साताको नेप्से २७ अङ्कले नकारात्मक

nepse3काठमाडौं । दुई महिनाभन्दा बढीको लगातारको नाकाबन्दी र तीन महिनाभन्दा बढीको तराई मधेसका आन्दोलनका कारण अर्थतन्त्र कमजोर भएपछि पूँजीबजार निरन्तर ओरालो लागेको छ । लामो समयदेखि मुलुकको आर्थिक गतिविधि ठप्प भएपछि पूँजी निर्माण नहुँदा त्यसको गम्भिर असर पूँजी बजारमा परेको हो । सरकारले देशको समग्र आर्थिक अवस्था नकारात्मक बाटोतर्फ लागेकाले न्यून आर्थिक वृद्धि हुने जनाएको छ । गत साता अघिल्लो साताको तुलनामा ५.५२ अङ्कले नेप्से घटेको थियो भने यो साता २७ अङ्कले घटेको छ । निरन्तरको नाकाबन्दी र आन्दोलनका कारण लगानीकर्तामा निराशा आएको हो ।

  यस साता नेपाल स्टक एक्सचेन्जमा १५० कम्पनीको १२ हजार ६१५ कारोबारबाट एक अर्ब २४ करोड १२ लाख २० हजार बराबरका २४ लाख ३६ हजार ५३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६३.७८ प्रतिशत बढी हो । गत साता १४३ कम्पनीको चार हजार ८६८ कारोबारबाट ७५ करोड ८२ लाख ३३ हजार बराबरका १५ लाख ८७ हजार तिन सय ९० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २७.३७ अङ्कले घटेर अन्तिम दिन एक हजार ४४.०१ अङ्कमा पुगेको छ । यो साता समूहगत परिसूचकमा वाणिज्य बैंक समूहमा ३२.८३, विकास बैंक समूहको १८.९९, वित्त कम्पनीको ६.२, होटल समूहको ११.४५, जलविद्युत् कम्पनीको ५५.६, विमाको सबैभन्दा बढी १३१.७ र उत्पादनमुलक समूहको ४.६५ अङ्कले गिरावट आएको छ ।

  यो सता व्यापार समूह कुनै परिवर्तन आएको छैन भने अन्य समूहको परिसूचकमा ३.५३ अङ्कले सुधार आएको नेप्सेले उल्लेख गरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.९२ अङ्कले घटेर २२५.३७ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ ‘इक्विटी ओरिएन्टेड स्किम’ अग्रस्थानमा छ ।

  त्यसैगरी कारोबार सङ्ख्याको आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाको चार लाख, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँच लाख, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको तीन लाख र नेपाल ग्रामीण विकास बैंकको ५५ लाख ७५ हजार कित्ता साधारण सेयर सूचिकृत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित