कबाडीको मूल्यमा अग्निको जहाज खाने रामेश्वरको डिजाइन

agniairकाठमाडौं । अर्काको जहाजलाई कवाडीको मूल्यमा झार्न सिम्रिक एयरलाइन्स हात धोएर लागेपछि बैंकहरुले कडा रबैया अपनाउन लागेका छन् । सम्झौता अनुसार अग्नि एयरले बैंकमा तिर्नुपर्ने कर्जा सिम्रिकले नतिरेपछि अग्नि एयरको लिलामी हुन लागेको अवस्था एकातिर छ भने अर्कोतिर सिम्रिकका अध्यक्ष रामेश्वर थापाले कवाडीको भाउमा जहाज हत्याउन अदालतलाई प्रयोग गर्न थालेका छन् । ग्राण्ड बैंकले सिम्रिकका अध्यक्ष थापाको नाउँमा सह–वित्तियकरण सम्झौताअनुसार उपभोग गरेको कर्जा समयमा नै नतिरेको कारणले आफ्नो लेना असुलउपर गर्नको लागि बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०६३ बमोजिम धितोमा रहेको अचल सम्पत्ति गोप्यरुपमा बोलकबोलमार्फत बिक्री गर्नको लागि सार्वजनिक रुपमा आह्वान गरिसकेको छ । तर अर्काको सम्पत्ति कब्जा गरेर बसेका थापाले भने पुनरावेदन अदालत पाटनबाट ‘स्टे अर्डर’ लिई जहाजलाई ग्राउन्डेड हुन नदिई सिम्रिकको नाममा करोडौं कमाइरहेका छन् । सह–वित्तीयकरणमा कर्जा प्रवाह गर्ने सनराइज बैंक, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी र ग्राण्ड बैंकले संयुक्तरुपमा २०७२ असार ११ गते सिम्रिक एयरका अध्यक्ष थापाको नाउँमा पत्राचार गरी अग्निको नाममा रहेका पाँच थान जहाजको नियमित उडान रोकेर सम्पूर्ण पार्टपुर्जा हस्तान्तरण गर्न निर्देशन दिएको थियो । त्यसको विरुद्धमा थापाले स्टे अर्डर लिई अर्काको सम्पत्ति कब्जा गरेका छन् । २०७० साल पुस मसान्तदेखि नै कर्जा अनियमित रहेको र प्रतिबद्धताविपरीत कार्य गरेकोले अग्निले सिम्रिकलाई हस्तान्तरण गरेको हवाइजहाज तथा पार्टपुर्जाहरु सह–वित्तियकरणमा कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र पठाएको मितिले सात दिनभित्र हस्तान्तरण गर्न निर्देशन दिएको पत्रमा उल्लेख थियो । त्यसो त बैंकका अधिकारीको संलग्नतामा अग्नि एयर र सिम्रिक एयरबीच जहाज भाडामा लिएर चलाउने सम्झौता भएको थियो । सम्झौतामा दोस्रो पक्ष भनिएको सिम्रिक एयरले ५ थान जहाज सञ्चालन गर्ने र बैंकको सावा र ब्याज भूक्तानी गर्ने संझौता भएको थियो । तर, सिम्रिकका मालिक थापाले सम्झौताको ठ्याक्कै उल्टो काम गरेपछि अग्नि एयरका जहाज कवाडीको मूल्यमा विक्री गर्ने षड्यन्त्र रचिदै छ । सिम्रिकले सम्झौतामा उल्लेख गरिए बमोजिम सावा ब्याज भूक्तानी नगरेपछि अग्निमाथि व्ययभार पर्दै आएको छ । अग्निको नाममा रहेको २९ सिट क्षमतायुक्त तीनवटा जेटस्ट्रिम–४१ र १९ सिटे दुईटा डोर्नियर–२२८ मोडेलका जहाज छन् । दुई वटा जहाज सिम्रिकले उडाइरहेको भएपनि हालसम्म कर्जा तिरेको छैन । घरजग्गा व्यवसायी सुधिर बस्नेत र परिवारको स्वामित्वमा रहेको अग्नि एयर गत बर्ष देखि ग्राउन्डेड थियो । अग्नि एयर बैंकको ऋण र सरकारी निकायलाई वुझाउनु पर्ने शुल्क तिर्न नसकेर उड्न नसक्ने गरि ग्राउन्डेड भएको थियो । वस्नेतको समूहले सञ्चालन गरेको अग्नि एयर पाँच वर्षका लागि सिम्रिक एयरलाइन्सले लिजमा लिएर उडान सुरु गरेको थियो । तर सिम्रिकले अहिलेसम्म पैसा नतिरेपछि बैंकले लिलामिको सूचना निकाल्दै आएको छ । थापा भने ४० करोडमा दुई वटा डोर्नियर जहाज लिने अनि तीनवटा जेटस्ट्रिम चाहिं नलिईकन अग्निको टाउकोमा ऋण थोपर्ने षड्यन्त्रमा लागिरहेका छन् । अग्नि एयरका अध्यक्ष सुशील बस्नेतले आफ्नो ऋण सकारेर बाँकी पैसा अग्निलाई दिन आग्रह गर्दा पनि थापाले टेरपुच्छर नलगाई उल्टै अदालतबाट स्टे अर्डर लिएर बसेका छन् । अग्नि एयर चलाउन यसअघि पोखराको नमस्ते एयर प्रालिले पनि पहल गरेको थियो । पर्याप्त नगद नभएका कारण नमस्तेले अग्नि उडाउन सकेन । नमस्तेले अग्निको नाममा रहेको केही ऋण बैंकलाई भुक्तानी गरेपनि थापाको डिजाइनमा खोसिएको थियो । अग्नि एयरले आफू अन्यायमा परेको भन्दै ग्राण्ड, सनराइज बैंक, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड, नेपाल राष्ट्र बैंकका गभर्नर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समक्ष उजुरी हालेपनि थापाकै प्रभावका कारण उजुरीमाथि छानविन हुन सकेको छैन । थापा र अख्तियार प्रमुख लोकमानसिंह कार्कीबीच घनिष्ट सम्बन्ध छ ।यूनाइटेड पोस्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित