कायरतापूर्ण आक्रमणमा संलग्न कारवाहीमा पर्छन् : अाइजीपी

igpnकाठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कर्तब्यनिस्ठ प्रहरी कर्मचारीमाथि भएको कायरतापूर्ण आक्रमणमा संलग्न ब्यक्तिलाई जुनसुकै हालतमा पनि कानुनको  दायरामा ल्याउने बताएका छन् । टिकापुर घटनाको सम्बन्धमा प्रहरी महानिरीक्षक अर्यालबाट जारी समवेदना सन्देशमा भनिएको छ : ' राष्ट्र र जनताको सेवामा समर्पित रही शान्ति सुरक्षा कायम राख्न खटिएका नेपाल प्रहरीका पाँच जना अत्यन्त होनहार,वहादुर र कर्तब्यनिस्ठ प्रहरी कर्मचारीले कर्तब्यपालनको सिलसिलामा सहादत प्राप्त गरेको घटनाले अत्यन्त मर्माहत तुल्याएको छ  । यस अत्यन्त दु:खद घडीमा दिवँगत आत्माको चीर शान्तिको कामना एबम शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न शक्ति मिलोस भन्ने प्रार्थना गर्दछौ ।'अाइजीपी आर्यालले नेपाल प्रहरीका सपुतहरुले इतिहासका बिभिन्न कालखन्डमा पुर्याएका यस्ता त्याग र वलिदान सुनौला अक्षरले कोरिएको उल्लेख गर्दै यस्ता गौरवपूर्ण गाथा नेपाल र प्रहरी संगठनका लागि सदासर्बदा मार्गदर्शन र उत्प्रेरणाका श्रोत हुने समेत वताएका छन्  । अर्यालले यस असहज घडीमा आफ्नो कर्तब्यमा किन्चित पनि बिचलित नभई व्यावसायिक संयमता, कौशलता र धैयर्ता गर्दै राष्ट्रसेवामा अझ बढी अग्रसर हुन समेत सबै प्रहरी कर्मचारीलाई निर्देसन दिएका छन्  । मनुवा गाबिस–६ सिलमचौरमा सोमबार प्रहरी र प्रदर्शनकारीबीच भएको दोहोरो भिडन्तमा परी प्रहरी बरिष्ठ उपरीक्षकसहित ५ जना प्रहरी र २ जना सशस्त्र प्रहरीको निधन भएको छ । निधन हुनेहरुमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द रहेका छन् । यसैगरी, सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारु रहेका छन् ।  टिकापुरमा स्थानीय प्रशासनद्वारा सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्वमा कर्णाली गाविस, पश्चिममा मनुवा गाविस, उत्तरमा पथरिया गाविस र दक्षिणमा धनसिंहपुर गाविससम्म निषेधाज्ञा जारी गरिएको थियो । सो क्षेत्रमा थरुहटका बन्दकर्ताले जबरजस्ती निषेधाज्ञा तोडन खोज्दा प्रहरी बरिष्ठ उपरीक्षक न्यौपानेसमेतको टोलीले सम्झाई बुझाई गर्नेक्रममा प्रदर्शनकारीले एक्कासि हमला गर्दा उनीहरुको निधन भएको प्रहरीले जनाएको छ  । झडपमा परी प्रहरी निरीक्षक एकेन्द्रबहादुर खड्का लगायत २० जना प्रहरी कर्मचारीहरु घाइते भएका छन् । घाइतेमध्ये प्रहरी नायव निरीक्षक रवीन्द्र धनुषे लगायत २ जनालाई टिकापुर अस्पतालमा सामान्य उपचारपछि नेपालगंज पठाइएको छ । अन्य घाइतेहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित