पर्यटन प्रवद्र्धन र खेलकुद

काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको देश नेपाल विभिन्न जात जाती, भाषा, धर्म र संस्कृतिसँगै खेलकुदका कारण पनि चर्चित छ । नेपालको चितवनमा खेलिने हात्तीपोलोप्रति विदेशी खेलाडीहरु आकर्षित हुने भएकोले पनि यो खेलको चर्चा बढि नै हुने गरेको छ । हात्तीमाथि बसेर खेल्ने यो खेलमा नेपालीको तुलनामा विदेशीहरु बढी हुने गर्छन् । हात्तीमाथि बसेर लठ्ठीको प्रयोग गरी बल खेल्नु नै हात्तीपोलो हो ।

नेपालमा सन् १९८२ मा चितवनको मेघौलीबाट यो खेलको शुरुवात भएको हो । चितवनमा रहेको टाइगर टप्स होटलले पहिलो पटक नेपालमा यस खेलको औपचारिक सुरुवात गरेको थियो । तर, हाल यो खेल चितवनको सौराहामा हात्ती महोत्सवको अवसर पारेर खेलाउँदै आइएको छ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनमा विगत लामो समयदेखि सञ्चालन हुँदै आएको हात्ती महोत्सवमा यस खेल खेलाउने गरिएको छ ।

पर्यटन विकास र संरक्षणमा तथा पर्यटन प्रवद्र्धनका लागि पनि हात्तीपोलो खेल निक्कै महत्वपूर्ण रहेको छ । हात्तीपोलो खेलमा नेपाली खेलाडी भन्दा पनि विदेशी खेलाडीहरु आकर्षित हुने गरेको पाइन्छ । विगत १५ वर्षदेखि अमेरिका बस्दै आएकी केमीका भण्डारी प्रत्येक वर्ष सौराहामा आयोजना हुने हात्तीपोलो खेल्नकै लागि नेपाल आउने गर्छिन् । नेपालमा हात्तीपोलो खेलको प्रवद्र्धन र विकासका लागि अमेरिकामा रहेर पनि भण्डारीको विशेष योगदान पु¥याउँदै आएकी छन् ।

सरकारी जागिर छाडेर अमेरिका पुगेकी भण्डारीले छोटो समयमा नै अमेरिकामा आफ्नो पहिचान बनाउन सफल भइन् । सामाजिका कार्यमा आफूलाई सँधै अग्र स्थानमा राख्न रुचाउने भण्डारीले अमेरिकामा पनि शुरुका दिनहरुमा धेरै मेहनत र संघर्ष गर्नुपरेको थियो । अनावरत रुपमा गरेको त्यहि संघर्ष र कडा मेहनतको प्रतिफल स्वरुप भण्डारीले अहिले आफूलाई अमेरिकामा स्थापित समाजसेवीको रुपमा परिभाषित गराउन सफल भएकी छन् ।

डिल्लीबजारमा जन्मिएकी भण्डारीको शिक्षादिक्षा भने चितवनमा भएको थियो । नेपालमै रहँदा पनि नेपाल रेडक्रस सोसाइटीसँग आवद्ध रहेर दुःख र विपद्मा परेकाहरुलाई सहयोग गर्दै आएकी भण्डारी अमेरिमकामा गएर पनि सामाजिका कार्यमा नै लागिन् । खेलकुद प्रवद्र्धन तथा खेल संस्कृति जगेर्ना गर्नका लागि उनी ‘नेपाल स्पोर्ट कल्चर इन्टरनेशन यूएसए’ नामको संस्थासँग आवद्ध भइन् । संस्था स्थापनाका लागि भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

सन् २०१३ मा टाइगर टप्समा हात्तीपोलो खेलेपछि हात्तीहरु धेरै रहेको स्थान चितवनको सौराहामा पनि हात्तीपोलो खेलको आयोजना गर्न उनी सौराहा पुगेकी थिइन् । भण्डारी र सौराहामा रहेका होटल व्यवसायीहरुबीचको छलफलपछि औपचारीक रुपमा हात्तीपोलो खेल सौराहामा पनि सुरु भएको हो । सन् २०१६ मा भण्डारीकै सहयोगमा क्षेत्रीय होटल संघ सौराहले पहिलो पटक हात्तीपोलो खेलको आयोजन गरेको थियो । चितवन नेशनलपार्कमा भएको उक्त खेलमा भण्डारीको पनि सहभागिता रहेको थियो । ब्लू प्लानेट जर्मनीको नामबाट खेलेकी उनी उक्त प्रतियोगिताको उपाधि विजेता बनेकी थिइन् ।

सानैदेखि गल्फ खेल्न रुचाउने भण्डारी अहिले भने हात्तीपोलोतर्फ आकर्षित भएकी छन् । सन् २०१३ मा नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा ‘वल्र्ड एलिफेन्ट पोलो एसोसिएशन’ ले आयोजना गरेको ३२ औं हात्तीपोलो खेलमा भण्डारीको समूहले दोस्रो स्थान जित्न सफल भएको थियो । उक्त खेलमा विश्वका विभिन्न राष्ट्रका आठ समूहले भाग लिएका थिए । खेलमा ईएफजी स्विजरल्यान्ड बैंक फस्ट भएको थियो । ५२ वर्षीया भण्डारी हात्तीपोलो खेल्नकै लागि बर्सेनि नेपाल आउँछिन् । अमेरिकाको बाल्टिमोरमा परिवारसहित बस्दै आएकी उनलाई मन पर्ने खेलमध्येको एक हो हात्तीपोलो ।

सर्वसाधरणले यो खेललाई कठिन खेल भनेर बुझ्ने भएपनि भण्डारी भने यो खेललाई रोमाञ्चक र सहज रहेको बताउँछिन् । बस्ने सिट र बाँध्ने कुरा समेत उपलब्ध हुने भएकाले सेफ्टी नै हुने भन्दै उनी हात्तीपोलो खेल्न नडराउन सल्लाह दिन्छिन् । नेपालमा हात्तीपोलो खेल्ने महिलाको संख्या न्यून रहेको अवस्थामा उनी महिलाहरुलाई पनि यो खेलप्रति अकर्षित गराउन प्रयासरत छिन् । हात्तीपोलो खेलको निरन्तरताका लागि भण्डारीले सरोकारवाला पक्षहरुसँग आग्रह गरिरहेकी छन् ।

नेपालमा पर्यटनको महत्व दिन प्रतिदिन बढिरहेको छ । पर्यटनको विकाससँगै आन्तरिक विकास, देशको गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठूला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि र बेरोजगारी समस्या कम गराएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश नेपालको गतिविधि पर्यटकको अनुकूल नरहे पनि पर्यटन क्षेत्रले राष्ट्रिय आम्दानीमा भने क्रमश सुधार गरिरहेको छ ।

पछिल्लो समय खेल क्षेत्रको विकाससँगै पर्यटन पनि खेलमा जोडिन पुगेको अवस्था छ । क्षेत्रीय होटल संघ सौराहले आयोजना गर्दै आएको हात्ती महोत्सव र हात्तीपोलो खेलका कारण पनि अन्तरिक एवम् वाह्य पर्यटकको संख्यमा बृद्धि हुँदै गएको छ । यसले एकातिर समग्र नेपालको आर्थिक बृद्धिमा केही टेवा पु¥याएको छ भने विश्वसामु नेपालको नयाँ परिचय पनि बनाएको छ । सौराहामा हुँदै आएको हात्तीपोलो विश्का थोरै राष्ट्रमा मात्र आयोजना हुने खेलमध्येको एक हो ।

नेपालमा पर्यटनलाई पनि उद्योगकै रूपमा लिइन्छ । विश्वव्यापी रूपमा पर्यटन व्यवसाय फैलिएको सन्दर्भमा विदेशी तथा स्वदेशी पर्यटक घुम्न आउनु मात्रलाई यो व्यवसायको पुर्णता मान्न सकिदैन । यसमा अहिले खेलकुदले नयाँ आयाम थपेको छ । सौराहामा हुने हात्तीपोलोलाई यसको एउटा उदाहरणको रुपमा लिन सकिन्छ ।

अहिलेसम्म नेपालमा उच्च हिमशिखर, धार्मिक वा ऐतिहासिक महत्वको स्थानहरू वा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानहरूलाई मात्रै पर्यटन प्रवद्र्धनको कडीको रुपमा महत्व दिने गरिएको छ । तर, पर्यटनको विकासका सन्दर्भमा खेलकुद पर्यटनप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

खेलकुद पर्यटनलाई विकसित गर्न सकेको अवस्थामा त्यसले पर्यटनको विकासमा एउटा नयाँ आयाम थप्ने कुरामा दुईमत छैन । सरकारले प्रस्तुत गरेको पर्यटनसम्बन्धी रणनीतिक योजना (२०१६–२०२५)ले खालि पर्यटनसितसम्बन्धी परम्परागत पक्षप्रति नै जोड दिएको छ । खेलकुद पर्यटनको विकासका लागि कुनै ठोस योजना बनाएको छैन ।

खेल पर्यटनका लागि हात्तीपोलोमा मात्र सिमित रहनु पनि उचित नहोला । खेल क्षेत्रको विकास र विस्तारमा पनि सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । पर्यटकीय हिसावले नेपालमा खेलकुद पर्यटन प्रवद्र्धन र प्रोत्साहनका लागि सरकारी स्तरबाट नै सोही अनुरुपको प्रभावकारी नीति नियम बन्न जरुरी छ । अन्तर्राष्ट्रिय स्तरका खेल मैदानहरुको विकास गर्नु अहिलेको पहिलो आवश्यकता हो । सोही अनुरुप नेपालमा मात्र खेलाइने खेलहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सकेको खण्डमा खेलकुद पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित