चुइगमको खोल भेटिएको भन्दै पोखरामा विद्यार्थीमाथि निर्घाट कुटपीट


nirghat

यदुनाथ बञ्जारा/पोखरा । विद्यालयलाई यातना गृह बनाउने हो भने त्यस्ता विद्यालयबाट विद्यार्थीले के सिक्लान ? सोझै अनुमान लगाउन सकिन्छ । २१ औं सताव्दीको शिक्षा दण्ड र यातनाबाट टाढा रहनुपर्छ । तर, पर्यटकीय नगरी पोखरामा भने त्यस्तो देखिएन ।

 वालवालिकाहरु पढ्ने विद्यालयमा केवल अध्ययनमैत्री वातावरणको अपेक्षा गरिन्छ तर, पोखरामा रहेको एक विद्यालयलाई भने शिक्षकहरुले यातना गृह बनाएको पुष्टि भएको छ । पोखरा विरौटाको शिशु निकेतन बोर्डिङ स्कूलका गणित शिक्षक रामजी भट्टराईले कक्षा १० मा अध्ययनरत एक छात्रलाई निर्घात कुटपिट गरेका छन् । गत माघ २८ गते विहान १० बजे गणित शिक्षक रामजी भट्टराइले एक विद्यार्थीको झोला चेक गर्दा चुईगमको खोल फेला परेको निहुमा कक्षा कोठामै निर्घात कुटपिट गरेका थिए ।

 शिक्षक भट्टराईले कुटेको डाम ढाड भरि परेको थियो । कठालो समातेर विद्यार्थीको ढाड सेकाइरहँदा पनि झ्याल र ढोकाबाट हेर्ने शिक्षक कर्मचारीहरु मुकदर्शक बनेका थिए । शिक्षकको कुटाइबाट थलिएका विद्यार्थीले घर जान विन्ती गर्दा पनि नदिएर विरामी कक्षमा सुताएर ढाडमा तेल लगाउदै राखिएको थियो । कुटपिटवाट सिथिल विद्यार्थी साँझ घर आएपछि बल्ल उपचारको लागि फेवासिटी अस्पताल लगिएको विद्यार्थीको अभिभावकले बताएका छन् ।

 अस्पतालको परीक्षणमा उनको रक्तचाप उच्च देखिएको, टाउको दुखेको र ढाडमा हातले पिटेको डाम रहेको हस्पिटलको रिपोर्टमा उल्लेख छ । पोखराको महंगो विद्यालयमा गनिने शिशु निकेतन बोर्डिङ स्कुलमा विद्यार्थीले निर्घात कुटाई खानुपरेपछि अरु सामान्य विद्यालयको अवस्था के होला ? एसइइ परीक्षाको तयारी गरिरहेका विद्यार्थी माथि शिक्षकबाटै यस्तो दुव्र्यवहार सहनुपर्दा विद्यालय र शिक्षकप्रति विद्यार्थीको मनस्थिति कस्तो होला, भौतिक यातनाको विकल्प अरु नभएझै कुटपिटमा उत्रने गणित शिक्षक रामजी भट्टराईलाई विद्यालयले संरक्षण गरेर राखेको छ । विद्यालयका प्राचार्य नरेन्द्र थापाले विद्यार्थी माथि भएको कुटपिटको घटना स्वीकार गरे ।

 प्राचार्य थापाले भने–‘शिक्षक रामजी भट्टराईलाई अन्तिम चेतावनी दिएका छौ । अब यस्तो गल्ती दोहोरिएमा निस्कासनको विकल्प छैन ।’ सानो गल्तीलाई लिएर गरिएको कुटपिट प्रकरणको दाग ढाडबाट हराए पनि पिटाई खाने र देख्ने विद्यार्थीहरुको मनको त्रास भने उस्तै छ ।

 यो घटनाले पढ्न पठाएका वालवालिकाहरुको सुरक्षा चिन्ता बढाएको छ । वाल अधिकारकर्मी तथा राज्यका नियमनकारी निकायले यस्ता घटनाको छानविन गर्नु पर्छ । पिडित विद्यार्थी र अभिभावकहरुले पनि यस्ता अवाञ्छित घटनाहरु वाहिर ल्याउन पर्छ नकि अन्य विद्यालयमा यस्ता घटना नदोहोरियोस् । विद्यालयले शिक्षक कर्मचारी भर्ना गर्दा पनि उनिहरुलाई प्रशिक्षण गराउन जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित