कोही खराब हुदैँमा सबै प्रहरी खराब हुन सक्दैन : आइजीपी अर्याल
काठमाडौं । नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल प्रहरीको स्थापना भएको ६५ बर्षपछि कर्णालीका प्रहरीको अवस्था र त्यहाँका भौतिक संरचना बारे स्थलगत निरिक्षण गरेर फर्किएका छन् । प्रहरीको इतिहासमा नै आइजीपी पहिले पटक जुम्ला र कालिकोट पुगेका हुन् । आईजीपी अर्यालले त्यस क्रममा दबाब र प्रभावमा नपरी कानून बमोजिम काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
कर्णाली अञ्चल स्थित प्रहरी कार्यालयहरुको निरीक्षण पश्चात दैलेख पुगेका आइजीपी अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको स्थिति, कार्यालयको भौतिक अवस्था र जिल्ला प्रहरी कार्यालयबाट भए गरेका काम कारबाहीबारेमा जानकारी लिएका थिए ।
भ्रमणका क्रममा आइजीपी अर्यालले विकाससँगै अपराध पनि सँगै आउने गरेको बताएका थिए । प्रहरीले चाहेर पनि खराब काम गर्न नसक्ने बताउँदै आइजीपी अर्यालले प्रहरीमा कोही अधिकारी खराब हुदैँमा सबै प्रहरी खराब हुन नसक्ने बताए ।
निरीक्षण पश्चात सम्बोधनको क्रममा उनले कोही कसैको मोलाहिजा, दवाव र प्रभावमा नपरी कानून बमोजिम काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए । प्रहरी कर्मचारीले आफ्नो व्यवहारमा परिवर्तन ल्याई उदाहरणीय काम गर्नुपर्ने बताउदै अर्यालले सेवा प्रवाहमा कुनै किसिमको गलत कार्य भएको पाइएमा कारवाहीको भागीदार हुनुपर्ने भनी सचेत गराए ।
मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्ने मान्यतामा आफु दृढ रहेकोले सोही बमोजिम नागरिकलाई स्तरीय र प्रभावकारी सेवा प्रदान गर्नुपर्ने हरेक प्रहरी कर्मचारीको दायित्व भएको अर्यालको भनाई थियो । निरीक्षण भ्रमणका क्रममा अर्यालले राजनितिक दलका स्थानीय प्रमुख, प्रतिनिधि, नागरिक समाज, महिला संजाल, संचारकर्मी र स्थानीय बासिन्दासंग सुरक्षा लगायतका समसामायीक बिषयमा छलफल तथा अन्तरक्रिया समेत गरेका थिए । आइजीपी अर्याल सोमबार सुर्खेत र नेपालगञ्ज स्थित प्रहरी कार्यालयहरुको निरीक्षण गरी मंगलबार काठमाडौं फर्किसकेका छन् । आइजीपी अर्याल एक कार्यक्रममा भाग लिन शनिबार बेलायत जाँदैछन् । -यूनाइटेड पोष्ट साप्ताहिक
प्रतिक्रिया