माथिल्लो तामाकोशीकाे सुरुङ खन्ने काम सकियो

दोलखा : दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङ खन्ने क्रम सकिएको छ । आयोजनाका लागि खनिनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । उर्जासचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आइतबार बिहान साढे ८ बजे सुरुङमा ‘ब्रेक थ्रू’ भएको हो । नेपालीको मात्रै लगानी भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको छ । खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्रेको काम सडक विभागले अगाडि बढाई रहेको हुँदा आयोजना स्थलसम्म हेभी इक्विपमेन्ट पुर्‍याउन कठीन भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने सेयर भने चुनावलगत्तै निष्कासन गरिने छ । ३५ अर्ब ३० करोड रुपैयाँ लागतको उक्त आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब रुपैयाँ लगानी छ । त्यसबाहेक मन्त्रिपरिषदले चैत ०६६ मा उक्त आयोजनाका लागि ११ अर्ब आठ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित