सिम्रिकले जहाजहरु लुटेर लग्यो, न्याय पाईन : अध्यक्ष बस्नेत

simकाठमाडौं। अग्नि एयर प्रालिका अध्यक्ष सुशील बस्नेतले लुटेरा शैलीमा सिम्रिक एयरले आफ्ना जहाजहरु नियन्त्रणमा लिएको आरोप लगाएका छन् । अग्नि एयरको लागि कन्सोडिएममा ऋण प्रवाह गर्ने ग्राण्ड बैंक, सनराइज बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सको संयोजकत्वमा अग्नि र सिम्रिकका बीचमा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार सिम्रिकले अग्नि एयरको स्वामित्वमा रहेको पाँचवटा जहाज, पार्टपुर्जा र अग्नि एयरको कार्यालयका सम्पूर्ण सामान लिने र सहमतिमा अग्नि एयरमा रहेको कर्जाको दायित्व सिम्रिक एयरमा स्थानान्तरण हुने व्यवस्था रहेको थियो ।

 सोहीबमोजिम सिम्रिकले यसअघि अग्निले बुझाउनुपर्ने कर्जाको सावाँ र ब्याजसहितको सम्पूर्ण रकम तीनवटा बैंकलाई बुझाउनुपर्ने थियो । ‘तर सिम्रिक एयरले दादागिरी देखाउँदै लुटेराशैलीमा न बैंकको कर्जा चुक्ता ग-यो, न प्लेन र पार्टपुर्जा नै फिर्ता ग-यो’, अध्यक्ष बस्नेतले भने, ‘आफूले पटक–पटक सिम्रिकका सञ्चालकलाई भेटेर कि लोन आफ्नो टाउकोमा सार, कि मलाई पैसा फिर्ता देऊभन्दा पनि दुवै गर्न चाहेन ।’बस्नेतका अनुसार अग्निले तीनवटा बैंकलाई संयुक्तरुपमा कर्जाको सावाँ तथा ब्याजसमेत गरी झण्डै ६५ करोड रुपैयाँ बुझाउन बाँकी रहेको छ ।

 तर सिम्रिकले लिएको अग्निको सबै प्लेन र सम्पत्ति समेत जोड्दा यस्तो रकम एक अर्ब रुपैयाँ रहेको उनको भनाइ छ । यसअघि भएको सम्झौतामा सिम्रिकले उक्त कर्जाको दायित्व बोक्ने र अग्नि एयरको नाउँमा रहेको सम्पूर्ण पार्टपुर्जा र सामानहरु लिने सहमति भएको थियो । तर सहमतिविपरीत सिम्रिकले अग्निको सामान सबै लिएर कर्जा पनि अग्निको नाउँमा राखेको बस्नेतले उल्लेख गरे । ‘उता सिम्रिकले आफ्नो प्लेन सबै लिइदिने, बैंकको कर्जा नतिर्ने अनि बैंकले मलाई कर्जा चुक्ता गर्न आउनको लागि ताकेता गरिरहने यो कस्तो खेल हो, कस्तो न्याय हो, पीडितले कहिले पनि न्याय नपाउने ? बस्नेतले आक्रोश व्यक्त गरे ।

सोही प्रकरणमा केही समयअघि ग्राण्डले सिम्रिक एयरलाइन्सलाई अग्नि एयरको हवाईजहाजहरुको उडान तत्कालन स्थगन गर्न निर्देशन दिएको थियो । सह–वित्तीयकरणमा कर्जा प्रवाह गर्ने सनराइज बैंक, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी र ग्राण्ड बैंकले संयुक्तरुपमा २०७२ असार ११ गते सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापाको नाउँमा पत्राचार गरी अग्निको नाउँमा रहेको पाँच थान हजाईजहाजको नियमित उडान रोकेर सम्पूर्ण पार्टपुर्जा हस्तान्तरण गर्न निर्देशन दिएको थियो ।

 अग्निले ग्राण्डको अगुवाइमा सनराइज बैंक तथा इन्टरनेशनल लिजिङ समेतबाट कर्जा लिएको थियो । बैंकले सिम्रिकका अध्यक्ष थापाको नाउँमा लेखेको पत्रअनुसार सह–वित्तीयकरण सम्झौताअनुसार उपभोग गरेको कर्जा समयमा नै नतिरेको र नबुझाएको कारणले गर्दा आफ्नो लेना असुलउपर गर्नको लागि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ बमोजिम धितोमा रहेको अचल सम्पत्ति गोप्यरुपमा बोल कबोलमार्फत बिक्री गर्नको लागि सार्वजनिकरुपमा आह्वान गरिएको थियो । सोही आह्वानअनुरुप सिम्रिक नेपालको प्रतिष्ठित वायुसेवा कम्पनी भएकोले धितोमा रहेको अग्नि एयरका जहाज र पार्टपुर्जाका बारेमा जानकारी लिनको लागि उक्त कम्पनी र कम्पनीका अध्यक्ष थापासँग सो विषयमा छलफल मात्र भएको थियो ।

  सोही कुरालाई आधार बनाएर सिम्रिक एयरले अग्नि एयरसँग वि.सं २०७० असोजमा द्विपक्षीय सम्झौता गरेको थियो । सम्झौताअनुसार ऋणी अग्नि एयरको नाउँमा दर्ता कायम रही सनराइज र इन्टरनेशनल लिजिङले समेतबाट उक्त कम्पनीले उपभोग गरेको सह–वित्तीयकरण कर्जाको सुरक्षणस्वरुप धितोमा रहेको पाँच थान हवाईजहाजहरु तथा सोको पार्टपुर्जाहरु समेत सह–वित्तीयकरणको कर्जा नियमितरुपमा चुक्ता गर्दै जाने प्रतिबद्धता दुवै पक्षबाट भएको थियो ।

 तर वि.सं २०७० साल पुस मसान्तदेखि नै कर्जा अनियमित रहेको र प्रतिबद्धताविपरीत कार्य गरेकोले अग्निले सिम्रिकलाई हस्तान्तरण गरेको हवाईजहाज तथा पार्टपुर्जाहरु सह–वित्तीयकरणमा कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र पठाएको मितिले सात दिनभित्र हस्तान्तरण गर्न निर्देशन दिएको थियो । उक्त मितिभित्र पनि सम्पत्ति फिर्ता गर्ने कार्य नभए नेपाल नागरिक उड्डयन प्राधिकरणमा उक्त जहाजको उडान रद्द गर्न पत्राचार गर्ने तथा सोहीअनुरुपका कानुनी प्रक्रिया अवलम्बन गर्ने तयारी सिम्रिकले गरेको थियो । तर आजसम्म पनि यी कुनै कुराको सुनुवाइ नभएको र सिम्रिकले लुटेराशैलीमा आफ्नो जहाज कब्जा गरेको अग्नि एयरका अध्यक्ष बस्नेतले बताउँदै आएका छन् । आर्थिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित