रामेछापको बेथान दंगाग्रस्त क्षेत्र घोषणा

रामेछाप : रामेछापको पश्चिम क्षेत्र सुनापति गाउँपालिकाको वडा नं ४ को बेथानलाई स्थानीय प्रशसनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार सूचना प्रकाशित गरी ४ नम्बर वडामा मंगलबारबाट लागू हुने गरी दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो । वाम गठबन्धन र कांग्रेसको चुनावी कार्यक्रम जुधेको कारण देखाउँदै स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको जनाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ख बमोजिम बेथानमा सभा जुलुस र अन्य कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको छ । सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले उक्त आदेश जारी गरेका हुन् । प्रशासनले प्रयोग गरेको दफा बमोजिम एकै थलोमा ५ जनाभन्दा बढी मानिसहरुको भेला हुन पाइँदैन । शान्ति सुरक्षामा खलल पर्ने अवस्था देखिएकोले बेथानलाइ अर्को आदेश नभएसम्मका लागि दंगाग्रस्त क्षेत्र घोषणा गरीएको प्रहरीले जनाएको छ । प्रशासनले त्यस क्षेत्रमा पनि चुनावी कार्यक्रम नगर्न नगराउन पनि राजनीतिक दलहरुको नाममा आदेश जारी गरेको छ । रामेछापको बेथानमा वाम गठवन्धनले पूर्व निर्धारीत कार्यक्रम गर्न नसकेपछि मंगलबार शक्ति प्रदर्शंन गर्ने तयारीका साथ चुनावी कार्यक्रम तय गरेको थियो । पूर्व निर्धारीत कार्यक्रममा गठवन्धन तर्फका प्रतिनिधिसभाका उम्मेदवार एवं विनाविभागिय राज्य मन्त्री श्यामकुमार श्रेष्ठ बेथान पस्न सकेका थिएनन् । उनलाई स्थानीय युवाहरुले सांसद विकास कार्यक्रम अन्तरगत विकासका योजना बाँड्दा कमिसन खाएको आरोप लगाउँदै बेथानमा प्रवेश निषेधको घोषणा गरेका थिए ।युवाहरुको अवरोध पछि श्रेष्ठ हिलेदेविको कार्यक्रम सकेर फर्केका थिए । बेथान माओवादीको पकड क्षेत्र रहँदै आएको थियो । यसपटक काँग्रेसबाट पूर्णबहादुर तामाङ्ग (कान्छाराम) उम्मेदवार भएपछि स्थानीय सयौं युवा कांग्रेसमा प्रवेश गरेका थिए । पहिलो पटक निर्धारित कार्यक्रम गर्न नसकेर शक्ति प्रदर्शनसहित मंगलबार बेथानमा वाम गठबन्धनको चुनावी सभा राखेपछि कांग्रेसले पनि सोहि दिन शक्ति प्रदेर्शन गर्ने तयारी गरेपछि प्रशासन दंगाग्रस्त क्षेत्र घोषणा गर्नु परेको प्रशासनको भनाई छ । बेथान त्यही थलो हो जहाँ माओवादीले पहिलो पटक प्रहरी चौकीमाथि आक्रमण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित