अख्तियारले अकुतमा बोलाएका एआईजी भण्डारीका चर्चित काण्डहरु

bhandariकाठमाडौं । अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पती कमाएको आरोपमा  नेपाल प्रहरीका दुई उच्च अधिकारीलाई पनि छानबिन अघि बढाएपछि प्रहरीमा भुइचालो गएको छ  । एआईजी राजेन्द्रसिंह भण्डारी र डिआईजी बिजयलाल कायस्थमाथि अख्तियारले छानबिन अघि बढाएको हो । विशेषगरी हुन्डी व्यापारी र भीओआइपी सञ्चालकहरूसँग  एआईजी भण्डारी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा छँदा देखी जोडिने गर्दथे ।  सीआईबीको नाममा आर्थिक चलखेल गरेपछि उनलाई त्यहाबाट हटाइएको थियो ।

   अख्तियार पनि उनले जोडेको अकुत सम्पत्ति देखेर चकित परेको छ। जम्मा एकपटक मिसन गएर ३० र ४० लाख कमाएका  भण्डारीको सम्पत्ति झन्डै आधा अर्बको हाराहारीमा देखिएको अख्तियार श्रोत बताउँछ ।  उनले पेस गरेको सम्पत्ति विवरण चित्त नबुझी थप छानबिन गर्न अख्तियार बाध्य भएको बताइन्छ।  आफ्ना नातेदारको मिडिया उपयोग गरी सुरुदेखि नै आफूलाई दूधले नुहाएको सावित गराउँदै आएका भण्डारीले आफू माथि चढ्न अवरोध हुने जोसुकै अधिकारीलाई त्यही मिडियाको उपयोग गरी बदनाम गराउने रणनीति अख्तियार गर्दै आएका छन्।

 भण्डारीले पश्चिम क्षेत्र प्रहरी प्रमुख हुँदा अफिसर मेस बनाउन गएको पैसा हिनामिना गरेको, प्रहरी जवानदेखि अधिकृतहरूका लागि रासन ठेक्का दिँदा अनियमितता गरेको उजुरी परेपछि आयोगले दुई बर्ष देखी  छानबिन सुरू गरेको हो। त्यसो त  भारतीय जाली नोटका कारोबारी युनुस अन्सारीलाई जेलभित्रै गोली हानी हत्या गर्न गरिएको प्रयासमा उनले सघाएको आरोप छ । युनुसका बाबु सलिमिया अन्सारीले  त भण्डारीले ‘रअ’को आदेशमा युनुसलाई जेलभित्रै गोली हान्ने बातावरण मिलाएको र उनी ‘रअ’ को नेपाल एजेन्ट भएको विभिन्न टेलिभिजनमा  बोलेका थिए ।  तैपनि उनीमाथि छानविन नै भएन ।भण्डारी एसएसपी भएर नेपालगञ्जमा कार्यरत हुँदा एक जना सुन ब्यापारी हत्या प्रकरणमा अपराधीलाई भगाएको उनीमाथि आरोप छ ।

 उक्त मुद्दा जिल्ला एसपीले हेर्नु पर्नेमा भण्डारी आफैले विशेष चासो दिएर हेरेका थिए । भण्डारीले सुन र पैसा खाएर अपराधीलाई भगाएको आरोप लागेको थियो  । भण्डारी नेपाल प्रहरीमा प्रवेश गर्नु पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको पीएका रुपमा काम गर्थे । चन्दको पीए भएर काम गर्दा भारतीय सेनाबाट अवकाश प्राप्त जेबी राई नाम गरेका ब्यक्तिलाई नेपाली नागरिकता दिलाएका थिए ।

 राईले महाराजगञ्ज अतिथि पार्टी प्यालेससँगै विद्यालय पनि सञ्चालन गरेका थिए । ०४४र०४५ सालमा नविल बैंकमा प्रशासकीय अधिकृतका रुपमा समेत काम गरेका राईलाई नागरिकता दिलाएको कुरा भण्डारी नेपाल प्रहरीमा प्रवेश गरेसँगै फैलियो । पछि भण्डारीले उक्त फाईल नै गायब बनाएका थिए । राई समेत त्यस पछाडीका दिनमा नेपालमा देखिएका छैनन् । अख्तियारले छानबिनमा तानेका डिआईजी बिजयलाल कायस्थ पनि  भ्रष्ट प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।सुन र हुण्डी तस्करको दबाबमा उनी डेढ वर्षदेखि एयरपोर्टमा  मस्ती मारिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित