काठमाडौं । कतिपय मृत्युको अनुसन्धान निकै जटिल हुन्छन् । अझ ठुला व्यक्तिका परिवार जोडिएपछि त्यसले ठुलै रुप लिन्छ । स्वास्थ्य मन्त्रालयका सहसचिव जि.डी ठाकुरका छोरा डा.अनिमेष ठाकुरको मृत्यु प्रकरणले पनि यतीबेला ठुलै रुप लिएको छ । घटनामा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल जोडिएपछि घटनाले निकै हंगामा मच्चाएको हो ।
सहसचिव ठाकुरले आफ्नो छोरालाई आईजीपी अर्यालका छोरा डा.आयुषले धकेलेर मारेको तर किटानी जाहेरी नलिएको दाबी गरेका छन् । तर अनुसन्धानमा आबद्ध प्रहरीले हत्या गरेको कुनै आधार नभेटिएको बताएको छ ।
घटनाको अनुसन्धान चलिनै रहँदा एउटा रोचक तथ्य फेला परेको छ । अनिमेषको फेसबुक केलाउदा पाँच वर्षअघि नै उनले आफुले हाम फालेर कुनै बेला आत्महत्या गर्न सक्ने संकेत दिएका थिए । फेब्रुअरी १९ सन् २०१० मा उनले फेसबुकमा आत्महत्या बारे लेखेका छन् । ‘अस्थायी समस्याको स्थायी समाधानका लागि मान्छेहरुले आत्महत्या गर्दछन्,त्यसकारण सबैजना आ–आफ्नो घरबाट हाम फालौं, रमाइलो हुन सक्छ ।’
गत असार १९ गते पोखरास्थित प्रेमिका बस्ने घरबाट खस्दा अनिमेषको मृत्यु भएको थियो । प्रेमिका प्रतिसा प्रधानसँग झगडा भएपछि राती साढे नौ बजे प्रतिसाको डेरामा पुगेका थिए । जहा अनिमेष पनि सँगै थिए । उनीहरुबीच झगडा हुँदा अनिमेष तीन तला माथिबाट खसेका थिए । आयुष र प्रतिसाले हामफालेको बयान दिएका छन् भने ठाकुरको परिवारले भने उनलाई हत्या गरेर फालिएको दाबी गरिएको छ । टाउकोमा मात्र चोट भएकाले परिवारले उक्त आशंका गरेको थियो । तीन तलामाथिबाट खस्दा शरिरका अन्य भागमा पनि चोट लाग्ने भन्दै परिवारले आशंका व्यक्त गरेको हो ।
ठाकुरको परिवारले आईजीपी अर्यालका छोराविरुद्ध किटानी जाहेरी दिन चाहेको तर प्रहरीले दर्ता नगरेको बताएको छ । प्रहरीले भने किटानी जाहेरी दर्ता गर्न मिल्ने प्रमाण नभेटिएको जनाएको छ ।
उसो त आईजीपी र सहसचिव ठाकुर पहिलेदेखिकै साथी हुन् । आयुष र अनिमेष पनि मणिपालका सबैभन्दा मिल्ने साथी थिए । भर्खरै एमबीबीएसको पढाई पुरा गरी उनीहरु इन्टर्न गर्दै आएका थिए । प्रेमिकाको कारण अनिमेषको मृत्यु भएपछि ठाकुर परिवार पिडामा छ भने अर्याल परिवार पनि तनावमा परेको छ । तर अनिमेषको ५ वर्ष पुरानो फेसबुक स्टाटसले भने उनले योजनाबद्ध रुपमै आत्महत्या गरेको संकेत दिन्छ । -यूनाइटेड पोस्ट साप्ताहिकबाट -
प्रतिक्रिया