अयोग्यलाई प्रमुख बनाउन प्रधानमन्त्री नै सक्रिय

dhanpatiकाठमाडौं । काठमाडौं महानगपालिकामा भ्रष्टाचार गरी शक्ति केन्द्रसँग पहुँच बढाउँदै आएका धनपति सापकोटाले आफ्नो स्वार्थ पूर्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र उनका पिए इन्द्र भण्डारीलाई दुरुपयोग गर्न थालेका छन् । नगर निरीक्षक भए पनि महानगरमा भ्रष्टाचारीका नाइके भनेर चिनिने सापकोटाले आफ्नो शैक्षिक योग्यता र क्षमता अरु निरीक्षकहरुको भन्दा कम भएका कारण हुन लागेको बढुवालाई रोक्न प्रधामन्त्री ओलीलाई दुरुपयोग गर्न लागेका हुन् ।

महानगर स्रोतका अनुसार सोझा कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई समेत उनले गुमराहमा राखी निरीक्षकहरुको बढुवा रद्द गराउन प्रधानमन्त्रीमार्फत दबाब दिएका छन् । स्नातकमात्र उतिर्ण गरेका सापकोटाले स्नातकोत्तर गरेका निरीक्षकहरुको डिएसपीमा हुन लागेको बढुवा रद्द गराई आफै पुनः प्रमुख बन्ने खेलमा लागेपछि महानगरमा यो विषयले ठूलो रडाको मच्चिएको छ । तर, स्थानिय विकास मन्त्रालय र महानगरपालिकाका कार्यकारी प्रमुख तामाङ भने योग्य र सक्षम कर्मचारीलाई नियमावली अनुसार नै बढुवा गर्न चाहन्छन् ।

 १२ वर्षसम्म नगर सुरक्षा प्रमुख रहेर अरुलाई बढुवा हुन नदिएका सापकोटाले यो अवधिमा काठमाडौं बाहेक बाहिरी जिल्लाहरुमा समेत करोडौं मूल्यको जग्गा जमिन जोडिसकेका छन् भने आफन्त र साथीहरुसँग मिलेर व्यापार व्यवसायमा करौडौं रुपैयाँ लगानी गरेका छन् । महानगरपालिकामा भ्रष्टाचार गरेको कालो धन कोटेश्वरस्थित आफू अध्यक्ष रहेको कन्काई वचत तथा ऋण सहकारीमा लगानी गरेका सापकोटा सरकारी निकायमा एकै स्थानमा पाँच वर्ष बढि प्रमुखको भूमिकामा बस्न नहुने प्रशासनिक मान्यता विपरित १० वर्षदेखि प्रमुखको रुपमा रहँदै आएका छन् । सापकोटा पुनः बढुवा भई प्रमुखकै भूमिकामा रहन विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । सापकोटमाथि २०५६ देखि ०६२ सम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अनियमित रुपमा विज्ञापनका होर्डिङबोर्डहरु राख्ने कार्यमा सेठ्ठी र शुक्ला थरका व्यवसायीसँग नाजायज ढंगले मिलेमतो गरी आर्थिक अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि उनीमाथि अहिलेसम्म छानविन भएको छैन ।

 अनियमित रुपमा मापदण्ड विपरित नगरपालिकाभित्र निर्माण भएका व्यापारिक भवन, संयुक्त आवास, निजी आवासहरु रोक्का भएको अवस्थामासमेत आर्थिक लाभ लिई सुनुवाई नगरी नगरपालिकाको साख गिराउन सापकोटा संलग्न हुँदै आएका छन् ।

 उनले पटक–पटक भवन निर्माण अनुगमन समितिको सदस्य भई पदिय दुरुपयोग समेत गर्दै आएका छन् ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको सडक विस्तारको सन्दर्भ विल्कुलै प्राविधिक विषय भए पनि चलखेल गरी सडक विस्तार कमिटिमा सदस्यको रुपमा कार्यरत रहँदै आएका छन् । उनले सडकको साविक मापदण्ड कम गराई स्थानीय उपभोक्ता समिति मार्फत ठूलो आर्थिक लाभ लिई सडकको चौडाई घटबढ गराई अनियमितता गरेको दर्जनौ उदाहरण हुँदा समेत अख्तियार मौन रहँदै आएको छ । यूनाइटेड पोस्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित