देउवा सरकारको सिफारिस उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नयाँ नाम सिफारिस

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस उल्ट्याउँदै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नयाँ नाम सिफारिस गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डा. युवराज खतिवडा, रामनरायण बिडारी र बिमला पौडेल राईलाई सिफारिस गरेको हो।

यसअघिको देउवा नेतृत्वको सरकारले तीन जनाको नाम अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको थियो। तर, दलीय सहमति नगरेरै सरकारले एकल रुपमा नाम सिफारिस गरेको भन्दै शीतलनिवासले ती नामलाई अनुमोदन गरेको छैन ।

देउवा सरकारले गोपाल बस्नेत, महिला अधिकारकर्मी चाँदनी जोशी र कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

सिफारिस भएका डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष रहिसकेका एमाले निकट अर्थविद् हुन् भने बिडारी प्रचण्ड निकट कानुन ब्यवसायी हुन् । त्यसैगरी पौडेल राई राष्ट्रिय योजना आयोगको पूर्वसदस्य हुन् । उनी एमाले निकट मानिन्छिन् ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित