरी केन्द्रीय सदस्यहरुमा शेषराज भट्टराई, दिपकराज भुषाल, राजेश चापागाईं, निरुपमा महर्जन, सदन चौहानलगायत चर्चामा छन् ।

प्रतिक्रिया

सम्बन्धित