जेल भित्रबाटै डनहरुद्वारा अबैध असुली

manangroj ranaकाठमाडौं । अपराधको दुनियामा प्रवेश गरेपछि जेल जाने र छुट्ने कुनै नौलो कुरा होइन । त्यसैले जेललाइ नै आफ्नो ससुराली जस्तो बनाउनको लागि र कुनै दिन आफू जेल जानु पर्दा ससुराली गएको जस्तो सम्मानपूर्वक बस्न त्यही हिसाबले सुबिधा पाउन र मासिक आम्दानीको स्रोतको लागि उपत्यकाका सबैजसो जेलहरुको प्रशासन नेपालका नाम चलेका डनहरुले आफूअनुकुल प्रयोग गर्ने गरेको पाईएको छ । जेलभित्र विभिन्न सुबिधाको नाममा कैदीहरुसँग जबर्जस्ती रकम असुलेर कैदी नाइकेहरुले कुम्ल्याउने तथा कैदीहरुलाई यातना दिनेगरेको समाचार पटक–पटक बाहिर आएका छन् । यस सम्बन्धमा सरोकारवाला निकायहरुले खासै चासो दिएको देखिदैन । त्यसको प्रमुख कारण माथिल्लो निकाय सम्मको सेटिङ र कैदी नाइकेका मुख्य अभिभावकको रुपमा रहेका केहि डनहरुले गर्ने संरक्षण । केन्द्रिय कारागारमा लागूऔषध मुद्दामा सजाय पूरा गरेर छुटेका डन चक्रे मिलन उर्फ मिलन गुरुङले केन्द्रिय कारागारको कारागार प्रशासन आफूअनुकुल प्रयोग गर्ने गरेका थिए । केन्द्रिय कारागारको आन्तरिक प्रशासनका चौकीदार बिच्छा तामाङले चक्रेलाई त्यहाँँ भित्र रहेको कपडा पसल सँगैको सिंगल कोठा उपलब्ध गराएका थिए । करिब १५०० कैदी रहेको केन्द्रिय कारागारमा सम्पूर्ण कैदी बन्दिहरुको लागि आवश्यक दैनिक उपभोग्य सरसामानहरुको लागि विभिन्न पसलहरु राखिएका छन । त्यहाँँ भित्र रहेको किराना पसल, कपडा पसल, जुत्ता चप्पल पसल, मासु पसल, नास्ता होटेल, चिया पसल र पुल(स्नुकर), तरकारी पसल त्यहाँँका चौकीदार बिच्छा तामाङ र भाई चौकीदार जित लामाले सञ्चालन गर्दै आएका छन् । उक्त पसलहरु सञ्चालन गर्नको लागि नियुक्त गरिएका आफू निकट नाइके, भाईनाइकेहरुलाई मासिक १० देखि १५ हजार तलब दिएर राखेका छन् । यसरी विभिन्न पसल बाट सम्पूर्ण खर्च कटाएर मासिक करिब ६ लाख जति फाइदा हुने र सोको केहि प्रतिशत मिलन गुरुङ,सुरक्षा प्रमुख र जेलरलाई दिई बाकी रहेको रकम चौकीदार र भाईचौकीदारले बाडीचुंडी खाने गर्दछन । यसरी मासिक रुपमा जेलभित्रबाट कमाएको पैसाले चौकीदार बिच्छा तामाङ र भाईचौकीदार जित लामाले काठमाडौंको कालिमाटीमा एक/एक वटा घर किनिसकेका छन् । डन चक्रे पनि त्यहाँँको आन्तरिक प्रशासनको नाइके नियुक्त भएका थिए । उनले आन्तरिक र बाह्य प्रशासनलाई प्रभावमा पार्दै जेलबाटै आफ्नो धन्दा निर्बाध रुपमा चलाइरहेका थिए । यसभन्दा पहिले केन्द्रिय कारागार अन्तर्गत कै भद्र बन्दिगृहमा रहेका चक्रेले जेल भित्रबाट आफ्ना सहयोगी परिचालन गरि पैसा नदिएको झोंकमा एउटा रियल स्टेट कम्पनीको स्काभेटरलाई ड्राइभर सहित जलाउन लगाएपछि प्रहरीको दवाबमा केन्द्रिय कारागारमा सरुवा गरिएको थियो । त्यसपछि केन्द्रिय कारागारमै कैद भुक्तान गर्दै चक्रेले आफ्नो जबर्जस्ति असुली धन्दा त्यहिबाटै सञ्चालन गर्दै आएका थिए । सामान्यतय जेल भित्र एक पटकमा दश हजार भन्दा बढी रकम लैजान पाइदैन । तर, त्यहाँँ चक्रे मिलनको नाममा विभिन्न ब्यापारीहरुले लाखौ रकम केन्द्रिय कारागारको गेटमा लगेर छोड्ने र उनको सहयोगीको रुपमा कारागार प्रशासनले नियुक्त गरेका आउटडोर नाइकेहरुले ब्यापारी हरुसँग गेटबाट पैसा बुझेर भित्र पुयाईदिने गर्दथे । केन्द्रिय कारागारमा थुनामा रहँदा चक्रे मिलनको नाममा विभिन्न व्यक्तिहरुले जेलमै रकम पु-याइदिने गरेका थिए । उनको नाममा मासिक ८ देखि दस लाख रुपैयाँ केन्द्रिय कारागार भित्र छिर्ने गरेको र उक्त रकम उनले भेटघाटमा श्रीमती र भाई आउँदा दिएर पठाउने गरेको त्यहाँँ भित्र रहेका एक कैदीले जानकारी दिए । त्यस्तै अर्का डन राजु गोर्खाली केहि बर्ष देखि केन्द्रिय कारागार अन्तर्गतको भद्र बन्दि गृहको संरक्षक रहँदै आएका छन् । बिगतमा उनले आफ्नो सजाय भुक्तानी पनि त्यहि जेलमै बसेर गरेका थिए । गोर्खालीले भद्र जेलभित्र हुने विभिन्न सुबिधाको नाममा हुने बिबिध असुलीधन्दाको लागि अहिले लक्ष्मी प्रकाश (एलपी) सक्सेना लाई चौकीदार र गोविन्द कार्कीलाइ मुलनाइके तथा सिन्धुलीका ब्ल्याक स्पाईडर ग्रुपका आकाश केसीलाई राशन नाइकेको रुपमा नियुक्त गराएका छन् । भद्र जेलमा राजु गोर्खालीले नियुक्त गराएका तिनै जना कैदी नाइकेहरु हस्पिटल जाने बहानामा सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी हरेक दिन जसो आफ्नो घरमा गएर दिनभर घरमै बसेर आउने गर्दछन । स्रोतका अनुसार भद्र बन्दी गृहका चौकीदार नाइके सक्सेना त बिहानै तरकारी लिन जाने बहानामा हरेक दिन आफ्नो घर जाने गर्दछन । बिगतमा कारागार भित्र अबैध गतिबिधि गरेको, कैदीहरुलाई यातना दिएको र कैदी हरुसँग जबर्जस्ती रकम असुलेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयले भद्र जेलका ति चारै जना नाइकेहरुलाई अन्य जेलमा सरुवा गर्ने निर्देशन दिएको थियो । त्यस बमोजिम कारागार ब्यबस्थापन बिभागले सरुवाको पत्र कारागार कार्यालय जगन्नाथदेवलको नाममा पठाइसकेको थियो । तर केन्द्रिय कारागारका तत्कालिन जेलर शम्भु रेग्मीले आर्थिक प्रलोभनमा परि उक्त सरुवाको पत्र लुकाएर राखी कार्यन्वयन नगरेको जानकारी केन्द्रिय कारागारका एक कर्मचारी बताउँछन् । ६५० जना कैदी रहेको भद्र जेलमा विभिन्न पसल होटेलहरु र विभिन्न सुबिधाको नाममा असुली गरेर मासिक खर्च कटाएर तिन लाख पचास हजार रकम बच्ने गर्दछ । त्यो रकम मध्ये बाहिरबाट सरुवा रोक्नेदेखि माथिल्लो निकाय सम्म सेटिङ मिलाइदिने डन राजु गोर्खालीलाई केहि प्रतिशत दिएर बाँकि रहेको तिनै नाइकेहरुले बाँडेर खाने गर्छन । केन्द्रिय कारागार र भद्र जेलमा अहिले केहि आउटडोर नाइकेको दरबन्दी खाली रहेकोले नयाँ नियुक्तिको लागि जेलर, डिएसपी र विभागमा बुझाउनु पर्ने भन्दै प्रति व्यक्ति तिन लाखका दरले पैसा उठाउने काम भैरहेको स्रोत बताउँछ । त्यस्तै सुबिधा जेलको रुपमा परिचित एवम् कैदी नाइकेको आकर्षक कमाई हुने जेल डिल्लीबजार जेलमा क र ख गरि २ वटा ब्लक छन् । ब्लक कमा डन गणेश लामाको बर्चश्व छ भने ब्लक खमा लामाका डन गुरु दिपक मनाङ्गेको बर्चश्व छ । ब्लक खमा डन दिपक मनाङ्गेका निकट कर्मा लामा चौकीदार छन् भने मनाङ्गेका सहोदर भाई अजय गुरुङ र उनका नाता पर्ने टासी गुरुङ नाइके छन् । संख्याको हिसाबले कम कैदी भएको ख ब्लकमा अन्य जेलहरु भन्दा सुबिधा सम्पन्न र खर्चिलो एवं महंगो रहेको जानकारहरु बताउँछन । बिशेष गरि यो ब्लकमा हुने सम्पूर्ण गतिबिधि दिपक मनाङ्गेबाटै निर्देशित हुन्छ । उनी जेल आउनु पर्ने अवस्थामा अदालतबाटै डिल्लीबजार जेलको लागि तोक लगाएर आएर त्यहि ब्लक मा ससुराली गए जस्तै गरि जान्छन् । त्यहाँँ रहेका अधिकांश कैदी नाइकेहरु उनी निकटका छन् । बस्दा ससुरालीमा जस्तै गएर बस्छन र छुट्ने बेलामा सम्मानपूर्वक बिदा हुन्छन । उनले बर्षदेखि जेलरसँग सेटिङ मिलाएर त्यहाँँको आन्तरिक प्रशासनमा चौकीदार नाइके एवं भाईनाइके आफू निकटका व्यक्तिलाई नियुक्त गराउँदै आएका छन । गत बर्ष  सम्पत्ति शद्दिकरण मुद्दामा धरौटी नबुझाएर उनी यहि ब्लकमा सम्मान पूर्वक केहि समय थुनामा बसेका थिए । त्यस्तै डिल्लीबजार जेलको ब्लक ख अर्का डन गणेश लामाको ससुराली जस्तै हुन गएको छ । उनी हरेक पटक थुनामा आउँदा यहि ब्लकमा नै आउने गर्दछन । त्यहाँँ त्यहाँको सम्पूर्ण असुली धन्दाको जिम्मेबारी उनी निकट मूल नाइके दिपक सुनुवार र चौकीदार बुद्ध लामा र नाइकेहरु पिताम्बर पोख्रेल र लिला बहादुर तामाङ लगायतले लिएका छन् । त्यहाँँ टेलिफोन, भेटघाट, सुत्ने बेड सुबिधा, जुवा, स्नुकर पसल होटेललगायतबाट मासिक खर्च कटाएर ५ लाख जति कमाउने गर्दछन । यो सबै रकम जेलर खड्कराज शर्मा र आन्तरिक प्रशासनका नाइकेहरुले बाँडेर खाने गरेको डिल्लिबजार कारागार स्रोतले जानकारी दिएको छ । डिल्लीबजार जेल भित्र भैरहेका अनियमितता र अवैध असुली सम्बन्धि यस भन्दा अगाडी पनि पटक–पटक समाचार प्रकाशित हुदै आएको छ त्यहि समाचार प्रकाशित भएपश्चात त्यहाँँ भित्र थुनामा रहेका केहि बन्दीहरुलाई पत्र पत्रिकामा समाचार लेखाएको, आन्तरिक सूचना बाहिर दिएको भन्दै त्यहाँँका खड्कराज शर्माको निर्देशनमा मूल नाइके दिपक सुनुवार, चौकीदार बुद्ध लामालगायतले कुटपिट गरेको, टेलिफोन र आफन्तसँग भेटघाट गर्न नदिएको र शारीरिक एवम् मानशिक यातना दिने गरेको समेत खुलेको छ । स्रोतका अनुसार डिल्लीबजार जेलमा कैदीबन्दीहरु माथि भैरहेका दमन, शोषण लगायतका बिषयमा पिडित कैदी बन्दिहरुले करिव एक बर्È अगाडि त्यहाँँका जेलर खड्कराज शर्मा, नाइके दिपक सुनुवार र बुद्ध लामा लगायत दोषि माथि कडा भन्दा कडा कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग आयोग लगायत सरोकारवाला अन्य निकायहरुमा उजुरी दर्ता गराएका थिए । तर सरोकारवाला निकायले समयमै उचित निर्णय नगर्दा कैदी बन्दीहरु झन पछि झन अबैध असुलीको शिकार भएको खुल्न आएको छ । जेल भित्र नाइके बनेर महिनामा लाखौ कमाउने भएकोले पटक–पटक अपराध गरेर जेलमा फर्की फर्की आएर जेलमै बसेर धन्दा चलाउने गरेको पाइएको छ । जेलमा नाइके भएका व्यक्तिहरु हस्पिटल लैजाने बहानामा जेलर र प्रहरीहरु मिलेर दिउसोमा घुमाउने र गेस्ट हाउसमा यौन क्रियाकलापमा संलग्न गराउने गरेका छन् । यसरी दिनभर बाहिर घुम्दा प्रति दिन आठ देखि दश हजारसम्म प्रहरीलाई बुझाउनु पर्ने डिल्लीबजार कारागारमा रहेका एक कैदीले बताए । कैदी नाइके दिपक सुनुवारको योजनामा त्यहाँँ ब्राउन सुगर, चरेश समेत जेलमा छिराउने गरिएको छ । त्यहाँ थुनामा रहेका लागूऔषध दुब्र्यसनीहरुले चरेश र ब्राउनसुगर नहुदा विभिन्न औषधिहरु मिलाएरको फर्मुला मिलाएर लागुऔÈधको रुपमा प्रयोग गर्ने गरेको स्रोतको दावी छ । स्रोतका अनुसार बाहिरबाट प्रहरीले चेकजाँच गरेजस्तो मात्र गर्ने र प्रहरीले चेकजाचको लागि पनि तिनै कैदी नाइकेहरुलाई खटाउने गरेकोले पनि जेल भित्र अबैध बस्तु प्रवेशको लागि सहज भएको जानकारहरु बताउँछन् । पछिल्लो उदाहरण २०७० फागुन १५ गते महा शिवरात्रिको दिन रातको ८ बजे देखि डिल्लीबजार जेलमा लागुऔषध र मदिरा पार्टीको आयोजना भएको थियो । त्यहाँँ आफनो विश्वासिलो कैदीहरुलाई चर्को मूल्य लिएर मदिरा उपलब्ध गराइएको थियो । त्यसै दिन उक्त कुरा डिल्लीबजार जेल सुरक्षामा खटिएका केहि प्रहरीहरुले महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एसएसपी रमेश खरेललाई जानकारी गराए पश्चात महानगरीय प्रहरी परिसर काठमाडौका तत्कालीन प्रहरी निरीक्षक कुमोद ढुंगेल नेतृत्वको बिशेष टोलिले रातिनै जेलमा छापा हान्न खोजेको थियो । तर चेन अफ कमाण्ड अनुसार महानगरीय प्रहरी आयुक्तको कार्यालयसँग छापा हान्ने आदेश माग्दा जेल जस्तो संबेदनशिल ठाउँमा छापा हान्दा बाहिर नराम्रो संदेश जाने भन्दै आदेश नदिएपछि परिसरको टोलि २ घण्टा सम्म डिल्लीबजार जेलको गेटमा पर्खेर खाली हात फर्केको थियो । त्यसैगरी दिन बिहान जेल भित्रको फोहोर निकाल्ने क्रममा फोहोरसँगै मदिराका बोतल फेला परेपछि सुरक्षामा लापरबाही गरेको भन्दै तत्कालिन कारागार सुरक्षा गार्ड प्रमुख प्रहरी निरीक्षक खड्कबहादुर भण्डारीलाई कारबाही स्वरुप त्यहाँँबाट हटाईएको थियो ।

त्यसैगरी ललितपुरस्थित नख्खु कारागारबाट डन रोज राणा भनिने सरोज थापाले मासिक असुल्ने गरेका छन् । चार वर्ष अघि चेलिबेटी बेचविखन मुद्दामा जेल पुगेका राणा आफ्ना प्यानलका कैदीलाई त्यहाँको चौकीदार बनाएर उनीमार्फत मासिक लाख भन्दा बढी बुझ्दै आएका छन् ।

साभार :यूनाइटेड पोस्ट

प्रतिक्रिया

सम्बन्धित