प्रदेश प्रमुखको शपथग्रहण हुँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं । सरकारले बुधबार नियुक्त गरेको प्रदेश प्रमुखहरूले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन्। राष्ट्रपति कार्यालय शितल निवासमा अपराह्न ३ बजे उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउन लागेकी हुन् ।

बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । त्यसको २ दिनपछि राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखहरुलाई शपथग्रहण गराउन लागेकी हुन् ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दलको भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

यसैबीच मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनका समानुपातिक सांसदलाई निर्वाचन आयोगले आज निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ३३० सांसदले यसअघि नै विजयको प्रमाणपत्र पाइसकेका भए पनि प्रदेश प्रमुखको नियुक्तिमा विलम्ब हुँदा समानुपातिकतर्फका २ सय २० सांसद प्रमाणपत्र पाउनबाट

वञ्चित हुँदै आएका थिए । प्रदेश प्रमुखको नियुक्ति भएसँगै आयोगले शुक्रबार विजयी प्रदेशसभाका समानुपातिक सांसदलार्इ प्रमाणपत्र दिन लागेको हो । निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र लिन यसअघि नै सूचनामार्फत आग्रह गरेको आयोगले शुक्रबार बिहान १० बजेबाट प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ ।

संविधानअनुसार, निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । प्रदेश प्रमुखले निर्वाचन परिणाम आयोगबाट पाएपछि सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित