विदेशीको नयाँ वर्ष नेपालीका लागि टोपी दिवस

काठमाडौं : आज जनावरी १ अर्थात अग्रेजी नयाँ वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय स्तरमा मनाईंदै छ । पछिल्लो समय नेपालमा पनि विदेशी नयाँ वर्ष मनाउने चलन बढ्दै गएको छ । तर, अहिले नेपालीहरुले नयाँ वर्ष भन्दा पनि जनावरी १ लाई टोपी दिवसका रुपमा मनाउन थालेका छन् । विगत दश वर्ष देखि मनाईंदै आएको राष्ट्रिय टोपी दिवसमा यसपटकबाट नेपाल पर्यटन बोर्डले पनि सहभागीता जनाएको छ । नेपाली पहिचान संसारमा चिनाउन टोपी दिवसलाई राज्यको तर्फबाट मान्यता दिन पर्यटन बोर्डको सहभागिता भएको आयोजकले बताएका छन् । दशौं राष्ट्रिय टोपी दिवसका अवसरमा काठमाडौं लगायत बिभिन्न शहरहरुमा टोपी प्रदर्शन गरिएको छ । जागरुक युवा अभियानले विहानै माइतिघर मण्डलाबाट नेपाली टोपीसहित र्‍याली निकाल्यो । काठमाडौंको बसन्तपुरमा टोपी दिवस समारोह समितिले गरेको कार्यक्रममा पर्यटन व्यवसायीहरु पनि सहभागी भएका थिए । त्यस्तै पोखरामा कपडा व्यवसायी संघले निःशुल्क रुपमा ढाका टोपी वितरण गरी दिवस मनाएको छ । स्वदेशी उत्पादनको प्रबर्द्धन र नेपाली पहिचानको सम्मानका लागि टोपी जनवरी १ कै दिन टोपी दिवस मनाउन थालिएको आयोजकले बताएका छन् । नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ । यद्यपी नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित