अबैध पेस्तोल र लागु औषध सहित सेढाई पक्राउ

abaidhpचितवन। प्रहरीले अबैध हातहतियार र लागु औषध सहित पुल्चोक नारायणगढबाट एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक नारायण थापाको टोलीले गत पुष २७ गते  चितवनकै भण्डारा गाबिस बस्ने राम सेढाईलाई कटुवा पेस्तोल दुइ थान,  चार राउण्ड गोली र प्रतिबन्धित लागु औषध लोराजेपाम २८ ट्यावलेट सहित पक्राउ गरेको हो । सेढाई यसअघि पनि लुटपाट,अबैध हातहतियार मुद्दामा पक्राउ परी छुटेको  र उनीमाथि थप अनुसन्धान भैरहेको चितवन प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए।

 उनी गत २०६६  मा चितवन कै कविलास गाबिसको  सत्रकिलो भन्ने स्थानमा रहेको एक होटलबाट हतियार देखाई १ लाख ७४ हजार बराबरको धनमाल लुटपाटमा  पक्राउ परी  कारवाही भोगेका अभियुक्त हुन । उक्त मुद्दामा उनी  ६ बर्ष कारागार बसेर गत  दशै अगाडी मात्र झुम्का कारागार सुनसरीबाट छुटेको प्रहरीले जनाएको छ । त्यस्तै, चितवन प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा  फरार अभियुक्त पाहुन पावेलाई पक्राउ गरी अदालत बुझाएको छ । चितवनमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न निती राई र गोर्खे भन्ने रंजित पौडेलको समूह पनि पक्राउ परिसकेको छ  ।

  सडक बोर्डको ढाँटमा गोरु बोक्ने गाडिहरुसँग जर्बजस्ती पैसा असुलेको आरोपमा राई र उनका तीन जना सहयोगीलाई  पक्राउ परेका हुन  । राईले प्रत्येक गाडिसँग २ हजार रुपैयाँका दरले पैसा असुल्दै आएका थिए । एक बिरामीको मृत्‍युलाई लिएर नारायणी सामुदायिक अस्पतालमा १५ लाख मागेको आरोपमा उनी ४ महिनाअघि पनि पक्राउ परेका थिए ।

 त्यस्तै, खानेपानी बोर्डको टेण्डरमा गुण्डागर्दी गरेको आरोपमा गोर्खे र उनका एक सहयोगीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए । उनीहरुलाई सार्वजनिक अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । एसपी कँवर चितवन प्रहरी प्रमुख भएपछि उनले गुण्डागर्दीमा संलग्न सबैलाई पक्राउ गरी चेतावनी दिएर छाडेका थिए ।  पछिल्लो समय प्रहरीको कडा कारबाहीले चितवनमा गुण्डाहरुको भागाभाग भएको छ  ।

प्रतिक्रिया

सम्बन्धित