राष्ट्रपतिदेखि पियनसम्मको भत्ता बढ्यो

काठमाडौंः राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको स्वदेश तथा विदेश भ्रमण भत्ता बढेको छ । सरकारले भ्रमण खर्च नियमावली संशोधन गरी भ्रमण खर्च ७५ प्रतिशतसम्म बढाएको हो । भत्ता वृद्धिसँगै सरकारलाई साधारण खर्चको दायित्व बढ्नेछ । मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बुधबारको बैठकले भ्रमण भत्ता नियमावली संशोधन प्रस्ताव पारित गरेको हो । अब पदाधिकारी तथा कर्मचारीले भ्रमण तथा काजमा जाँदा नयाँ दरमा दैनिक भत्ता र होटेल बास खर्च पाउनेछन् । प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले विदेश भ्रमण खर्च मूल्यवृद्धिको अनुपातसँग समसामयिक बनाइएको बताएको नयाँ पत्रिकामा खबर छ । नयाँ नियमावलीले भ्रमण भत्ता व्यवस्थित गरेको सुवेदीको दाबी छ । ‘स्वदेश भ्रमणमा दैनिक भत्ता दरमा होटेल बाससमेत समायोजन भएको र भत्तालाई मूल्यवृद्धिको अनुपातसँग मिलाइएको छ,’ सचिव सुवेदीले भने, ‘यसले होटेलमा बस्दैनबसी नक्कली बिल पेस गर्ने विकृति अन्त्य गर्नेछ ।’rambaran-yadav महालेखा परीक्षक कार्यालयले हरेक वर्षको प्रतिवेदनमा भ्रमण खर्चमा अनियमितता हुने गरेको उल्लेख गर्दै यसलाई रोक्न सरकारलाई निर्देशन दिँदै आएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पनि केही सरकारी कर्मचारीले होटेलमा बस्दैनबसी नक्कली बिल पेस गरेर भत्ता बुझेको फेला परेको थियो । अख्तियारको कारबाहीबाट बच्न कर्मचारीले भत्ता फिर्ता गरेका थिए । संशोधित नियमावलीअनुसार अति विशिष्ट व्यक्तिले मुलुकभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता र होटेल बास भत्तास्वरूप एकमुष्ट तीन हजार रुपैयाँ पाउनेछन् । भत्ता लिँदा अबदेखि होटेलमा बसेको बिल पेस गर्नुनपर्ने व्यवस्था गरिएको छ । यसअघि अति विशिष्टले मुलुकभित्र भ्रमण गर्दा दैनिक भत्ता सात सय ५० रुपैयाँ र होटेल बासको खर्च बिलअनुसार पाउने व्यवस्था थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्री, सभासद्लगायत अति विशिष्ट पदाधिकारीमा पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित