मन्त्रीको गाडीमा हिड्ने गुण्डा एसएसपीको निगरानीमा

nnnकाठमाडौं । सार्बजनिक यातायातमा आपराधिक क्रियाकलाप बढ्न थालेपछि प्रहरीले त्यसको नियन्त्रणका लागि ‘यातायात सेवा सुरक्षा साझा अभियान–२०७२’ मार्फत कारबाहीको प्रक्रिया थालनी गरेको छ । महानगरिय प्रहरी अपराध महाशाखा टेकुले एक साता अघि अभियान सुरु गरि सम्पन्न गरेको छ । प्रहरीको अनुसन्धानमा प्रायः अपराधमा सार्बजनिक यातायाताकोे साधन प्रयोग भएको पाइएपछि महाशाखा यातायात व्यावसायीसँगको सहकार्यमा अपराध नियन्त्रणतर्फ लागेको हो । सार्बजनिक यातायातको प्रयोग गरेर आपराधिक गिरोहले अपहरण, चेलीबेटी बेचबिखन, लुटपाट, चोरी जस्ता क्रियाकलाप गर्दै आएको महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनालले बताएका छन् । मंगलवार पुरानो बसपार्कमा आयोजित कार्यक्रममा एसएसपी खनालले भने–‘आपराधिक गिरोहले चालकलाई आर्थिक प्रलोभनमा पारेर अपराध गर्दै आएका छन्, अब चालकले त्यसको सूचना हामीलाई दिनुप-यो, अपराध नियन्त्रण गर्ने दायित्व तपाईहरुको पनि हो ।’ उनले एक साता अघि बैंकबाट चोरी भएको लकर ट्याक्सी चालकले १२ हजारको लोभमा टोखा पु-याएको उदाहरण दिएका थिए । चालक, व्यवसायी र यात्रुहरुसँगको अन्तरकृयामा अधिकांश चालक र व्यावसायीले भने ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो गरेका थिए । बिना कारण चिट काट्ने प्रहरीको शैलीले हैरानी व्यहोर्नु परेको भन्दै आफूले गरेको गल्तीको बारेमा प्रहरीले प्रमाणित गर्न सक्नुपर्ने उनीहरुको माग थियो । व्यवसायीहरुको गुनासोप्रति एसएसपी खनालले पदको दुरुपयोग गर्ने प्रहरीलाई पनि नछाड्ने बताएका छन् । आफू जनकपुरमा छँदा अपराधमा संलग्न डिएसपीको फुली थुतेर इन्सपेक्टर बनाएको बताउँदै खनालले भने–‘सबै मर्यादित हुनै पर्छ, प्रहरी भित्रको सुद्धिकरण पनि जारी छ ।’ आक्रोशित रुपमा प्रस्तुत भएका एसएसपी खनालले आफू कार्यक्रममा भाषणमात्र गर्ने नआएको भन्दै एक साताको दौरानामा सवारी साधनमा अश्लिल हर्कत गर्ने एक सयबढीलाई पक्राउ गरी कारवाही गरेको जानकारी गराए । अपराधिलाई कुनैपनि बाहानामा नछाड्न एसएसपी खनालले आफू मातहत रहेका प्रहरी अधिकृतलाई निर्देशन समेत दिए । उनले भने–‘केही दिन अघि एक गुण्डाका नाईके झण्डावाल गाडीमा चढेर भागेको सुनेको छु, त्यस्तालाई अब गाडिबाटै थुतेर मुन्ट्याएर ल्याउनु ।’ खनालको उक्त भनाई चर्चित डन कुमार श्रेष्ठ उर्फ घैंटेप्रति लक्षित थियो । घैंटेले आफूमाथि प्रहरीले इन्काउन्टर गर्न लागेको हल्ला आफै फैलाएर राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दर्ता गराएका छन् । महाशाखा टेकुले महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था, यातायात व्यवसायी र मजदुर समेतको सहकार्यमा अभियान सञ्चालन गरी आपराधिक गतिबिधि नियन्त्रणको प्रयास गरेको हो । कार्यक्रममा यातायात व्यवसायी महासंघका महासचिव सरद सिटौलाले यस्तो कार्यक्रम २६ बर्षपछि राजधानीमा भएकोे बताए । अपराध नियन्त्रण गर्नु हामी सबैको दायित्य भएको कारण अपराध सम्बन्धी सुचना तत्काल प्रहरीलाई उपलब्ध गराउन उनले चालक र सहचालकसँग आग्रह गरे । अभियान सञ्चालन गरिएपछि सार्वजनिक सवारी साधनमा उश्रृंखल गतिविधि गर्ने, नक्कली परिचयपत्र देखाएर भाडा छुटको दाबी गर्ने, सवारी साधन तथा सडक क्षेत्रमा हुने पाकेटमारी, लुटपाट, डकैती, हत्या, अपहरण बलात्कार, महिला यौन दुव्र्यवहार, अवैध कारोबार, ओसारपसारलगायतका क्रियाकलापमा संलग्न १०५ जना लाई नियन्त्रणमा लिई ८४ जनालाई अनुसन्धानपछि छाडिएको र २१ जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको एसएसपी खनालले जानकारी दिएको समाचार  यूनाइटेड पोस्ट साप्ताहिकमा उल्लेख छ   ।

प्रतिक्रिया

सम्बन्धित