गृहमन्त्रीविरुद्ध नारायणकाजी कुर्लिनुको रहस्य

narayanकाठमाडौं । गल्ती गरेको कामलाई स्वीकारेर माफी मागिसकेका गृहमन्त्री शक्तिबहादुर बस्नेतविरुद्ध पार्टी कै केही नेताहरु उनलाई मन्त्रीबाट हटाउने खेलमा भित्रभित्रै लागेका छन् । एमाओवादी स्थायी समिति सदस्य समेत रहेका बस्नेतविरुद्ध सबैभन्दा बढी आक्रोश पोख्नेमा नेता नारायणकाजी श्रेष्ठ रहेका छन् । श्रेष्ठ किन गृहमन्त्रीविरुद्ध भित्रभित्रै षड्यन्त्रमा लागिरहेका छन् त ? यसको भित्री रहस्य भने अर्कै रहेछ ।

दुई साता अघि नेपाल प्रहरीका एआईजीहरुको सरुवामा नारायणकाजीले आफ्ना भतिज नाता पर्ने एआईजी विरेन्द्रबाबु श्रेष्ठलाई महानगरिय प्रहरी आयुक्त कार्यालयको प्रमुखमा ल्याउन बस्नेतलाई दबाब दिएका थिए । तर, विरेन्द्रबाबुलाई आयुक्त कार्यालयमा नपठाई मानव स्रोत विभागमा सरुवा गरियो । सरुवा बढुवामा चलखेल हुने उक्त विभाग पनि प्रहरीमा आकर्षक मानिन्छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ठेकेदार दिपक भट्टको दबाबमा एआईजी प्रतापसिंह थापा आयुक्त कार्यायलको प्रमुख बनाइए । यसमा नेता नारायणकाजीले गृहमन्त्रीप्रति लक्षित गर्दै चलखेल गरेको आरोप लगाएपनि ठेकेदार भट्टको लाखौंको थैलीको करामत स्वरुप थापा आयुक्त कार्यालयमा सरुवा भएको बजारमा हल्ला चलिसकेको छ ।

भूकम्पपीडितको कोटामा पार्टी नेताका छोराछोरी र आफन्तलाई चीन भ्रमणमा पठाएपछि बस्नेतलाई नेता नारायणकाजीसहित जनार्दन शर्मा ‘प्रभाकर’ले पनि मन्त्रीबाट फिर्ता बोलाउन दबाब दिइरहेका छन् । बस्नेतलाई फिर्ता बोलाउन सकेको खण्डमा गृहमन्त्री बन्ने दाउ शर्माको पनि छ । तर, कि फिर्ता आउ, कि माफी माग भन्दै अध्यक्ष प्रचण्डले दुईवटा शर्त राख्दा गृहमन्त्री बस्नेतले माफी मागिसकेको हुँदा प्रभाकर गृहमन्त्री बन्ने कुरा भने सपनामै सीमित हुने भएको छ ।यूनाइटेड पोष्ट साप्ताहिक

प्रतिक्रिया

सम्बन्धित