कान्तिपुर डेन्टलमा वीर र टिचिङबाट समेत जाँचका लागि नमुना आउँछन्
दन्त स्वास्थ्य शिक्षा क्षेत्रको अग्रणी संस्था कान्तिपुर डेन्टल कलेज चिकित्सकहरुको उत्पादन गर्ने थलो मात्र नभई कयौं दाँत रोगीहरुलाई बरदान सावित भएको छ । अनुहारको सौन्दर्यतामा महत्वपूर्ण स्थान रहने दाँतको उपचारका लागि दक्ष जनशक्तिको उत्पादन र गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना भएको कान्तिपुर डेन्टलले कलेज नेपालको एकमात्र यस्तो अस्पताल हो जहाँ अन्य कहि पनि नभएको सेवा र सुविधाहरु उपलब्ध छन् । दाँतमात्र नभई सम्पूर्ण अनुहारकै उपचार हुने कान्तिपुरमा प्लास्टिक सर्जरी, न्यूरो सर्जरी, नाक लामो/छोटो बनाउने, खुँडे भएको ओठलाई मिलाउने, कृतिम आँखा राख्ने, नयाँ कान राख्ने, औला नभएकाहरुलाई औंला बनाएर राख्ने, च्युडो छोटो बनाउनेलगायतका सम्पूर्ण सेवा र सुविधाहरु उपलब्ध रहेको बताउनुहुन्छ कान्तिपुर डेन्टल कलेजका संस्थापक अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको इतिहास, यसले दिने सेवा र सुविधा, दन्त उपचार सम्बन्धि जानकारीलगायत विविध विषयमा अध्यक्ष श्रेष्ठसँस mynewsnepal.comका लागि कुमार भण्डारीले गरेको कुराकानी :
डा. बुद्धिमान श्रेष्ठ, संस्थापक अध्यक्ष – कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर
० कान्तिपुर डेन्टल हस्पिटलको स्थापना कहिले गर्नु भएको हो ?
– वि.सं. २०५४ सालमा काठमाडौंको महाराजगञ्जमा कान्तिपुर डेन्टल हस्पिटल स्थापना भएको हो । नेपालमा दन्त स्वास्थ्य सम्बन्धि उपाचार गर्ने दक्ष जनशक्तिको अभाव, जनचेतनाको कमी र स्तरीय उपचार गर्ने संस्थाहरुको कमी भएको महसुस गरेर नै हामीले कान्तिपुर डेन्टलको स्थापना गरेका हौं । हामीले यसलाई उपत्यका बहिर पनि लैजानुपर्ने आवश्यकता देखेर २०५६ सालमा पोखरामा कान्तिपुर स्कुल अफ हेल्थ साइन्स, २०५८ मा बुटवलमा, २०६० मा नारायणगढ र २०६२ मा धनगढि र विरगञ्जमा शाखाहरु विस्तार गरी काम ग¥यौं । तर, केही समय पछि स्थानीय स्तरमा नै दक्ष जनशक्ति उत्पादन भइसकेपछि हामीले धनगढि र विरगञ्ज शाखालाई बन्द ग¥यौं । स्थानीय जनशक्तिलाई नै स्थान दिनका लागि हामीले त्यहाँको शाखा बन्द गरेका हौं ।
अहिले चाहिं कान्तिपुर स्कुल अफ डेनटेस्ट्री, पोखरमा कान्तिपुर स्कुल अफ हेल्थ साइन्स र काठमाडौंमा कान्तिपुर डेन्टल कलेज स्थापना भएको छ । कान्तिपुर डेन्टल कलेज चाहिं सन् २००७ मा स्थापना भएको हो । हामीले अझै स्तरीय डेन्टल कलेज र शिक्षण अस्पताल स्थापना गर्नुपर्छ भन्ने सोच राखेर काठमाडौं विश्वविद्यालयबाट स्वीकृती लिएर कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर स्थापना गरेका हौं ।
० कान्तिपुर डेन्टल हस्पिटल स्थापना गर्नुको मुख्य उद्देश्य के हो ?
– जुन बेलामा कान्तिपुरको स्थापना भयो त्यस बेलासम्म मुख तथा दन्त स्वास्थ्यलाई हेर्ने दृष्टिकोण अलि फरक नै थियो । यसलाई खासै मतलब गरिदैन थियो । तर, मैले समग्रमा मुख तथा दन्त स्वास्थ्य सम्बन्धि रोग संसारमा सबैभन्दा बढि भएको पाएँ । यो रोगको उपचार महगों उपचारमध्ये चौथोमा पर्छ । जुन कुरा डब्लुएचओले पनि प्रमाणित गरेको कुरा हो । त्यसैले नेपालमा पनि मुख तथा दन्त स्वास्थ्य प्रदान गर्नका लागि नै कान्तिपुरको स्थापना गरिएको हो ।
अर्को कुरा मुख तथा दन्त स्वास्थ्य सम्बन्धि चेतना अभिवृद्धि गर्न, स्तरिय उपचार सेवा प्रदान गर्न र मध्यम वर्गिय परिवारबाट आएकाहरुलाई दक्ष जनशक्ति बनाउनका लागि हामीले कान्तिपुर स्कुल अफ डेनटेस्ट्री र कान्तिपुर डेन्टल हस्पिटल एकै साथ स्थापना ग¥यौं । हामीले विभिन्न स्थानमा निशुल्क दन्त स्वास्थ्य शिविर, महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई तालिम, शिक्षकहरुलाई पनि स्वास्थ्य सम्बन्धि अभिमुखीकरण तालिम प्रदान गरी जनचेतना प्रदान गरिरहेका छौं । विदेशी विश्वविद्यालयहरुसँगको सहकार्यमा हामीले काम गरिरहेका छौं । हामीले डेन्टेस्ट्री सम्बन्धि नयाँ–नयाँ प्रविधिहरु प्रयोग गरेर काम गरिरहेका छौं ।
० मुख तथा दन्त रोगका कारण अन्य के कस्ता रोग लाग्न सक्छ ?
– हामीले मुख तथा दन्त रोगलाई वेवास्ता गर्दा धेरै प्रकारको रोग लाग्न सक्छ । तर, नेपाली जनमानसले यसबारेमा अझै बुझिसकेका छैनन् । हामीले सकेसम्म त बुझाउने कोशिष गरिरहेकै छौं । यसबाट मुटु, पाचन प्रणाली, मधुमेह, गर्भवती महिला र बच्चालाई प्रत्यक्ष रुपमा असर पु¥याउँछ ।
० कान्तिपुर डेन्टल कलेजले दिने सेवा र सुविधाहरु के–के छन् ?
– हामीले धेरै नै सुविधा प्रदान गरिरहेका छौं । अहिले कान्तिपुरमा दन्त स्वास्थ्यमा दन्त चिकित्सामा सर्टिफिकेट लेभल देखि मास्टर्ससम्मको अध्ययन हुन्छ । कान्तिपुर नेपालको एक मात्र यस्तो कलेज हो, जहाँ दन्त चिकित्सामा सर्टिफिकेट लेभल देखि मास्टर्ससम्मको पढाई हुन्छ । त्यसैगरी अर्को भनेको उपचार सेवा हो । उपचार सेवामा हामीसँग नौ वटा विभाग रहेका छन् । नौ वटा विभागमा कम्तिमा दुई जना र बढिमा पाँच जनासम्मको विशेषज्ञ चिकित्सक हुनुहुन्छ । प्रत्येक विभागबाट हामीले विशेषज्ञ स्तरिय उपचार सेवा, डेन्टल सर्जनले दिने उपचार सेवा, इन्टर्न डक्टरले दिने उपचार सेवा र आवश्यक परेको अवस्थामा विद्यार्थीले दिने निशुल्क सेवा समेत प्रदान गरिरहेका छौं ।
नेपालमा कसैले पनि दिन नसकेको ओरल प्याथोलोजी सेवा पनि हामीले प्रदान गरिरहेका छौं । जहाँ सरकारी अस्पतालहरु टिचिङ र वीर अस्पतालबाट पनि नमुनाहरु आउने गरेका छन् । सिविसिटी(एक प्रकारको सिटी स्क्यान) सेवा (जुन अन्य डेन्टल हस्पिटलमा छैन) पनि प्रदान गरिरहेका छौं । हामीले लेटेस्ट टेक्नोलोजीको प्रयोग गरी स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं । उपचार सेवा प्रदान गर्दै गर्दा हामीले विद्यार्थीहरुलाई पनि ति कुराहरु सिकाइरहेका हुन्छौं ।
प्लास्टिक सर्जरी, न्यूरो सर्जरी, नाक लामो छोटो बनाउने, खुँडे भएको ओठलाई मिलाउने, कृतिम आँखा राख्ने, नयाँ कान राख्ने, औला नभएकाहरुलाई औंला बनाएर राख्ने, च्युडो छोटो बनाउनेलगायतका सम्पूर्ण सेवा र सुविधाहरु कान्तिपुरमा उपलब्ध छन् । सडक दुर्घटनाको सबैभन्दा राम्रो उपचार हुने अस्पताल भनेको कान्तिपुर नै हो । तर, सेवाग्रहीमा डेन्टल अस्पताल भन्ने वित्तिकै दाँतको मात्र उपचार भन्ने बुझाई छ, त्यो एकदमै गलत हो । हामीले ओरल क्यान्सरको उपचार पनि प्रदान गरिरहेका छौं ।
० ओरल केयर भनेको के हो ?
– ओरल केयर भनेको विशेषतः ओरल क्याविटिको केयर हो । ओरल क्याविटी भनेको मुख भित्र रहेका म्युकोसा, गालाको भित्री भाग, दाँत, गिजा, दाँत र गिजालाई अड्याउने हड्डी एल्बुलर बोनलगायतका अंगहरुको बारेमा अध्ययन गर्नु ओरल अध्ययन हो भने तिनलाई स्वस्थ्य राख्न अझ भनौ रोग लाग्न नदिन गरिने केयरलाई ओरल क्याविटिको केयर भनिन्छ । यसमा मुखको बाहिरी भाग ओठ देखि सम्पूर्ण भित्र भागहरु पर्दछन् । त्यसैले सबैले बुझ्नु पर्ने कुरा के हो भने दन्त स्वास्थ्य भन्नाले दाँत मात्र होइन् ।
० दाँतको उपचार महंगो हुनुको कारण के हो ?
– दन्त उपचार सेवा महंगो हुनुको सबैभन्दा मुख्य कारण भनेको वेवास्तापन हो । दन्त स्वास्थ्यलाई वेवास्ता नगरी समय–समयमा उपचार गराइरहने हो भने त थोरै रकमले पनि त उपचार हुन्छ नि होइन ? तर, अधिकांश नेपालीहरुले नेग्लिजेन्स गर्दा उपचार महंगो पर्न गएको हो । दोस्रो कुरा नेपालमा दन्त उपचारका लागि आवश्यक पर्ने हरेक सामानहरु ९५ प्रतिशतभन्दा बढि विदेशबाट आयात गर्नुपर्ने भएकाले पनि महंगो पर्न गएको हो । त्यसैले म सबैलाई के आग्रह गर्छु भने उपचार सेवा सस्तो हुन र निरोगी बन्न प्रत्येक ६–६ महिनामा दन्त चिकित्सकलाई भेट्नुप¥यो । तर, दन्त प्रत्यारोपण नै गर्ने हो भने चाहिं अलि महंगो नै पर्छ ।
० दाँतलाई सुरक्षित राख्न के–के गर्नुपर्छ ?
– दाँतलाई स्वस्थ राख्नका लागि मैले अघि भनेका दन्त स्वास्थ्यभित्र पर्ने सबै अंगहरुलाई स्वस्थ राख्न जरुरी छ । अब स्वस्थ कसरी राख्ने भन्ने विषयमा भने आफूले नियमित गर्नुपर्ने क्रियाकलापहरुलाई ध्यान दिनुपर्छ । दिनको दुई पटक खानापछि फ्लोराइडयुक्त मञ्जनले ब्रस गर्ने, खानेकुरा खाईसकेपछि मुख कुल्ला गर्ने र समय–समयमा दन्त स्वास्थ्य परिक्षण गराउनु पर्छ । चुरोट सुर्ती, खैनी जस्ता धुम्रपान र मध्यपान नगर्ने ।
० दन्त प्रत्यारोपण मानव स्वास्थ्यको लागि कत्तिको प्रभाकारी छ ?
– नयाँ दाँत राख्दा मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । यसले झन सौन्दर्यता बढाउँछ । तर, अदक्ष व्यक्तिहरुबाट दाँत राख्दा भने त्यसले असर पु-याउन सक्छ । त्यसैले म सेवाग्राहीहरुलाई सस्तो खोज्ने भन्दा पनि राम्रो र दक्ष चिकित्सककहाँ गएर मात्रै उपचार गराउन आग्रह गर्दछु । कान्तिपुरले राखिदिने दाँत भनेको नेचुरुल जस्तै हुन्छ ।
० दाँत सफा गर्दा झमझमाउने र सिरिङ्ग हुने गर्छ भन्छन् नि ?
– होइन् । यो गलत बुझाई हो । दाँत सफा गर्दा हामीले दाँतमा भएको इनामेललाई घोट्ने होइन । त्यो इनामेल भन्दा माथि लागेको फोहोरलाई मात्र सफा गर्ने हो । मैले अघि पनि भने अदक्ष दन्त चिकित्सकसँग काम गर्दा असर पुग्न सक्छ । दक्ष चिकित्सककहाँ गएर सफा गर्ने हो भने त्यस्तो हुँदैन । जहाँसम्म सिरिङ्ग हुन्छ भन्ने कुरा छ, दाँत सफा गरिसकेपछि दाँतमा भएका फोहोरहरु निस्कने हुँदा दाँतले चिसो र तातोको अनुभव गर्न सक्छ । त्यसलाई नै सिरिङ्ग भएको भन्ने गरिन्छ । त्यस्तो सेन्सेटिभिटी कम गराउन पनि हामीले औषधी दिन्छौं ।
० अन्त्यमा, सेवाग्राहीहरुलाई के भन्नुहुन्छ ?
– दन्त स्वास्थ्य भनेको टिमले गर्ने हो । मैले अघि पनि भने दन्त स्वास्थ्यमा दाँत मात्रै पर्दैन । यसमा प्लास्टिक सर्जरी, न्यूरो सर्जरी, नाक लामो छोटो बनाउने, खुँडे भएको ओठलाई मिलाउने, कृतिम आँखा राख्ने, नयाँ कान राख्ने, औला नभएकाहरुलाई औंला बनाएर राख्ने, च्युडो छोटो बनाउनेलगायतका सम्पूर्ण कार्यहरु पर्दछन् । जुन सबै कामहरु कान्तिपुर डेन्टल हस्पिटलले गर्दै आएको छ । कान्तिपुरमा विशेष गरेर सम्पूण अनुहारका भागहरुको सबै प्रकारको उपचार हुन्छ । त्यसैले म सेवाग्राहीहरुलाई मुख तथा दन्त स्वास्थ्य भन्नाले दाँत मात्रलाई नबुझ्न आग्रह गर्दछु ।
प्रतिक्रिया