किन बढ्दैछन् चितवनमा महिला लागुऔषध प्रयोगकर्ता ?
सन् २००३ सम्म ३ हजारको हाराहारीमा महिला लागुऔषध प्रयोगकर्ता रहेको सर्वेक्षण पछि २०१३ मा आइपुग्दा त्यो बढेर ६ हजार ५ सयको हाराहारीमा पुगेको थियो । तर, त्यस यता कुनै पनि सर्वेक्षण नगरीएकाले महिला दुर्व्यसनीको यकिन तत्थ्यांक छैन ।
महिला लागुऔषध प्रयोगकर्ताको संख्या जालो जसरी फैलिएको यस क्षेत्रमा काम गर्नेहरूले निक्र्यौल गरेका छन् । सन् २०१२ मा नेपालका मुख्य शहरहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, सुनसरी र मोरङमा गरिएको सर्वेक्षणमा रहेका न्यून संख्याका लागुऔषध प्रयोगकर्ताको संख्या अहिले दोब्बरले नै बढेको दृष्टि नेपालकी अध्यक्ष करिना सुब्बा लिम्बुको दावी छ ।
भरतपुर महानगरपालिकामा शनिबार एकता नेपाल चितवनले आयोजना गरेको लागुऔषध दुर्व्यसनी महिलाको पुनस्र्थापन र दुर्व्यसन नियन्त्रणमा संस्थाको भूमिकाबारे अन्तरक्रियामा लिम्बुले समाजले नै महिलाका अन्य मुद्दालाई जस्तै दुर्व्यसनलाई पनि ओझेलमा पार्दा समस्या झन् बढेको बताइन् ।
महिलाले मदिरा, चुरोट लागुऔषध छुन समेत पाप सोच्ने समाजमा नजानिँदो किसिमले दुरुपयोग मौलाउँदा पनि नजरअन्दाज गरेर इज्जत जोगाउन खोज्नु नै परिवारको कमजोरी भएको उनले बताइन् ।पारिवारिक समस्या, सम्बन्ध विच्छेद, साथीसंगतको देखासिकी र तनावका कारण पनि दुर्व्यसनमा फस्ने महिलाको संख्या बढ्दै गएको उनको ठम्याई छ ।नेपालभर महिला लागुऔषध दुर्व्यसनीको उपचारका लागि १० वटा पुनस्र्थापन गृह सञ्चालनमा रहेका छन् । एकता नेपाल चितवनको एकमात्र महिला पुनस्र्थापन गृहका रुपमा रहेको छ ।स्थापनाको दश वर्षमा एकता नेपालले चितवनमा मात्रै ५ सय ५० जनालाई पहुँचमा आएकालाई मात्र उपचार सम्भव रहेपनि अझै थुप्रै लागुऔषध दुरुपयोगी महिला समाजमा रहेको एकता नेपाल चितवनकी अध्यक्ष शान्ता घलेले बताएकी छिन् ।१४ वर्षका किशोरीदेखि ४२ वर्षसम्मका महिला दुर्व्यसनीको संख्या निकै रहेको उनको दावी छ ।भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले लागुऔषधको दुर्व्यसनीले युवाहरूलाई नोक्सानी गर्दै आएको बताइन् । उनले भनिन्, ‘लागुऔषध दुर्व्यसनीबाट युवापुस्तालाई बचाउनुपर्ने दायित्व र चुनौती छ । त्यसलाई रोक्न लाग्नुपर्छ ।’अन्तरक्रियामा एकता नेपालको सम्पर्कमा आएर पुनर्जीवन पाएका पूर्वलागुऔषध प्रयोगकर्ताले आफ्नो अनुभव सुनाए । लागुऔषध प्रयोगकर्ताका रुपमा उपचारका लागि केन्द्रमा आइपुगेकी विष्णु सिलवाल अहिले आफ्नो परिवारमा खुशीसाथ रहेकी छिन् ।केन्द्रमा रहँदै गर्दा उनको विवाह समेत गराइदिएर परिवारको सुःख दिएको भन्दै सिलवालले शान्ता घलेलाई धन्यवाद दिइन् । उनका दुई सन्तान रहेका छन् ।यस्तै अनुभव विन्दु कार्कीले सुनाइन् । तर, संस्थामा आएर पुनर्जीवन प्राप्त गरेपनि फेरि समाजमा पुनःस्थापित हुन नसकेको उनको गुनासो छ ।केन्द्रमा रहेर काम गरेपनि समाजले स्वीकार नै नगर्दा केन्द्र छाडेर परिवारमा जान समेत नसकेको अवस्था पीडादायी रहेको कार्कीले बताइन् । दुर्व्यसनका कारण पढाइ छुटेकाले अब पुनःस्थापित हुँदै गर्दा रोजगारका लागि सिपमुलक तालिम, स्वरोजगारका लागि सहयोग आवश्यक पर्ने भन्दै उनले ध्यानाकर्षण समेत गराइन् ।समाजमा महिला लागुऔषध दुरुप्रयोगकर्ताहरू जीवनमा फर्कन चाहँदा सहज वातावरण नरहेकाले यसतर्फ ध्यान दिनुपर्ने आफूजस्ता थुपै्रको आग्रह रहेको कार्कीले बताइन् ।कार्यक्रमका वक्ता विनय खकुरेलले महिलामा हुने लागुऔषध समस्याको निवारणका लागि समाजले नै सचेत भएर ध्यान दिनुपर्ने बताए । ‘राज्यले लागुऔषध नियन्त्रण गर्न पहलहरू गरिरहेको छ’, खकुरेलले भने, ‘तपाई हामीबाटै लागुऔषध नियन्त्रण गर्न लाग्नुपर्छ ।’कार्यक्रमको संयोजक युवा समाजसेवी सुरेश जोशीले गरेका थिए । उनले भने, ‘यो संस्थासँग मेरो कुनै संलग्नता छैन । तर, लागुऔषध दुर्व्यसनीबाट कसैलाई बचाउन सकिन्छ भने मेरो पनि भूमिका रहन्छ । त्यसैका लागि मैले कार्यक्रम आयोजना गर्न संयोजन गरेको हुँ ।’
प्रतिक्रिया