चुनाव भाँड्न विप्लवका कार्यकर्ताद्वारा विस्फोट, फायरिङ गर्न प्रहरीलाई छुट

काठमाडौं । चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागिपरेको छ । शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल भएको छ । गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकमा उम्मेदवारको सुरक्षामा कमजोरी हुन नदिन तीनवटै सुरक्षा निकायका प्रमुखलाई सापकोटाले निर्देशनसमेत दिएका छन् ।

 माओवादी केन्द्रको गढ मानिएका जिल्लामा केन्द्रकै उम्मेदवारमाथि आक्रमण प्रयास भइरहेका छन् । शनिबार रोल्पामा वर्षमान पुनलगायत वाम गठबन्धनका उम्मेदवार सवार गाडीलाई लक्ष्य गरेर माइन विस्फोट गराइएको थियो ।

 नेत्रविक्रम चन्द ‘विप्लव'का कार्यकर्ताले उक्त विस्फोट गराएको सूचना प्रहरीले पाएको छ । शुक्रबार रुकुममा माओवादी केन्द्रकै उम्मेदवार एवं पूर्वगृहमन्त्री जनार्दन शर्मालाई लक्ष्य गरेर बम विस्फोट गराइएको थियो ।रोल्पा र रुकुम माओवादी केन्द्रको लालकिल्ला मानिए पनि विप्लवका कार्यकर्ताले प्रतिशोधमा र चुनाव भाँड्ने योजनाअनुरूप विस्फोट गराएकाबारे सुरक्षा निकायका प्रमुखले सचिव सापकोटालाई ब्रिफिङ गरेका थिए । स्रोतका अनुसार बैठकमा पुन र शर्मामाथि भएको आक्रमण प्रयासलाई राजनीतिक प्रतिशोधका रूपमा समेत विश्लेषण गरिएको थियो । बैठकमा चुनाव भाँड्ने समूहले हतियार विस्फोट गराउन थालेपछि प्रहरीले परिस्थितिअनुसार जफावी फायरिङ गर्न सक्ने छुट प्रहरीलाई भएको स्पष्ट पारेका थिए ।

 गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माले शनिबार सुरक्षा समीक्षा बैठक बसेको बताए। ‘निर्वाचनविरोधी गतिविधि गर्ने तत्वमाथि निगरानी राख्न, पक्राउ गर्न र उम्मेदवारसँगै मतदाता र मतदान अधिकृतको सुरक्षामा चनाखो रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइएको छ, उनले भने । शर्माले यो वा त्यो नभनी निर्वाचन भाँड्न खोज्ने जो(कोहीलाई पनि निगरानी गरेर कारबाहीको दायरामा ल्याउने रणनीति गृहले बनाएको जानकारी दिए ।अन्नपूर्णमा खबर छ

प्रतिक्रिया

सम्बन्धित