भीषण पहिरोपछि शोकमग्न लुम्ले गाउँ

lumविजय नेपाल/लुम्ले (कास्की)। कविता गाउँका रुपमा परिचित लुम्ले भीषण पहिरोपछि यतिखेर शोकमग्न छ । अविरल वर्षापछि बिहीबार बिहान गएको पहिरोले गाउँका १४ घरका परिवार बगाएपछि गाउँ अहिले पूरै शोकमग्न हुन पुगेको हो । पर्यटकीय गाउँ लुम्लेको वडा नं. ४ र ६ वडा अन्तर्गतका २५ जनाको शव भेटिएको छ । ३ जना अझै पहिरोमा पुरिएका छन् । सुतिरहेको बखत मध्यरातमा एक्कासी खसेको पहिरोले क्षणभरकै बस्ती सखाप हुन पुगेको हो । कसैले बाबु, कसैले आमा, कसैले श्रीमान, कसैले श्रीमती गुमाएका छन् भने कसैले छोराछोरी त कसैले नाति नातिना गुमाएका छन् । श्रीमती र छोरा गुमाएका स्थानीय लक्ष्मण देवकोटालाई अब कसरी बाँच्ने भन्ने पिरलो छ । श्रीमती सुनकुमारी जिसी र दुई छोरा सुगम र संगम पहिरोको परेको थाहा पाएपछि साउदीमा रहेका श्रीमान शुक्रबार लुम्ले आइपुगेका छन् । भूकम्प आएको हो कि भनी बाहिर निस्कदा पहिरो आएको थाहा भएपछि छोराछोरीलाई छोडेरै भागेर ज्यान बचाउन सफल भएको बताउँछिन्, स्थानीय मञ्जु सुनार । “एक्कासी ठूलो आवाज आएपछि घरबाहिर निस्केकी निस्के, छोराछोरीलाई लिन जाँदा जाँदै पहिरोले बगायो”–उनले भनिन्–“अब ममात्र के को लागि बाँच्नु ?” छिमेकीको घर पहिरोमा बगाए पनि संजोगबस आफ्नो घर जोगियो, सीतादेवी देवकोटाको । राति के भएको रहेछ भनेर उठेर हेर्दा घर नजिकैबाट चिताउँदै नचिताएको पहिरोसहितको खोलो बगेको आफूले देखेको देवकोटाले बताइन् । घटनापछि आफूले हार गुहार गरे पनि आँखै अगाडि छिमेकीलाई पहिरोले लगेको उनले सम्झिइन् । पहिरो गएको ठाउँ अवलोनका लागि कास्कीका छिमेकी जिल्लाबाट पनि मानिस आउने गरेका छन् । घटनास्थलमा पुगेका जो कोही पनि आँखा रसाउँछ । बस्ती बगाउने गरी आएको पहिरोका कारण जताततै घरका सामाग्रीहरु, गाई भैसी, बाख्राको लासले विरुप बनेको छ, लुम्ले । पहिरोमा मृत्यु भएका १८ जनाको शुक्रबार दिउँसो मोदी खोलामा सामूहिकरुपमा अन्तिम संस्कार गरिएको छ ।

तीमध्ये ५ जना बालकलाई शव नदीकिनारमा गाडिएको छ भने १३ जनाको शव जलाइएको स्थानीय विष्णु पौडेलले जानकारी दिए । यसअघि बिहीबार ३ जनाको अन्तिम संस्कार गरिएको थियो । यता, पहिरोमा बेपत्ता भएकाहरुको खोजीका लागि सुरक्षाकर्मीहरु निरन्तर खटिरहेका छन् । बेपत्ताको खोजीकार्य जारी रहेको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरे बताए । निरन्तर वर्षाले उद्दारमा कठिनाइ भएको उद्दारमा संलग्न टोलीले जनाएको छ । लुम्ले गाउँमा ११ सय १२ घरधुरी छन् । १४ घर पहिरोले बगाएकोमा करिब २० घर जोखिममा रहेका छन् । जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ । गाउँलेको सुविधाका लागि ३ वर्ष अघि खानेपानी योजनाअन्तर्गत गाउँको माथि ३० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको हो । पहिरोमा उक्त ट्याङ्की नपरेको भए यति भीषण पहिरो जाने थिएन । नेपालको सबैभन्दा धेरै पानी पर्ने स्थान लुम्लेमा आखिर खानेपानी सुविधा नै अभिषाप बनेर आयो । अविरल वर्षासँगै करिब ४ किमीमाथि साङ्ले भिरबाट खसेको पहिरो बिलाउने खाल्डो हुँदै माझथरबाट पोखरा–बाग्लुङ राजमार्गमा खसेको हो । पहिरोले सबैभन्दा पहिला खोरियास्थित आइबहादुर गुरुङको घरमा ४८ सालदेखि बस्दै आएका छिरिङ शेर्पाको परिवारका सदस्यलाई बगाएको हो । ५६ वर्षे शेर्पाका श्रीमती,एक छोरा र दुई छोरीलाई पहिरोमा परेका छन् । परिवारका सबैको शव नभेटिएकोले उनीहरुको अन्त्येष्टि हुन बाँकी छ । यता, सोही समयमा कास्कीको भदौरेतामागी, ढिकुरपोखरीको गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । तीमध्ये भदौरेमा ५ जनाको मृत्यु भएको हो । भदौरेमा ४ जना बेपत्ता छन् । पहिरोले पोखरा–बाग्लुङ राजमार्गको हेम्जादेखि पातिचौरसम्म दर्जनौस्थानमा सडक चिरिदा सवारी आवागमन प्रभावित बनेको छ । उद्दार कार्य शुक्रबार अबेरसम्म जारी छ । मृतक परिवारलाई राहत र उद्दारका लागि विभिन्न संघसंस्था लागिपरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित