चिकित्सा शिक्षा ऐन कुनै पनि हालतमा नरोकिने प्रधानमन्त्री देउवाको अडान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले अध्यादेशमार्फत जारी चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण नभएको वताएका छन् ।

 प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रा डा. गोविन्द केसीसँगको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले मन्त्रिमण्डलले पारित गरेको ऐन विषयमा थप जानकारी लिइने बताए ।

  प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षा ऐन कुनै पनि हालतमा  नरोकिने र प्रमाणीकरण हुने नै छ भन्दै डा. केसीलाई विश्वस्त हुन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटमा डा. केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पहल गर्न आग्रह गरेका थिए ।

  डा. केसीले शिक्षा मन्त्रालयले काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा नेपाल मेडिकल काउन्सिललाई लेखेको पत्रको विषय र एमबिबिएस परीक्षामा भएको चिट काण्डको प्रतिवेदन शीघ्र सार्वजनिक गर्न समेत अनुरोध गरेका थिए । प्रधानमन्त्रीले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई टेलिफोन गरी काउन्सिलबाट पत्र फिर्ता ल्याउन निर्देशनसमते दिएको भेटमा सहभागी डा अभिषेकराज सिंहले बताए।

प्रतिक्रिया

सम्बन्धित