सुनको नक्कली सुराकी काण्डका नाइकेलाई एयरपोर्ट ?

prakash arकाठमाडौं । सुनको नक्कली सुराकी काण्डमा मुछिएका डीआईजी प्रकाश अर्याल आकर्षक ठाउँमा सरुवा हुनका लागि शक्ति केन्द्रको लविङमा जुटेका छन् । स्रोतका अनुसार गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याललाई खुसी बनाएर उनी पाए एयरपोर्ट नपाए ट्राफिक प्रहरी महाशाखामा सरुवा हुन दौडधुपमा लागेका छन् । अख्तियार स्रोतका अनुसार ३५ किलो सुनको नक्कली सुराकी काण्डको फाइल मिलाउन उनले आफने मामा एवम् राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देविराम शर्मा मार्फत प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई दबाब दिएका छन् । सुन काण्डमा मुछिएको र अख्तियारमा मुद्दा विचाराधिन रहेको भन्दै आइजीपी अर्यालले उनलाई एयरपोर्ट पठाउन नमिल्ने बताएपछि अख्तियारमा सेटिङ मिलाउन डिआईजी लागि परेका छन् । स्रोतका अनुसार अख्तियारले केही दिन अघिमात्र सुन काण्डका असली सुराकीलाई मिलापत्र गर्न दबाब दिएको थियो ।

  ३५ किलो सुनको नक्कली सुराकी काण्डका डिआईजी अर्याल प्रमुख मतियार हुन् । उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) मा रहँदादेखि नै काठमाडौंको कोटेश्वरबाट पक्राउ परेको ३५ किलो सुनको सुराकी बिबादमा मुछिदै आएका छन् । यद्यपी यो खेलमा सिआईवीका अन्य पदाधिकारीहरु पनि अनुसन्धानको घेरामा छन् । अख्तियारले समयमै नक्कली सुराकी काण्डको निर्णय नगर्दा सुन काण्ड रहस्यमय बन्दै गएको छ । अख्तियारको ढिलाईले एकातिर असली सुराकी पÔले न्याय पाउन सकेका छैनन् भने अर्कोतिर आफ्नो पदिय मर्यादा बिपरित करोडौं कमिसन कुम्ल्याउने योजनाकारहरुले सहजै उन्मुक्ति पाउन सक्ने सम्भावना बढ्दै गएको छ । प्रहरीले आफुहरुको सुराकीमा उक्त सुन पक्राउ गरेतापनि सुराकी प्रोत्साहन रकमबाट बञ्चित गराई एक करोड ७७ लाख कमिशन कुम्ल्याउने उद्देश्यले सिआइवीका तत्कालिन निर्देशक डिआइजी प्रकाश अर्याल र एसपी ईश्वरबाबु कार्कीले ३५ किलो सुनको सुराकी प्रतिबेदनमा सिआइवीमा कार्यरत असई सूर्यभक्त श्रेष्ठ र प्रहरी हवल्दार शम्भु अधिकारीको दाजुको नाम राखेका थिए ।

  जुन नक्कली सुराकी खडा गर्ने प्रहरी अधिकारी माथि कारबाहीको माग गर्दै उक्त सुराकी प्रोत्साहन रकम आफुहरुले पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकका भिमबहादुर तामाङ, सिन्धुलीका पदमबहादुर तामाङ र महोत्तरीका सञ्जयकुमार झाले अख्तियार देखि व्यबस्थापिका संसदको सार्बजनिक लेखा समितिसम्म उजुरी गरेका थिए । लेखा समितिमा पहिलो र दोस्रो चरणमा नक्कली सुराकी खडा गर्ने प्रहरी अधिकारीहरुलाई निलम्बन गर्नुपर्ने भन्दै आवाज उठेको थियो । तर, उक्त काण्डलाई लेखा समितिले यथाशिघ्र छानबिन गरि दोशी  माथि कारबाही गर्ने निर्देशन दिंदै अख्तियारमा नै फाइल फिर्ता पठाएको थियो ।

   लेखा समितिले अख्तियारलाई निर्देशन दिएको एक वर्ष वितिसकेको छ । तर, अख्तियारका प्रमुख आयुक्त कार्कीका आफन्त नै उक्त काण्डका दोशी  भएपछी उक्त काण्ड रहस्यमय बन्दै गएको हो । स्रोतका अनुसार एसपी ईश्वरबाबु कार्की र प्रहरी हवल्दार सुरेन्द्र स्वार प्रमुख आयुक्त कार्कीका आफन्त हुन् । प्रमुख आयुक्त कार्कीको सचिवालयमा कार्यरत भवानी सुवेदीले सुराकी काण्डका पीडितलाई डिआईजी अर्यालसँग मिलापत्र गर्न दबाब दिने गरेको स्रोत बताउँछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ट्रान्जिटका रुपमा परिणत हुँदै गएको बेला सुन काण्डमै फसेका र सुन तस्करहरुको सेटिङमा अर्याललाई एयरपोर्ट पठाउन लागिएको प्रहरीमा चर्चा छ । यूनाइटेड पोष्ट साप्ताहिक

प्रतिक्रिया

सम्बन्धित