गौचन हत्याको छानविन समिती र सिअाईबीबीच द्वन्द्व, अनुसन्धान नसकिंदै डिएसपीको सरुवा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको छानविन गर्न गठित समिती र केन्द्रिय अनुसन्धान ब्युरो (सिअाईबी) बीच द्वन्द्व शुरु भएको छ ।

 सिअाईबी र डिआईजी गणेश केसीको समितीबीच द्वन्द्व बढेसँगै छानविन समितीमा रहेका अनुसन्धान अधिकृत डिएसपी रुगम कुँवरको सरुवा भएको छ ।

 महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी रहेका डिएसपी कुँवरको अनुसन्धान नसकिंदै प्रहरी प्रधान कार्यालयले अचानक उदयपुर जिल्लामा सरुवा गरेको स्रोतले वतायो।

   अनुसन्धानमा काबिल मानिने कुँवरको सरुवा भएपछि घटनाको यथार्थ विवरण बाहिर आउनेमा शंका/ उपशंकाहरु उब्जिएका छन् । सिअाईबीले गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको लामो समयसम्म पनि समितीलाई बुझाएको थिएन ।

 तर, बिभिन्न संचारमाध्यममा  पक्राउ गरेका अभियुक्तलाई समितीसमक्ष नबुझाई सिअाईबीको 'भिआईपी हिरासत’मा ज्वाँईलाई झै राखेर मुद्दा नै कमजोर बनाउन  चलखेल गरिएको समाचार प्रकाशित भएपछि गत साता बस्नेतलाई समितीसमक्ष जिम्मा लगाइएको थियो। नेपाल प्रहरीका एक डिएसपीका नाताले भाई पर्ने बस्नेतलाई उनै डिएसपीको डिजाइनमा रहस्यमय तरिकाले पक्राउ गरी सिअाईबीले सार्वजनिक गरेको थियो।

 बस्नेतलाई कहाँबाट कसरी पक्राउ गरिएको भन्ने बारेमा सिअाईबीले कुनै स्पस्ट जानकारी दिएको थिएन भने आधा दर्जन बढी अपराधमा संलग्न बस्नेतबाट केही पनि बरामद नहुनुलाई समेत शंकाको दृष्‍टिकोणले हेरिएको थियो। जबकी बस्नेतका सहयोगीहरुलाई  छानविन समितीले हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको थियो।

 प्रहरीको अनुसन्धान अनुसार मुख्य अभियुक्त समिरमान सिंह बस्नेत पक्राउ परे पनि मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु) श्याम बहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा भने अझै फरार छन् । आजै मात्र रुपन्देहीको देवदह नगरपालिकामा व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको घटनाको समेत स्थानिय पत्रकारलाई फोन गरी मनोज पुनले जिम्मा लिएका छन् ।

 प्रहरी स्रोतका अनुसार समिरमानसिंह बस्नेत र मनोज पुनको समुहबारे नजिकबाट अनुसन्धान गरिरहेका डिएसपी कुँवरले बस्नेतसँग केही प्रहरी अधिकारीको पनि कनेक्सन रहेको यथार्थ जानकारी समितीलाई दिएपछि तिनै प्रहरी अधिकारी र सिअाईबीको डिजाइनमा उनको सरुवा गरिएको हो ।

 समिरमान सिंह बस्नेतलाई सिआईबीको ‘भिआईपी हिरासत’मा लामो समयसम्म राखिएको समाचार बाहिर आएपछि डिआईजी पुष्कर  कार्कीले एक अनलाइनमा प्रतिक्रिया दिंदै भनेका थिए - ‘हामीले लानुस् भनेका हौँ, तर अरुको बयान सकिएपछि लैजाने भनेर काठमाडौं परिसर र अपराध महाशाखासँगको सल्लाह अनुसार नै भएको हो ।’ अनुसन्धानमा संलग्न केही अधिकृतहरुले विवाद भएको र काम देखाउने होडबाजी चलेको भन्दै दुष्प्रचार गरिएको   कार्कीले दाबी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित