अमरेशका क्रियाकलापमाथि प्रहरीको गोप्य अनुसन्धान

amreकाठमाडौं । टिकापुरमा प्रहरीमाथि आक्रमण हुनुअघि भाला, खुकुरी र तरबार लिएर जाइलाग्न थारु समुदायलाई सार्वजनिक रुपमा निर्देशन दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंहका क्रियाकलापमाथि नेपाल प्रहरीले गोप्य रुपमा अनुसन्धान थालेको छ । प्रहरी उच्च स्रोतका अनुसार केही प्रहरी अधिकारीहरुसँगै राम्रो सम्बन्ध बनाएका विवादास्पद सभासद् सिंह यतिखेर कहाँ के गरिरहेका छन् भन्ने बारेमा प्रहरीले गोप्य रुपमा उनका विवरणहरु जम्मा गरिरहेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

  गृहमन्त्री बामदेव गौतमले सभासद् सिंहलाई ‘जनता भड्काउन जे मनलाग्यो त्यहि भन्ने’ भन्दै संसदिय समितिको बैठकमा अनुशासनमा बस्न चेतावनी दिएपछि सिंहले गोलघरमा लगेर थुन्न गौतमलाई चुनौती दिएका थिए । टिकापुर घटनाकै विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइरालाले समेत सिंह दोषी रहेको भन्दै कारबाही गर्ने बताइसकेका छन् । कोइरालाले कारबाही गर्ने बताएपछि सिंह भने गुपचुप रुपमा मधेश आन्दोलनलाई उग्र बनाउन भारतीय गुप्तचर संस्था ‘रअ’ का अधिकारीहरुसँग मिलेर डिजाइन गरिरहेका छन् ।

  प्रहरीलाई भाला रोप्न आदेश दिने विवादास्पद सिंहको सुरक्षामा अझै पनि नेपाल प्रहरीबाट तीन जना र सशस्त्र प्रहरीबाट एक जना खटाइएको छ । सिंहले नेपाल प्रहरीबाटै भान्से, सरकारी सुविधाको सवारी साधन र चालक लिएका छन् । स्रोतका अनुसार सिंहको सुरक्षामा खटाइएका प्रहरीलाई फिर्ता बोलाउन हेडक्वाटरमा केही दिन अघि भएको उच्च प्रहरी अधिकारीको बैठकमा कुरा समेत उठेको थियो । गृहमन्त्री गौतम पनि साम्प्रदायिक दंगा भड्काउन उद्दत सिंहमाथि कारबाही गर्न चाहन्छन् ।

  पछिल्लो समय भित्रभित्रै मधेश आन्दोलनलाई उत्तेजित बनाउन लागि परेका सिंहले ‘रअ’ का अधिकारीहरुसँग मिलेर विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालय, धरानस्थित भारतीय पेन्सन क्याम्पलगायतका विभिन्न स्थानमा मधेशी मोर्चाको आन्दोलनलाई उत्तेजित गराउने योजना बनाएको समेत खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित