हत्यारालाई कुनै पनि हालतमा नछोड्ने देउवाको चेतावनी

????????????????????????????????????

पोखरा । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य एवं काँग्रेसका युवा नेता स्व. रामजी पौडेल बादलको शनिबार अन्त्येष्टि गरिएको छ । उनको लेखनाथ–१, सेतीनदी किनार मुसिटुँडाघाटमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि पोखराको चिप्लेढुंगास्थित काँग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि उनको शव राखिएको थियो ।काँग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।श्रद्धाञ्जलीमा काँग्रेस महामन्त्री एवं उपप्रधानमन्त्री प्रकाशमान सिंह, सिँचाई मन्त्री एनपी सावत, काँग्रेसका नेताहरु गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, शुक्रराज शर्मा, चन्द्र भण्डारी, यज्ञबहादुर थापा लगायतले स्व. पौडेलप्रति अन्तिम श्रद्धान्जली ब्यक्त गरेका थिए । सो अवसरमा बोल्दै काँग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री देउवाले स्व. पौडेल प्रजातन्त्रका अथक योद्धा भएको बताउँदै उनको निधनले पार्टी र मुलुकलाई अपुरणीय क्षति पु-याएको बताए । उनले हत्यामा संलग्न जो–कोहीलाई पनि कडाभन्दा कडा सजाय दिइने बताए । जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन आफुले सक्दो पहल गर्ने उनको भनाइ छ । पौडेलको हत्यापछि आफ्नो दाहिने हात गुमेको भन्दै नेता देउवाले हत्यारा र त्यसका योजनाकारलाई कुनैपनि हालतमा नछोड्ने चेतावनी दिए ।काँग्रेस महामन्त्री एवं उपप्रधानमन्त्री सिंहले अपराधीहरुलाई कानुनी कठघरामा ल्याइने दृढता व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनका योद्धा रामजी पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरे । लोकतान्त्रिक आन्दोलनमा अनवरत संघर्ष गर्ने युवा नेताको दुःखद अन्त्यले पार्टी स्तब्ध भएको बताए । पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट पनि समवेदना सुनाउदै उनले घटना घटाउनेहरुलाई कारबाहीको दायरामा ल्याई सत्यतथ्य पत्ता लगाउने काममा सरकार दृढ रहेको जानकारी दिए ।पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमपछि पौडेलको शव अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालय पु-याइएको थियो । श्रद्धाञ्जलीमा आफन्त, विभिन्न राजनीतिक दलका जिल्लास्तरका नेता, कार्यकर्ता, शुभचिन्तकको सहभागिता थियो ।शनिबार मध्याह् वरिष्ठ नेता देउवा र महामन्त्री सिंहले पौडेलको निवास लेखनाथ गगनगौडामा पुगी परिवारजनमा समवेदना व्यक्त गरे । ५० वर्षीय पौडेलको धारिलो हतियार प्रहार गरी बिहीबार राति लेखनाथको गगनगौडामा काँग्रेस कार्यकर्ताद्धारा नै हत्या भएको थियो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले राजु रानाभाटलाई शुक्रबार पक्राउ गरेको छ । साथै प्रहरीले आवश्यक सोधपुछका लागि भन्दै नगर सभापतिमा नेतृत्वको दावी लिएका राजेन्द्रमणि लामिछानेलाई पनि पक्राउ गरेको छ भने हत्यामा संलग्न भनिएका रविन केसी, प्रकाश गुरुङ र विश्वास गौतम फरार छन् ।यता, स्व. पौडेलका दाजु रामचन्द्रले आसन्न नगर समितिको अधिवेशनमा नेतृत्वबारे विवाद मिलाउने काममा लाग्दा उल्टै भाइको हत्या गरिएको बताए । सभापति दावेदारका दुई पक्षलाई मिलाउनेबारे तीन दिनदेखि जारी विवाद समाधानको लागि छलफल चलिरहेको थियो । स्थानीय कांग्रेस नेता बुद्धिमान गुरुङको लेखनाथ गगनगौडास्थित घरमा विवाद समाधानको लागि भएको छलफलपछि असन्तुष्ट पक्षले पौडेलको हत्याको जालो बुनेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित