मोस्ट वान्टेडसँग प्रहरीको हतियार, प्रहरी टोली नै आश्चर्यमा

moमदन भण्डारी/ काठमाडौं । उपत्यकामा केही दिनअगाडि हतियारधारी आपराधिक समूह प्रवेश गरेको र बिहीबार अपराह्नदेखि काठमाडौंको सुन्धारा क्षेत्रलाई केन्द्र बनाउँदै उक्त समूहले ‘सेल्टर’ लिएको सूचना महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई आयो ।

 सूचना आउनेबित्तिकै एसएसपी खनालले महाशाखाको इन्टेलिजेन्स टिमका डीएसपी किरणजंग थापाको कमान्डमा सादा पोसाकको प्रहरी टोली सुन्धारा क्षेत्रमा परिचालन गरे । हरेक अपरेसनमा सधैँ आफैँ फिल्डमा खटिने उनी केही दिनदेखिको आँखाको समस्याले गर्दा फिल्डमा खटिन असमर्थ थिए । आफँै फिल्डमा खटिन स्वास्थ्यले साथ नदिएपछि फिल्डमा खटिएको प्रहरी टोलीसँग आवश्यक समन्वयको लागि खनालले महाशाखाका एसपी सहकुल थापालाई उक्त अपरेसनको जिम्मा दिए ।

 डीएसपी किरणजंग थापा नेतृत्वको टोलीले सुन्धारा क्षेत्रमा शनिबार दिनभर उक्त हतियारधारी समूहको ‘सेल्टर’ पत्ता लगाउन खटियो ।महाशाखाको टोलीको दिनभरको अथक प्रयासपछि शनिबार साँझ उक्त समूह खिचापोखरीस्थित लुम्बिनी पाहुनाघरको २०२ नम्बरमा रहेको पत्ता लाग्यो । हतियारधारी समूहको उक्त ‘सेल्टर’ सुनिश्चित गर्दासम्म रात छिप्पिइसकेको कारण प्रहरी टोलीले उक्त गेस्टहाउसलाई घेराबन्दी गरेर उक्त समूहलाई सकुशल नियन्त्रणमा लिने उपयुक्त समयको पर्खाइमा रातभर बसिरह्यो । बिहान उज्यालो भएपछि करिब ७ः१५ मा प्रहरी टोली उक्त गेस्टहाउसको कोठा नम्बर २०२ को ढोका ढक्ढकाउन पुग्यो ।

 प्रहरीले ढोका ढक्ढकाएपछि ‘मोस्ट वान्टेड’ बाराका छोटेलाल ठाकुर गोली ‘लोड’ भएको चाइनिज पेस्तोल हातमा लिएर ढोका खोल्न आइपुगे भने ठाकुरका साथी राजकुमार पटेल बेडमै सुतिरहेका थिए । ढोका खोल्नासाथ महाशाखाको टोलीले ठाकुरलाई नियन्त्रणमा लिनखोज्दा उनले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले उनको दुईवटै घँुडामा एक/एक गोली हानेर नियन्त्रणमा लियो । ठाकुरलाई नियन्त्रणमा लिन सफल भएपछि उनीसँगै रहेका पटेललाई पनि प्रहरीले नियन्त्रणमा लियो ।

 दुई गोली लागेर घाइते भएका ठाकुरलाई महाशाखाको एउटा टोलीले तत्काल उपचारको लागि वीर अस्पतालतर्फ दौडायो भने अर्को टोलीले पटेललाई सँगै राखेर उक्त कोठामा खानतलासी सुरु ग-यो । खानतलासीको क्रममा प्रहरीले ठाकुरले बोकेको चाइनिज पेस्तोल र उक्त पेस्तोलको चेम्बरमा लोड भएको गोली १ राउण्ड, म्यागजिनसहितको गोली ६ राउण्ड, कटुवा पेस्तोल १ थान र ठाकुरको नाममा जारी भएको नेपाल प्रहरीको परिचयपत्र समेत फेला पा(यो । हतियार बरामद गरिसकेपछि प्रारम्भिक अनुसन्धानको क्रममा बरामद भएको चाइनिज पेस्तोलको सिरियल नम्बर नेपाल प्रहरीले बोक्ने हतियारसँग मिल्दोजुल्दो भेटिएपछि प्रहरी टोली नै आश्चर्यमा परेको छ ।

 अपराध महाशाखाका प्रवक्ता एसपी सहकुल थापाका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा ठाकुरबाट बरामद भएको उक्त चाइनिज पेस्तोल २०४३ सालमा प्रहरी प्रधान कार्यालयबाट तत्कालीन जिल्ला प्रहरी कार्यालय भक्तपुरको लागि गएको खुल्न आएको छ । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ठाकुरले बोकेको पेस्तोल नेपाल प्रहरीको रेकर्डमा रहेको भेटिएपछि महाशाखाले उक्त विषयमा सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।

  “प्रहरीको रेकर्डमा रहेको हतियार प्रहरीकै ‘मोस्ट वान्टेड’को हातमा पुग्नुमा प्रहरीकै कुनै जिम्मेवार अधिकारीको हात पनि हुनसक्छ, त्यसकारण हामीले अत्यन्तै सूक्ष्म अनुसन्धान सुरु गरेका छौँ’, महाशाखा प्रमुख एसएसपी खनालले भने । खनालका अनुसार पक्राउ परेका ठाकुर नेपाल प्रहरीका भगौडा रहेको र नेपाल प्रहरीमै कार्यरत भएको बेलामा एसएलआर हतियारसहित भूमिगत समूहमा प्रवेश गरेर विभिन्न लुटपाट, डाँका तथा हत्याका घटनामा संलग्न रहेको खुल्न आएको छ ।

प्रतिक्रिया

सम्बन्धित