पशुपतिमा लुटेरालाई एम्वुसमा पार्ने प्रहरीको नयाँ सुत्र

pashupatinath

काठमाडौं । महिलाले लगाएका गहना लुट्न जाने लुटेरालाई लक्ष्य गरेर यो वर्ष शिवरात्रिमा प्रहरीले नयाँ ‘सूत्र’ अपनाएको छ। दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको छ। त्यो पनि दर्शनार्थीकै भेषमा। सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजनासहित डेढ सय महिला प्रहरी खटिएका छन्।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीका अनुसार विगतका वर्षमा लुटेराले दुःख दिएपछि यो वर्ष नयाँ सूत्र परिचालन गरिएको हो। ‘शिवजीको दर्शन गर्न पुगेका दर्शनार्थीको भीडको फाइदा उठाउँदै लुटेराले गहना लुट्ने गरेका छन्। भीडमा पीडितले लुटेरा पहिचान गर्न नसकेपछि लुटेरा उम्कने गरेको देखियो, ‘एसपी जोशीले भने, ‘लुटपाट कम गर्न महिला प्रहरी दर्शनार्थीकै भेषमा नक्कली गहना लगाएर खटिन्छन्। लुट्न खोजे समात्न सजिलो हुन्छ।’

शिवरात्रिमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै सात हजार सुरक्षाकर्मी खटिन्छन्। प्रहरीका मात्रै चार हजार तीन सय ७४ जना खटिने एसपी जोशीले जानकारी दिए। बढीमा १२ लाख दर्शनार्थी आउने सम्भावना रहेको भन्दै उनीहरूको निगरानीका लागि पाशुपत क्षत्रेमा २६ वटा सीसीटीभी राखिएको छ। दुरुपयोग बढेपछि पशुपति क्षेत्र विकास कोषले आफ्ना कर्मचारी र केही सञ्चारमाध्यमबाहेक अन्यलाई पासको व्यवस्था गरेको छैन। प्रहरीले आइतबार र सोमबार गरेर पाशुपत क्षेत्रमा स्विप अपरेसन गरेर २२ जनालाई नियन्त्रणमा लिइसकको छ।अन्नपूर्णबाट

प्रतिक्रिया

सम्बन्धित