कन्सलटेन्सीको अनुगमन किन रोकियो ?

universityकाठमाडौं । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिने कन्सल्टेन्सीहरु माथिको अनुगमनलाई शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले एकाएक रोकेपछि मन्त्रालयमा दर्ता नभइ सञ्चालनमा आएका कन्सलटेन्सीहरुको अवैध धन्दा एकाएक बढेको छ । मन्त्रालय र महानगरिय प्रहरी अपराध महाशाखाले केही समय अघि दर्जनौ त्यस्ता अवैध कन्सलटेन्सीमा छापा मारी कारबाही अगाडि बढाएको थियो ।

 तर, प्रमाणिकरण शाखाकै जिम्मेवार पदाधिकारीको अवैध रुपमा सञ्चालित कन्सलटेन्सी सञ्चालकहरुसँग साँठगाँठ बढेपछि कारबाही रोकिएको स्रोतले बतायो ।विदेशका विभिन्न कलेजहरुमा पढाई हुने विषय र त्यसका लागि पूरा गर्नु पर्ने प्रक्रियाको बारेमा परामर्शदाता संस्थाहरुले नै अनियमितता गर्न थाले पछि शिक्षा मन्त्रालयले अनुगमनलाई तिब्रता दिएको थियो । मन्त्रालयले पहिलो चरणमा उपत्यका भित्रका ५ सय १ वटा कन्सल्टेन्सीमा अनुगमन गरिसकेको छ भने दोस्रो चरणको अनुगमन तिहार पछि गर्ने जनाएको थियो ।

 तर यतिखेर प्रमाणिकरण शाखाले नै अनुगममनलाई रोकेको छ । शैक्षिक परामर्शका नाममा केही कन्सल्टेन्सीहरुले राहदानी किनबेच गरेको, विदेश जाने विद्यार्थीबाट मोटो रकम असुलेको, विद्यार्थी विदेश गएपनि पनि भने अनुसारको काम र कलेज नपाएको जस्ता गुनासा आएपछि प्रहरीले भदौ महिनामा उपत्यकाका केही कन्सल्टेन्सीमा छापा मारेको थियो । त्यसपछि विदेश जाने विद्यार्थीले समेत कन्सल्टेन्सीका बारेमा अध्ययन अनुसन्धान र सोधखोज गर्न थालेका थिए । अनुगमन रोकिएपछि मन्त्रालयका उप सचिवहरुको नेतृत्वमा बनेको समिति समेत अन्यौलमा परेको छ । अहिले देशभर करिब पाचँ हजारको हाराहारीमा कन्सल्टेन्सी रहेको अुनमान गरिएपनि शाखामा १२ सय ३६ वटाका बारेमा मात्र जानकारी छ ।

प्रतिक्रिया

सम्बन्धित