सेयर किन्ने कम्पनी नपाएपछि टेलियासोनेरा संकटमा

ncellstakeकाठमाडौं । बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलमा गरेको लगानीबाट हात झिक्ने घोषणा गरेको झण्डै तीन महिना वितिसक्दा पनि ग्राहक नपाएर संकटमा परेको छ । टेलियासोनेराले युरोप र स्विडेनमा आफ्नो मुख्य ध्यान केन्द्रित गर्ने उद्देश्यले नेपालसहित अन्य मुलुकबाट बाहिरिने घोषणा गरेको थियो । टेलियासोनेराले आफ्नो ८० प्रतिशत सेयर बेच्न दर्जनौ कम्पनीलाई ताकेता गरेपनि कुनै पनि कम्पनीले चासो नदेखाएका कारण टेलियासोनेरा नेपालमै रहने संभावना बढेको छ ।

 एनसेल स्रोतका अनुसार लगानीको पारदर्शिता र उद्योग विभागले रोकेको लाभांश वापतको अरबौं रकम लगायतका कानुनी झण्झट दिन प्रतिदिन बढ्न थालेपछि एनसेलको सेयर किन्न कुनै पनि कम्पनीले चासो देखाएका छैनन् । टेलियासोनेराले युरोएशिया देशबाट आफ्नो लगानी फिर्ता गर्ने निर्णय गरेको थियो । एनसेलमा ८० प्रतिशत सेयर भएको टेलियासोनेराले वर्षमा ५० अर्ब रुपैयाँको कारोवार गर्दै आएको छ । एनसेलले गत आर्थिक वर्षमा मात्र आठ अर्ब ५३ करोड नाफा आर्जन गरेको थियो । एनसेल लगातार तीन वर्षदेखि नेपालको सबैभन्दा ठूलो करदाताका रुपमा रहँदै आएको छ ।

 तर, एनसेलको नेपालमा चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ छ । उद्योग विभागले एनसेलको कागजात अध्ययनका क्रममा स्वीकृत लगानी र वासलातमा भएको लगानीबीचको फरक देखिएपछि लाभांश विदेश लैजान रोक लगाएको थियो । कम्पनीको वासलात र स्वीकृत लगानीका बीच १० अर्ब रुपैयाँ बराबरको फरक देखिएको थियो । एनसेलले १७ अर्ब रुपैयाँ लगानी गर्ने स्वीकृति लिएको तर २७ अर्ब रुपैयाँ लगानी भएको देखाएपछि नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पत्र काटी स्पष्टिकरण माग गरेको थियो । तर, त्यसको बदलामा टेलियासोनेराले नेपालबाट हात झिक्ने घोषणा गरेको हो । अर्कोतिर टेलियासोनेरामाथि नेपाललगायतका यूरोसीयाका विभिन्न मुलुकहरुमा मोबाइल सेवाको लाईसेन्स लिने क्रममा भ्रष्टाचार गरेको र गैरकानुनी बाटोबाट लाईसेन्स लिएको आरोप लाग्दै आएको छ । सन् २०१२/२०१३ मा गरेको कम्पनीको आफ्नै आन्तरिक छानबिनका क्रममा पनि अनेकौं चोरबाटो प्रयोग गरेको पत्ता लागेको थियो । जसका कारण कम्पनीको व्यवस्थापनमा पूरा परिवर्तन गर्न आवश्यक ठानेको थियो ।

 लाईसेन्स लिन चोर बाटो प्रयोग गरेको, भ्रष्टाचार गरेको आरोपमा विभिन्न देशहरुमा अझैपनि छानबिन भईरहेको छ भने उज्बेकिस्तानमा यसको लाईसेन्सको बारेमा अझै अनुसन्धान भइरहेको छ । नेपालमा पनि एनसेल ब्राण्ड हुनुभन्दा पहिलो यसअघिको मेरो मोबाइलका लगानीकर्ताहरुबाट शेयर खरिदको विषयमा पनि विवादमा फसेको थियो ।

  टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत शेयर हिस्सा रहेको छ, जुन स्विडेनको सबैभन्दा ठूलो टेलिकम अपरेटर हो । यो कम्पनीको उजबेकिस्तानमा रहेको सेवाको बारेमा अमेरिका र स्विडेनले छानबिन गरिरहेका छन् । एनसेल स्रोतका अनुसार कानुनी झण्झटबाट पार पाउनका लागि उद्योग विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्र बैंकमा एनसेलले करोडौं रकम चलखेल गरिरहेपनि कसैले चासो नदेखाएपछि मुख्य लगानीकर्ता टेलियासोनेराले नेपालबाट हात झिक्ने घोषणा गरेको थियो । टेलियासोनेराले गैर आवासीय नेपाली उपेन्द्र महतो र व्यापारी अजयराज सुमार्गीलाई हातमा लिएर नगद लाभांश विदेश लैजान चलखेल गरिरहेको छ ।यूनाइटेड पोस्ट साप्ताहिक-

प्रतिक्रिया

सम्बन्धित