पहिलो स्वच्छ मुलुकमा स्वीटजरल्याण्ड, नेपाल अन्तिम पाँचमा

काठमाडौं । नेपाल वायु प्रदूषणमा अग्रस्थानमा रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ । नेपाल विश्वकै खराब पाँच मुलुकभित्र रहेको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा गरेको हालै सार्वजनिक ‘इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अन्तिम पाँच नम्बरमा छ ।
प्रतिवेदनमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । नेपाल भन्दा बढि वायु प्रदुषण भएका राष्ट्रहरुमा भारत, डिआर कंगो, बंगलादेश र बुरुन्डी रहेका छन् ।
प्रतिवेदनका अनुसार १ सय ८० देशमध्ये स्विट्जरल्यान्डमा वायु प्रदूषणको गुणस्तर सबैभन्दा राम्रो रहेको निष्कर्ष छ । उक्त देश पहिलो स्वच्छ मुलुकको सूचीमा परेको छ । अध्ययनले १८० मध्ये २४ देशमात्र वातावरणीय स्वास्थ्य÷वायु प्रदूषणको मात्राका हिसाबले तोकिएको मापदण्डभित्र परेका छन् । वातावरण र स्वास्थ्यका १० ‘पार्टिकुलेट्स’ लाई आधार मानेर वातावरणीय अवस्थाबारे अध्ययन गरिएको हो ।
वायुको गुणस्तरका हिसाबले नेपालको स्तर ३१.४४ छ भने भारतको नेपालभन्दा कम ३०.५७ र बंगलादेशको २९.५६ छ । १८० देशमध्ये बुरुन्डीमा वायु प्रदूषणको गुणस्तर सबभन्दा खराब रहेको पाइएको छ । उसको स्तर २७.४३ मात्र छ । त्यस्तै, अफ्रिकी मुलुक कंगोको वायु प्रदूषणको गुणस्तर पनि खराबमध्ये परेको छ । उसको स्तर ३०.४१ मात्र छ । फ्रान्स, डेनमार्क, माल्टा र स्विडेन वायु प्रदूषणको गुणस्तर राम्रो हुने मुलुकमा समावेश छन् । ती देशमा अधिकांश यातायात विद्युतीय छन् भने वातावरणमैत्री यातायात व्यवस्थापन र सडक सञ्जालसमेत छ ।
सरसफाइ र वायुको गुणस्तरको मात्रा राम्रो भए पनि अमेरिकामा हानिकारक हरितगृह ग्यास उत्सर्जन अत्यधिक भइरहेको उल्लेख छ । वायु प्रदूषणको गुणस्तरका हिसाबले छिमेकी मुलुक चीन १२० औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित