समिरको योजनामा गौचनको हत्या, सुटरसहित पाँच पक्राउ

काठमाडौं : लामो अनुसन्धानपछि प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई आज सार्वजनिक गरेको हो । प्रहरीले सुटरसहित सहयोगीहरु पक्राउ गरेपछि हत्याका मुख्य योजनाकारलाई भने पक्राउ गर्न सकेको छैन । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको हो । हत्यामा मनोज पुनको पनि संलग्नता रहेको प्रहरीको भनाई छ । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि घैंटेका ‘राइट ह्याण्ड’ भनेर चिनिएका बस्नेत भारतमा लुकेर बस्दै आएका छन् । उनले भारतमा बसेर पनि नेपालका ठेकेदाहरुसँगै फिरौती उठाउँदै आइरहेका छन् । बुटवलका मनोज पुन पनि एमालेसम्बद्ध युवा संघ रुपन्देहीका दुर्गा तिवारीको हत्यापछि फरार छन् । पुन र बस्नेत मिले गौचन हत्याको योजना बनाएको अहिले आएर खुलेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर हुन् । उनीसँगै हत्यामा संलग्न भएको आरोपमा भारत विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थपनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी समिरका सहयोगी हुन् । पक्राउ परेकाहरुमाथि स‌ंगठित अपराध ऐनअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ६० दिनको म्याद दिएको छ । प्रहरीका अनुसार मागेजति फिरौती नदिएकै कारण समिरमानले गौचनको हत्या योजना बनाएका थिए । अध्यक्ष गौचनको पहलमा केही समय अगाडि दश अर्बको हुलाकी राजमार्गको टेण्डर चिनियाँ कम्पनीलाई दिलाइएको थियो । गौचनमाथि त्यतिबेला बस्नेत र पुनको समूहले तीन करोड माग गरेको थियो । उक्त टेण्डर मिलाए वापत गौचनको समूहले महासंघको नाममा ५० करोड कमिशन लिएको भन्दै बस्नेतले गौचनसँग रकम माग गरेका थिए । सोही रकमको भागवण्डा नमिलेपछि गौचनमाथि आक्रमण भएको बुझिएको छ । भारतबाट चोरेर ल्याइएको मोटरसाईकलमा नक्कली नेपाली नम्बरप्लेट प्रयोग गरी गौचन हत्यामा प्रयोग गरिएको प्रहरीको भनाई छ । हत्यामा संलग्न बस्नेत, पुन, लोप्साङ राई, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् । हत्या भएको केही समय पछि लोप्साङले प्रहरीलाई फोन गरी हत्याको जिम्मा लिएका थिए । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अध्यक्ष गौचनको २३ असोजमा घरबाट निस्के लगत्तै खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित