गौचन हत्याका मुख्य योजनाकार बस्नेतलाई कसको संरक्षण ?

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेर पीडितको घाउमा मलम लगाउने काम गरेको छ । यद्यपी घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुन र लोप्साङ राइलाई भने प्रहरीले पक्राउ गर्न सकेन ।

 गौचनको हत्या गर्नुभन्दा एक महिना अघिदेखि नै बस्नेतको समूहले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ । बस्नेतले हत्याको चाँजोपाँजो मिलाउने काम आफन्त पर्ने रोशन बुढाथोकीलाई लगाएको र सुटरहरुको कनेक्सन पनि बुढाथोकीसम्म मात्र रहेको खुलेको छ ।

 गौचनको हत्या लगत्तै दर्जनौ व्यापारीलाई राईले फोन गरेका थिए भने बस्नेतले पनि केही ठेकेदारलाई फोन गरी ‘गौचन ठिक मान्छे नभएको’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । बस्नेत प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’का मित समेत हुन् । घैंटेले मर्नुअघि गजुरमुखी कम्पनीमार्फत आउने कमिसनको हिस्सा बस्नेतलाई दिंदै आएका थिए ।

 घैंटे मारिएपछि भने ठेक्कापट्टाबाट आउने रकमको केही प्रतिशत रकम सन्तोष गौतमले बस्नेतलाई दिने गरेको स्रोत बताउँछ । गौतम उनै व्यक्ति हुन्, जसको केही एसएसपी र डिएसपीसँग राम्रो कनेक्सन रहेको छ ।  प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सुटर त सार्वजनिक ग-यो तर, मुख्य अभियुक्तहरुले चलखेल गरी उम्कने मौका पाउने भन्दै गौचनको कारोबार र अनुसन्धानका सम्पूर्ण विवरण बाहिर ल्याएको छैन । गौचनको पहलमा महासंघमार्फत १० अर्वको हुलाकी राजमार्गको टेण्डर चिनियाँ कम्पनीलाई दिलाइएको थियो ।

 जसको कमिसन मात्रै ५० करोड बाँडिएको र गौचनको गाडीबाट मात्रै १८–२० करोड रकमका चेकका थानहरु भेटिएको पनि खुलेको थियो । यि तथ्यहरु बारे प्रहरीले केही खुलाएको छैन । उक्त रकमको भागवण्डा नमिलेको विषयमा घैंटेका पार्टनर गौतमलगायतका ठेकेदारले बाहिर सूचना लिग गरेपछि बस्नेतले निरन्तर गौचनमाथि तीन करोड भन्दा बढि रकम माग गरेका थिए । तर, ति तथ्यहरुलाई पनि प्रहरीले अनुसन्धानबाटै केलाइरहेको स्रोत बताउँछ । सुटर सार्वजनिक गर्ने क्रममा गौचन हत्याकाण्ड छानविन समितिका संयोजक डिआईजी गणेश केसीले विस्तृत अनुसन्धानको पाटो अझै नसकिएको बताएका थिए ।

  यो भनाइले पनि गौचनको कारोबार को सँग मिलेको थिएन ?, बस्नेतले कति रकम माग गरेका थिए ? वा गौचनलाई आक्रमण गर्न कसले उक्साइरहेको थियो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन । डिआईजी केसीका अनुसार गौचनको हत्याका लागि नुवाकोटका २१ वर्षीय राजिव स्याङतानलाई सुटरका रुपमा खटाइएको थियो भने दुईवटा पेस्तोलको व्यवस्था गर्ने जिम्मेवारी पर्सा कालिकामाइका ३५ वर्षीय शिवजी महतोले लिएका थिए । महतोले भारतबाट दुई वटा पेस्तोल र एउटा साइन बाइक नेपाल ल्याएका थिए ।

 घटना विवरण अनुसार महतोले भारतको बेतियाबाट १८ हजार रुपैयाँमा साइन बाइक खरिद गरि नेपाल ल्याएका थिए । भारतबाट ल्याएको मोटरसाइकल उनले २४ हजार रुपैयाँमा श्याम गुम्बे गुरूङलाई बिक्री गरेका थिए । महतोले बेतियाबाट ५५ हजार रुपैयाँमा हतियार खरिद गरी गुरुङलाई ६५ हजार रुपैयाँमा विक्री गरेको अनुसन्धानबाट देखिएको छ । महतोलाई भारत विहारका मुकेशकुमार पाण्डेले सहयोग गरेका थिए । उनी पनि पक्राउ परेका छन् । चोरीको भारतीय मोटरसाइकलमा नेपाली नम्वर प्लेट प्रयोग भएको डिआइजी केसीले बताए । अर्को पल्सर बाइकको व्यवस्था भने पर्सा ठोरी नगरपालिकाका १८ वर्षीय सन्तोष गुरुङले गरेका थिए ।

  तर उक्त बाइकको विषयमा प्रहरीले केही खुलाएको छैन । प्रहरीले गोली प्रहार गर्ने सुटर राजिव विभिन्न नाका हुँदै भाग्दै गरेको सिसीक्यामरा फुटेज पनि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार गौचन हत्याका सुटर राजिवले हत्या गरे बापत अहिलेसम्म कुनै रकम नलिएको खुल्न आएको छ । केही रकममा सुट गर्ने सहमति भएपनि पक्राउ पर्दासम्म बस्नेतले रकम नदिएको अनुसन्धानबाट खुलेको हो । हत्या गर्नु अघि गौचन सवार गाडीमा प्रकाश बुढाथोकीले ढुंगा प्रहार गरेका थिए । गाडीको अगाडीको सिसामा ढुंगा हानेर भागेलगत्तै पेशेवर सुटर राजिवले गौचनमाथि गोली प्रहार गरेका थिए । गोली शिशा छेडेर गौचनको पेटमा लाग्यो ।

  बुढाथोकी र स्याङ्ताङ एकैतर्फ भागे । केहीपर उनीहरुलाई लिन सन्तोष गुरुङ मोटरसाइकलमा कुरिरहेका थिए । डिआईजी केसीका अनुसार मागे जति रकम नदिँदा गौचनको हत्या भएको हो । घटनामा संलग्न भएको अभियोगमा ५ जना पक्राउ परेपनि ८ जना अझै फरार छन् । फरार रहेका मध्ये दुई जना भगौडा आर्मी हुन् । घटनामा संलग्न रहेका श्यामबहादुर गुम्बे र काले दाई भनिने अमरबहादुर राना आर्मीबाट भागेका भगौडा हुन् । राना समेत सुटरको रुपमा प्रयोग भएका थिए भने गुम्बेले सहयोगीको भूमिका खेलेका थिए । अर्का अभियुक्त लोप्साङले बस्नेत र पुनकै कमाण्डमा रहेर नेपालमा अपराधिक क्रियाकलाप गर्दै आएको प्रहरीले बताएको छ ।

  युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न मनोज पुन पनि फरार अभियुक्त हुन् । प्रहरीले भने मनोज पुनको संलग्नताको बारेमा ठोस प्रमाण दिन सकेको छैन । घटनामा बोका भनिने गंगा लिङ्देन लिम्बुको संलग्नता समेत खुलेको छ । बस्नेतका नातेदार रोशन बुढाथोकीले हत्याको सम्पूर्ण प्रवन्ध मिलाएका थिए । घटना संलग्न अर्का अभियुक्त अजय थापा समेत फरार छन् ।

 प्रहरी स्रोतका अनुसार गुण्डा नाइके दावा लामामाथि गोली प्रहार पनि यहि समूहले गरेको हो । भारतमा लुकेर बस्दै आएका बस्नेतको केही उच्च प्रहरी अधिकारीहरुसँग सम्बन्ध रहेका कारण अनुसन्धानको एउटा टोली भारत पुग्दा उनी सहजै रुपमा लुकेर बसेका थिए ।  स्रोतका अनुसार प्रहरी भारत पुग्नु अघि नै बस्नेतले सूचना पाएपछि उनी भूमिगत बनेका थिए । बस्नेतले गौचन हत्या लगत्तै करोडौ रकम उठाउन सफल भएको महासंघका एक ठेकेदार बताउँछन् । घटनामा संलग्न सुटरलाई प्रहरीेले पक्राउ गरी सार्वजनिक गरे पनि निर्माण व्यवसायीहरुमा त्रास भने कायमै छ । किनकी बस्नेत र राईको फोन आउन अझै रोकिएको छैन ।

  बस्नेतले फेरी पनि यस्तै शैलीमा भाडाका सुटरहरु प्रयोग गरी फिरौती रकम नदिनेमाथि आक्रमण नगर्लान भन्न सकिन्न । ‘निर्माण व्यवसायीहरुबाटै बस्नेतले ठेक्कापट्टाको सूचना र ठेकेदारहरुको विवरण पाइरहेको हुँदा निर्माण व्यवसायीहरु अझै असुरक्षित छन् ।’ महासंघका ति व्यवसायीले भने । बस्नेतलाई सूचना संकलनमा सहयोग गर्ने गौतम जस्ता ठेकेदारलाई कानुनी कठघरामा नउभ्याउने हो भने बस्नेतको आतंक नरोकिने ति व्यवसायी बताउँछन् ।

  घैंटे इन्काउन्टर लगत्तै बस्नेत भागेर भारत पुगेका थिए । त्यतिखेर पनि उनले इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्या गर्न भाडाका सुटर खटाएका थिए । अपराध महाशाखाको टोलीले साजन गुरुङ र कार्जोन गुरुङलाई पक्राउ गरी मुद्दा चलाएको थियो । उनीहरु हाल भिमफेदी कारागारमा छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

 

प्रतिक्रिया

सम्बन्धित