'ओली र दाहालले राजनीतिबाट बिदा लिनुपर्छ, सत्ता नछाड्नु देउवाको नकचराेपन'

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश सभा र प्रतिनिधि सभामा बहुमत ल्याएपछि यि दुई पार्टीबीचको एकताको चर्चा झन बढेको छ । तर, पछिल्लो समयमा दाहाल र ओलीबीच केही खटपट भएको विषयले पनि आमसञ्चार माध्यमहरुमा स्थान पाएका छन् । प्रधानमन्त्री, संसदिय दलको नेता र पार्टी अध्यक्षका विषयमा दुई नेताबीच सहमति हुन नसकेको बताइएको छ । यसै बेला एमाले सचिव योगेश भट्टराईले पार्टी एकता भएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएपछि यसले झन राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । दुई कम्युनिस्ट पार्टीका नेताहरुले राजनीतिबाट बिदा लिएर नेपालको शान्ति प्रक्रियाबारे अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्यापन गराउन जाँदा उचित हुने भन्दै भट्टराईले सुझाव दिएका हुन् । एमाले सञ्चार इलाका कमिटीले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले भने –‘एकता घोषणा भएकै दिन दुई पार्टीका नेताले सक्रिय राजनीतिबाट बिदा लिए हुन्छ, त्यसो भए उहाँहरु विश्वमा नेल्सन मन्डेलाजस्तै सम्माननीय हुनुहुन्छ ।’ हावर्ड र अक्सफोर्डमा विश्वका धेरै नेताहरुले अध्यापन गराउन गएको भन्दै उनले ओली र दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरु पनि अध्यापनमा गए राम्रो हुने बताए । उनले एमाले र माओवादी केन्द्र एकता हुनेमा कुनै शंका नभएको बताए । कार्यक्रको अधिकांश समय नेपाली कांग्रेसलाई गाली गरेका भट्टराईले कांग्रेसले सत्ता नछाडेर नकचरोपन देखाएको बताए । उनले भने–‘बेलायत र भारतमा पनि बहालवाला प्रधानमन्त्रीको पार्टीले हार्दा सर्लक्क छाड्छन्, नियम कानुनभन्दा पनि राजनीतिक नैतिकता माथि हुन्छ तर, हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा नकचरो तालले सत्तामा टाँसिनुभएको छ ।’ वंशजका अन्तिम शासकले अन्तिममा चुरीफुरी यस्तै हुने बताउँदै एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले भने–‘कांग्रेस अबको पचासौं वर्ष सत्ता बाहिर हुन्छ ।’ भट्टराईले निर्वाचन आयोगका कामहरु सन्तोषजनक नभएको बताउँदै विवेकले काम गर्न सुझाव दिए । राष्ट्रियसभाका लागि पुनस् दल दर्ता गर्ने कार्यतालिका निकालेर आयोगले नौटंकी गरेको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित