आगो ताप्न धुर बाल्दा एक दर्जन घर जले, चार जना घाइते

सप्तरी । तराईमा शितलहर अत्याधिक बढेपछि न्यानो पार्नका लागि बालिएको आगोले एक दर्जन घर नष्ट भएका छन् भने चार जना घाइते भएका छन् । सप्तरीमा पछिल्लो समयमा आगोमा जलेर लाखौंको धनमाल क्षति भएको छ । चार दिन यता जिल्लाका तीन ठाउँमा भएको आगलागीबाट एक दर्जन घर जलेर नष्ट भएका छन् भने आगो ताप्दा जलेर चार जना घाइते समेत भएका छन् ।

रुपनी गाउँपालिका १ मा भएको आगलागीबाट तीन दाजुभाइको ६ वटा घर जलेको छ । शुक्रबार राति भएको आगलागीबाट स्थानीय राजो यादव, रामनारायण यादव र रामविलास यादवको घर जलेको छ । उनीहरुको दुई÷दुई वटा घर जलेको हो । आगलागीले राजोले घरमा राखेको नगद ७५ हजार रुपैयाँ समेत जलेको छ । आगलागीले ६ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको पीडितको भनाइ छ । शुक्रबार राति नै बेल्ही चपेना गाउँपालिका ३ नर्घो निवासी ठकाई साहको घरमा आगलागी भएको हो । गोठमा बालिएको घुरबाट सल्केको आगोले गोठसहित उनका एक घर समेत जल्दा दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसअघि बुधवार राति डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडामा आगलागी भएको थियो । आगलागीबाट गंगाराम पंडित र सियाराम पंडितका एक÷एक घर जलेर नष्ट भएका थिए । आगोमा जलेर घाइते हुनेहरुमा सिरहा नगरपालिका ४ निवासी ३० वर्षीया ममतादेवी मण्डल, सिरहा नगरपालिका ७ निवासी ४७ वर्षीया जिवछी महरा र कल्याणपुर नगरपालिका निवासी २३ वर्षीया सिपीदेवी यादव तथा गत आइतवार सिरहाको चतरी २ निवासी ३७ वर्षीया साबित्रीदेवी मण्डल घाइते भएका हुन् । घाइते चारै जनाको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित