कल डिटेलपछि प्रहरीमा पोलिग्राफ मेसिनको दुरुपयोग

poligraphकाठमाडौं। नेपाल प्रहरीमा ‘कल डिटेल’पछि झुटो बोलेको पत्ता लगाउने पोलिग्राफ मेसिनको समेत दुरुपयोग हुन थालेको छ । अपराध अनुसन्धान बाहिरको कामको लागि समेत पोलिग्राफ मेसिन दुरुपयोग हुन थालेको छ । विवादास्पद व्यापारी दुर्गाबहादुर श्रेष्ठको आन्तरिक झगडा मिलाउन प्रहरीले पोलिग्राफ मेसिन प्रयोग गरेको खुलेको छ । नेपाल हिमालयन सीमाबार व्यापार संघका पूर्वअध्यक्ष श्रेष्ठले आफ्नो सहकारीको झगडा मिलाउन नेपाल प्रहरीको पोलिग्राफ मेसिनको दुरुपयोग गरेका छन् । श्रेष्ठ अध्यक्ष रहेको न्यूरोडस्थित चाइना ट्रेड सहकारीको २ करोड ४० लाख रहस्यमय रुपमा गायब भएपछि उक्त  विवाद मिलाउन उनले पोलिग्राफ गराएका छन् ।

 सहकारीका लेखापाल बिनोद श्रेष्ठमार्फत् २ करोड ४० लाख रुपैयाँ गायब भएको थियो । अनुसन्धानका लागि उनले प्रहरीमा कतै निवेदन दिएका छैनन् । उच्च प्रहरी अधिकारीहरुलाई प्रभावमा पारी शंका लागेको व्यक्तिलाई पक्राउ गराउने र पोलिग्राफ गराउने काम गर्दै आएका छन् । लेखापाल बिनोद श्रेष्ठ र अध्यक्ष श्रेष्ठका ज्वाई पर्ने राजकुमार श्रेष्ठलाई पोलिग्राफ गराइएको छ । तर अझै पैसाको रहस्य फेला परेको छैन । पैसा गत असार ७ गते हराएको भए पनि अहिलेसम्म उक्त पैसा कहाँ  गयो खुल्न सकेको छैन । अध्यक्ष श्रेष्ठले घोटाला गरेको आशंका सहकारीका सञ्चालकहरुको छ ।

 तर, घटनाको अनुसन्धानका लागि सहकारीबाट अहिलेसम्म प्रहरीमा उजुरी परेको छैन । यो घटनामा रमाइलो के भने सहकारीका लेखापाल बिनोद श्रेष्ठ बिना कुनै कागजपत्र २ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेका देखाएका छन् । आफ्ना साथी राजकुमारलाई उक्त पैसा सापटी दिएको उनको दाबी छ । उनले सोही दाबी गरी प्रहरीमा उजुरी समेत हाले । सोही आधारमा राजकुमारलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्‍यो । बिना कुनै प्रमाण त्यसरी दबाबकै भरमा पक्राउ गरी थुनिएको थियो । काठमाडौं परिसरका प्रहरीले थुन्न नमिल्ने बताएपनि केही एआईजीहरुको दबाबमा उनलाई थुनिएको थियो । पछि केही प्रमाण नभेटेपछि उनलाई छाडियो । सहकारीका उपाध्यक्ष तीर्थ गुरुङले राजकुमारको पासपोर्ट कब्जा गरे । सोही विषयलाई लिएर अहिले प्रहरीमा ठूलो विवाद चर्किएको छ । राजकुमार अमेरिका जाने तयारीमा रहेका बेला उक्त घटना भएको थियो । त्यसकारण २ करोड ४० लाख लिएर उनी अमेरिका जान लागेको भन्दै उनको पासपोर्ट कब्जामा लिइएको थियो । अमेरिकाको भिषा लागेको उक्त पासपोर्ट अहिलेसम्म उनले पाएका छैनन् । पासपोर्ट फिर्ता गराइदिन भन्दै उनी दैनिक प्रहरी कार्यालय जाने गरेका छन् । तर एआईजी प्रतापसिंह थापालगायतको दबाबका कारण प्रहरीले पासपोर्ट फिर्ता गराउन पनि सकेको छैन । पछि प्रहरीले लेखापाल बिनोद र राजकुमारलाई पोलिग्राफ गराएको थियो ।

  त्यसमा दुवै जनाले केही कुरा ढाँटेको देखियो । तर लेखापालले धेरै ढाँटेको पोलिग्राफ रिपोर्टमा खुलेपछि घटना झन् जटिल बनेको छ । घटना केही प्रहरी अधिकारीका लागि टाउको दुखाईको विषय बनेको छ । प्रहरीमा दर्ता नै नभएको घटनाको अनुसन्धानमा पनि यसरी प्रहरीको पोलिग्राफ मेसिन दुरुपयोग भएको छ । यसैगरी प्रहरीले पैसा लिएर कल डिटेल समेत बिक्री गर्दै आएको छ । दोलालघाटमा सानो पसले रहेका दुर्गाबहादुर खासाको अवैध व्यापारबाट रातारात अर्बपति भएका हुन् । आर्थिक प्रभावमा पारी उनले प्रहरीका हाकिमहरुलाई समेत प्रयोग गर्दै आएका छन् । अरुले पनि प्रहरीको पोलिग्राफ मेसिन आफ्नो व्यक्तिगत कामका लागि दुरुपयोग गराउन थालेको स्रोत बताउँछ ।

  दृष्टि  साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित