लेकसाइडमा सडक महोत्सवका नाममा किन हुन्छ विकृति र अराजकता?

कास्की ।  अन्तत : रेष्टुरा व्यवसायीहरुको संस्था रेवान पोखराले राज्यको निकायले दिएको आदेश विरुद्ध आतिसवाजी र पटाका पड्काएरै छोडे ।

 जिल्ला भरको आन्तरिक सुरक्षाको जिम्मा लिएको जिल्ला प्रशासन कार्यालय कास्कीले २०७४ मंसिर २८ गते १९ वुंदे सर्त सहितको निर्देशनको खिलाफमा रेवानले नयाँ वर्षको राती पुष १६ गते राती अन्धा धुन्दा आतिशवाजी गरेको छ ।

 जिल्ला प्रशासन कार्यालय कास्कीले च.नं. ३९२८ नंं पत्रको वुदा नंं १५ मा पटाका, आतिशवाजी लगायतका कुनै पनि विस्फोटक पदार्थको प्रयोग गर्न पाइने छैन भन्ने किटानगरेको थियो । तर, रेवानले प्रशासनको निर्देशनलाई चुनौती दिदै पुष १६ गते आइतवार राती अन्धाधुन्दा ढंगले आतिसवाजी र पटाका विस्फोटन गरेको थियो । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्की पोखरा महानगर पालिका र आन्तरिक राजस्व कार्यालय पोखरालाई वोधार्थ दिइएको प्रशासनको पत्रलाई रेवानले यसरी निर्लज्ज ढंगवाट अवज्ञा गर्छ भन्ने कमैले अपेक्षा गरेका थिए ।

   जिल्ला प्रसाशन कार्यालय कास्कीले प्रत्यायोजित सर्तलाई अनुगमन र कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन समेत दिएको थियो । मिति २०७१ कार्तिकमा जिल्ला प्रशासन कार्यालय कास्कीले मेला महोत्सवको नाममा पटका आतिस वाजी लगायतका विस्फोटक पदार्थ निषेध गर्ने निर्णय गरेको थियो । स्थानिय प्रशासनले त्यस्तो निर्णय गरेपनि रेवानले राज्यको निकायको निर्णयलाई मानेको छैन । रेवानको यो जवर्जस्ती कार्यको कतिपयले आलोचना गरेका छन् । प्रशासनको निरिहताको फाइदा उठाएर रेवानले गरेको स्वेच्छाचारीताले हद् नाघेको छ । राज्यका नीति निर्माताहरु स्वयम् यस्ता वलमिचाई पूर्ण कार्यको ढाडस दिन उद्दत देखिएकाछन् ।

 रेवानको सडक महोत्सव उद्घाटन गर्न नेपाल सरकारका मन्त्री र सांसदहरु स्वयम् उपस्थित भइदिनाले आयोजक संस्था रेवानले प्रोत्साहन पाइरहेको छ । रेवानले मादक पदार्थको विज्ञापन वोर्डहरु सार्वजनिक सडक र चौताराहरुमा राखेर अर्को ताण्डव मच्चाएको छ । उसले स्पोन्सर लिएका दाताहरुको चित्त वुझाउन सडक भरी स्वागतद्धार, तुल व्यानर र स्ट्याण्ड वोर्ड राखेको थियो । पुष १२ गते कास्की प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले रेवानका अध्यक्ष चौ वहादुर गुरुङ लाई टेलिफोन गरि तत्काल मादक पदार्थहरुको विज्ञापन वोर्डहरु चौतारा र सार्वजनिक सडकवाट हटाउन र नहटाएमा प्रहरी लगाएर हटाइदिने चेतावनी सहित निर्देशन दिएका थिए ।

 प्रजिअको निर्देशनलाई पालना गरेको देखाउन चौताराहरुमा राखिएका स्ट्याण्ड वोर्ड र सडकका केहि प्रचार वोर्डहरु उठाएर सडक किनारामा थुपारेका थिए  । कास्की प्रहरीले शान्ती सुरक्षा दिन र गैह्रकानुनी काम कारवाही रोक्न करिव ४ सय प्रहरी खटाएको थियो । निषेधित काम रोक्न खटिएका प्रहरीहरु स्वयम् मध्यरातमा पटाका र विस्फोटक पदार्थको कर्कश ध्वनीवाट आजित भएका थिए ।

 जिल्ला प्रशासन कार्यालय कास्की, क्षेत्रीय प्रशासन कार्यालय पोखरा, अदालत, वडा प्रहरी कार्यालय, अंचल प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयको आसपास रहेको लेकसाइड विस्फोटनको आवाजवाट सवभन्दा वढी प्रभावित भएका थिए । महोत्सवका नाममा ताण्डव प्रदर्शन गर्ने रेष्टुरेण्ट व्यवसायहिरुलाई कानूनी दायारामा उभ्याउन नसक्ने भन्दै प्रहरी प्रसाशनको आलोचना भएको छ ।

 निर्देशन दिइसकेपछि कार्यान्वयन गर्न नसक्नुले राज्य पक्ष कमजोर र नीजि क्षेत्र वलियो भएको देखिन आएको छ। कर दस्तुर नै नलिई पहुँच दवाव र प्रभावमा मेला महोत्सवलाई स्वीकृति प्रदान गर्ने पोखरा लेखनाथ महानगरपालिकाको कार्यशैली झन वढी विवादित वनेको छ ।

 नीति र थिति विगारेर रेवानलाई महोत्सव निःशुल्क गर्न दिइंदा त्यसले गलत नजिर वस्न गई अन्य संस्थाहरुले पनि मेला दस्तुर तिर्ने वाटो वन्द गराएका छन् । पोखरा ४ का वडा अध्यक्ष शंकर वास्तोला यस प्रकरणले ट्रेन विगारेको वताउँछन् । उनी मात्र हैन अरु कर्मचारी र जनप्रतिनिधिहरुले पनि सडक महोत्सवका नाममा हुने थुप्रै विकृति र अराजकताको विषयमा त्रृटी भएको स्वीकार गरेका छन् । यसलाई अव सुधार्न पर्छ भन्ने हरु त थुप्रै भेटिए तर विरालोको घांटीमा घण्टी झुण्डाउने तागत भने कसेमा पनि देखिएन ।

प्रतिक्रिया

सम्बन्धित