साइबर क्राइम रोक्न सर्कुलर

Nepal-police-logoकाठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय साइबर क्राइमका घटना बढ्न थालेका छन् । फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालबाट जथाभावी पोष्ट गर्ने, अर्काको चरित्र हत्या हुने खालका विवरणहरु सार्वजनिक गर्ने, विभिन्न नेता र नेतृको तस्वीर जोडेर अपलोड गर्ने जस्ता कार्यहरु बढ्न थालेपछि प्रहरी महानिरीक्षकको सचिवालयले त्यस्ता कार्य रोक्न मातहतका निकायलाई सर्कुलर जारी गरेको छ ।

  केही दिन अघि विभिन्न फेक आइडीबाट एमाले नेता माधव नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर जोडेर फेसबुकमा पोष्ट भएकोमा अनुसन्धान गरी कारबाही गर्न सचिवालयले महानगरीय प्रहरी अपराध महाशाखालाई पत्र पठाएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुले छुट्टै सेल गठन गरी साइबर क्राइमका मुद्दाहरु हेर्ने गरेको छ भने परिसरले मुद्दा चलाउने गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । यो त एउटा उदाहरण मात्र हो, यस्ता घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ । प्रविधसँग जोडिएर अपराधका घटना बढ्न थालेपछि प्रहरीले पश्चिम र पूर्व क्षेत्रमा दुईवटा क्षेत्रीय विधि विज्ञान प्रयोगशालाको स्थापना गर्न लागेको छ । साइबर क्राइममा पक्राउ पर्नेमध्ये सबैभन्दा बढी सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरु छन् । फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा जो पायो त्यसलाई साथी बनाउने, सामाजिक सञ्जाल चलाउँदा सुरक्षा सावधानी नअपनाउने तथा एक अर्कालाई छिट्टै विश्वास गर्दा यस्ता घटनाको बृद्धि हुने महाशाखाका एसपी सहकुलबहादुर थापा बताउँछन् । नेपालमा २०६३ सालदेखि साइबर क्राइम सम्बन्धि कानुन बनेको हो । विद्युतीय ऐन २०६३ ले साइबर क्राइम गरेको ठहर भए कम्तीमा २ वर्ष देखि ५ वषसम्म कैद र २ लाखसम्म जरिवाना हुने प्रावधान छ । तर, घटनाको प्रकृति हेरि सजायलाई बढाउन सकिने प्रहरी अधिकारीहरु बताउँछन् । नेपालमा साइबर क्राइम बलियो छ, तर अनुसन्धानका लागि प्रहरीसँग उच्चस्तरीय प्रविधि छैन । सूचना प्रविधिको विकासक्रमसँगै साइबर अपराधका घटनामा वृद्धि हुँदै गइरहेको अवस्थामा साइबर अपराधसँग सम्बन्धित सबूत प्रमाणको अनुसन्धान तथा परीक्षणका लागि डिजिटल फरेन्सिकको आवश्यकता महसुस गरी नेपाल प्रहरीले आवश्यक उपकरणहरु अनुसन्धान गर्ने निकायहरुलाई उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित