पाण्डे अदालत गए अध्यक्षमा पुनर्बहाली !

pandeकाठमाडौं । पञ्चायतकालीन मुद्दाको फैसला कार्यान्वयनको बहानामा षड्यन्त्रपूर्ण तरिकाले जेल पठाइएका नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डेले अन्तत न्याय पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति डा। रामवरण यादवबाट गत साता न्याय पाएपछि उनी जुलमुक्त भएका छन् । २०३९ सालमा तत्कालीन पञ्चायती सरकारले भ्रष्टाचारको मुद्दा लगाएर षड्यन्त्रपूर्ण तरिकाले पाण्डेलाई फसाएको थियो । त्यसबेला उनीविरुद्ध ३ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । तत्कालीन सरकारको कोषभाजनको शिकार हुने थुप्रैमध्ये पाण्डे पनि एक थिए । त्यसो त त्यसबेला पञ्चायती सरकारको कोपाभाजनको शिकार अरु पनि थुप्रै भएका थिए । पञ्चायती व्यवस्थाकाविरुद्धमा लागेको वा आदेश पालना नगरेको जस्तो लागे जो कोहीमाथि पनि अनेक मुद्दा लगाउने र जेल पठाउन गरिन्थ्यो । त्यसबेलाको राज्यसरकारबाट मुद्दा खेपेका र जेल जानेगरी सजाय पाएका थुप्रै व्यक्ति अहिले नेपाली राजनीतिका शीर्ष स्थानमा पुगेका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले समेत अझै १५ दिन कैद भुक्तान गर्न बाँकी रहेको लगत हालै सार्वजनिक भएको थियो । राजनीतिमा लाग्ने मात्र होइनन, समाजका विभिन्न वर्ग र पेशामा आवद्ध व्यक्तिमाथि पनि पञ्चायतको दूराग्रह थियो । त्यही दूराग्रहको शिकार पाण्डे भएका थिए । तर ३० वर्षअघिको घटना र कैद मिनाहासमेत भइसकेको सन्दर्भलाई षड्यन्त्रपूर्णरुपले फैलाएर महासंघमा रहेका पाण्डेइतरका व्यक्तिले आफ्नो दुनो सोझ्याउने काम गरे । महासंघकै केही व्यक्ति पाण्डेको विरुद्ध लागेका थिए भन्ने कुरा उनी जेल गएपछिका घटनाक्रमले पुष्टि गरिसकेको छ । पाण्डे पक्राउ परे लगत्तैबाट तत्कालीन प्रथम उपाध्यक्ष पशुपति मुरारका, पोण्डेसँग अध्यक्षमा पराजित भएका भाष्करराज राजकर्णिकारलगायत महासंघको नेतृत्व हत्याउने दौडमा देखिए । पाण्डेविरुद्ध सर्वोच्चबाट अन्तिम फैसला नआउँदै तथा पाण्डेले आफू अन्याय भएको भन्दै सरकारलाई दिएको निवेदनको सुनुवाई नहुँदै महासंघको नयाँ नेतृत्व छान्न भन्दै विशेष साधारणसभा गरियो । उक्त साधारणसभाले यो प्रकरणमा ठूलै रोल खेलेका मुरारकालाई नै निर्विरोध अध्यक्ष चुन्ने काम गर्‍यो । यसक्रममा महासंघको विधान मिचिएको स्पष्टै बुझ्न सकिन्छ । अहिले तीनै मतियारहरू पाण्डेलाई आममाफी दिलाउन आफूहरूले ठूलै भूमिका खेलेको भनेर पुनस् पाण्डेलाई गुमराहमा राख्ने कोशिश गरिरहेका देखिन्छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट न्याय पाएपछि महासंघको अध्यक्ष हत्याएका मुरारकाले ‘उद्योगीको कुरा सुनेर सरकारले पाण्डेलाई न्याय दिएको’ भन्दै साँचिलो बन्न खोजे । तर खास कुरा के थियो भने पाण्डे पक्राउ परेपछि कार्यबाहक अध्यक्ष भएका मुरारकाले महिना दिन बित्दासम्म पक्राउको विरोधमा महासंघको तर्फबाट एउटा विज्ञप्तिसम्म निकालेका थिएनन् । तर जिल्ला संघहरूको चर्को दबाबपछि मुरारकाले एक महिनापछि विज्ञप्ति निकालेर पाण्डेको रिहाइका लागि पहल गर्ने जनाएका थिए । अब पाण्डे रिहाइ भइसकेपछि भने मुरारकालाई सबैभन्दा बढी टाउको दुखेको बताइन्छ । आफूलाई विनाकारण पक्राउ गरिएको र समयावधि बाँकी रहँदै आफूलाई महासंघको अध्यक्षबाट हटाएर नयाँ अध्यक्ष चयन गरिएको भन्दै पाण्डे अदालत गए उनको पुनर्बहाली हुन सक्ने भएकाले मुरारकाको टाउको दुखेको हो । यसकारण अहिले महासंघमा ठूलै भूइँचालो गएको बताइन्छ । -दृष्‍टि साप्ताहिक

प्रतिक्रिया

सम्बन्धित