विदेश जानका लागि प्रहरी प्रतिवेदन लिन सास्ती

policenकाठमाडौं । विदेश जानका लागि प्रहरी प्रतिवेदन लिन देशका विभिन्न भागबाट राजधानी आएका युवा लामो समयदेखि तराई बन्द र इन्धन अभावका कारण उब्जिएका समस्याका कारण अफ्ठ्यारोमा परेका छन् । वैदेशिक रोजगारीमा जानका लागि प्रहरीबाट कुनै आपराधिक कार्यमा संलग्न नभएको भन्ने आशयको प्रतिवेदन काठमाडौंबाट मात्र पाइने हुनाले युवाहरू विभिन्न जिल्लाबाट आएका हुन् । एक हप्तादेखि महानगरीय प्रहरी आयुक्तको कार्यालय रत्नपार्क आउनुभएका मोरङ कर्सियाका रमेश राजवंशीले प्रतिवेदन बाँड्न व्यवस्थित प्रणाली नभएको कारण निकै सास्ती भोग्नुपरेको बताउनुभयो ।

   तराईमा जारी बन्द र भारतको अघोषित नाकाबन्दीका कारण बोलाइएको समयमा आउन र होटलमा बस्न निकै समस्या भएको महोत्तरीबाट आउनुभएका हमिद कवादिको गुनासो छ । साउदी अरब जानका लागि प्रहरी प्रतिवेदन लिन आउनुभएका उहाँ एक हप्तादेखि होटलमा निकै महँगोमा बस्दै हुनुहुन्छ । राजधानी आउन बाध्यता भएकाले प्रहरी सुरक्षामा दोब्बर भाडा तिरेर आएको दुखेसो गर्दै जनकपुरका कलाम नदावले पहिले ८० रुपैयाँमा पाइने होटलको खानालाई अहिले १८० तिर्नु परेको सुनाउनुभयो । “नेपालमा बसेर केही गरुँ भनेको, सधैँको बन्दका कारण लगानी गर्ने वातावरण पनि छैन, त्यसैले विदेश जान लागेको हुँ”–इलामबाट आउनुभएकी चुन्नु सुब्वाले भन्नुभयो । आफन्तका घरमा बस्न पनि यो अभावको समयमा समस्या भएको उहाँ बताउनुहुन्छ ।

   प्रतिवेदन लिनका लागि फाराम भर्न पहिले १० रुपैयाँ तिरे पुग्ने ठाउँमा अहिले ७० रुपैयाँ तिर्नुपरेको जलेश्वरबाट आउनु भएका २२ वर्षे अमरु लहरी बताउनुहुन्छ ।  देशमा विभिन्न समयमा विभिन्न बहानामा हुने बन्दहड्तालका कारण युवालाई रोजगारीको वातावरण नहँुदा बिदेसिनुपर्ने बाध्यता वैदेशिक रोजगारीमा जाने युवाको छ । “सधैँ बन्द भइरहन्छ, हजार रुपैयाँ आम्दानी गर्न गाह्रो छ, पन्ध्र सय खर्च छ, कसरी चलाउनू, त्यसैले विदेश जान बाध्यता प¥यो”–अर्घाखाँचीबाट प्रतिवेदन लिनमा लागि आउनुभएकी पार्वता सारु मगरले भन्नुभयो । बाहिरबा प्रतिवेदन लिनका लागि काठमाडौँ आएका युवा होटलमा बास बस्न कोठा सजिलै पाए पनि खानाका लागि निकै गाह्रो भएको गुनासो गर्छन् । होटलवालाले ग्यास नभएको भनी खाना नदिएकाले चिया र बिस्कुटमा दिन काट्नुपरेको रमेश थिङको भनाइ छ ।

  वैदेशिक रोजगारीका लागि प्रहरीबाट आपराधिक कार्यमासंलग्नता नभएको प्रणामपत्र नपाएसम्म वैदेशिक रोजगारीमा जान नपाइने भएकाले विभिन्न जिल्लाबाट राजधानी आएका युवा चिया, बिस्कुट र समोसामा दिन कटाउँदै प्रतिवेदनका लागि पर्खिएको बताउँछन् ।

  पाँच वर्षअघि कतार जाँदाको अनुभव सुनाउँदै विराटनगरका राजवंशी भन्नुहुन्छ, “पहिले मेनपावरले नै सबै व्यवस्था मिलाइदिएको थियो, अर्को देश जान अहिले फेरि रिपोर्ट चाहिने रहेछ ।”रोजगारीको अवसर र युवालाई परिचालन गर्ने व्यवस्थित कार्यप्रणाली नभएका कारण दैनिक हजारौँ नेपाली साउदी अरब, कतार, मलेसियालगायत विभिन्न मुलुकमा कामदारका रुपमा जान बाध्य छन् । प्रहरीबाट प्राप्त प्रतिवेदन पनि निकै गल्ती हुने भएकाले युवाहरू थप समस्यामा पर्ने गरेको गुनासो पनि पटक पटक सुनिँदै आएको छ । “रिपोर्ट बाँड्ने समयावधि पनि निकै लामो हुने भएकाले समस्या छ, प्रहरीको त यस्तो समस्या छ, अन्य ठाउँमा अझ के हाल होला ?” कञ्चनपुरका लल्लु थारुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित