डिभी बन्द गर्ने विधेयक अस्वीकृत भएपछि डिभी भर्ने नेपालीहरु खुसी

काठमाडौं । अमेरिकी संसदले डिभी चिठ्ठा विधेयक अस्वीकृत गरेपछि डिभी भर्ने नेपालीहरु खुसी भएका छन् । अमेरिकाको माथिल्लो सदनले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका चार वटा विधेयकलाई अस्वीकृत गरेको हो । सीमा सुरक्षा र नियमसँग सम्वन्धित डाका विधेयक दुईपक्षीय समर्थनमा पेस भएका थिए ।

त्यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेका छन् । उनले यसमा भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन् । उनले यसको समाधान आगामी मार्च पाँचसम्म खोज्न संसदलाई आग्रह समेत गरेका छन् ।

डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार जना अमेरिका जान पाउँदछन् । यस्तै फेमिली कोटाअन्तर्गत अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुवालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नेछन् । यस्तो व्यवस्थाबाट अमेरिकी जनता प्रभावित हुने तर्कसहित डिभी चिठ्ठा र चेन इमिग्रेसन बन्द गर्नुपर्नेमा ट्रम्पले जोड दिँदै आएका थिए ।

पछिल्लो समय डिभी भरेर अमेरीका जाने नेपालीको संख्या बढ्दै गएको छ । स्वदेश छाडेर अमेरिकामा रमाउन चाहनेहरु खुसी भएपनि कतिपय नेपालीहरु भने स्वदेश छाड्न नहुने बताउँछन् । प्रत्येक वर्ष तीन हजार भन्दा बढि नेपाली ठिभी चिठ्ठा मार्फत अमेरिका जाँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित