प्रहरीमा दलाली गर्दै घैंटेका पार्टनर गौतम, किन जान्छन नख्खु कारागार ?

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या प्रकरण झन रहस्यय बन्दै गएको छ । प्रहरीको छानविन समितिले हत्या प्रकरणमा गम्भिर ढंगले अनुसन्धान गरिरहेको बताए पनि अहिलेसम्म कुनै प्रगति हासिल गर्न सकेको छैन । केही ठेकेदार र गुण्डा नाइकेलाई शंकाको घेरामा राख्दै प्रहरीले घटनाको अनुसन्धान गर्ने सुईको पाएपछि उनीहरुले प्रहरीमा दलाली शुरु गरेका छन् ।

  घटनाका मुख्य अभियुक्त मानिएका मनोज पुन, समिरमानसिंह बस्नेत र लोप्साङ राईको नेटवर्क खोतल्न एकातिर प्रहरी लागिरहेको बेला अर्कोतिर गौचनसँग कारोबार भएका गुण्डा प्रवृत्तिका ठेकेदारहरु पनि अनुसन्धानमा तानिन लागेका छन् ।

 घटनामा समिरमानसिंह बस्नेत समूहको मुख्य हात रहेको औंल्याउँदै डिआईजी गणेश केसी नेतृत्वको छानविन समितिको अनुसन्धान त्यतातिर मोडिएको छ । स्रोतका अनुसार गौचन हत्याकाण्डको अनुसन्धानमा हेटौडाका ठेकेदार सन्तोष गौतम तानिने भएपछि उनी केही उच्च प्रहरी अधिकारीको शरणमा पुगेका छन् । केही अनलाइन र पत्रपत्रिकामा गौतमको प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’ र गौचनसँगको कनेक्सनका बारेमा समाचार आउन थालेपछि उनी प्रहरीमा दलाली गर्न थालेका छन् । प्रहरी स्रोतका अनुसार फेक इन्काउन्टरमा मुछिएर प्रहरी मुख्यालय तानिएका एसएसपी दिनेश अमात्य, डिआईजी छविलाल जोशी र ३५ वटा सिम बोकेर हिड्ने एक डिएसपी मार्फत अनलाईन र पत्रिकाहरुलाई ठेगान लगाउनु प-यो भन्दै गौतम प्रहरी कार्यालयमा धाउन थालेका छन् ।

  घैंटे र समिरमानसिंह बस्नेतसँग गौतमको कनेक्सनको बारेमा समाचार आउन थालेपछि अनुसन्धानमा तानिने डरले उनी प्रहरीमा दलाली गरेर संरक्षण खोजिरहेका छन् । गजुमुखी कम्पनीमा घैंटेलाई भित्र्याएर विभिन्न ठाउँका ठेक्का कब्जा गरी अबैध सम्पत्ति जोडिसकेका गौतमको जेलभित्र रहेका गुण्डा नाइकेसँग पनि कनेक्सन रहेको भेटिएको छ । स्रोतका अनुसार उनी केही समयदेखि न्यायधीश रणबहादुर बम हत्याका मुख्य अभियुक्त बाबु थापालाई भेट्न नख्खु कारागारमा पुग्दै आएका छन् ।

  महिनाको दुई पटकसम्म पैसा र सामान बोकेर कारागार पुग्ने गौतमको थापासँगको सम्बन्ध के हो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गर्न जरुरी छ । कारागारमा भेट्न आउनेको बारेमा विवरण मगाएर प्रहरीले अनुसन्धान गर्ने हो भने गौतम छानविनको दायरामा तानिन्छन् । हत्यारा थापालाई संरक्षण दिने गौतम आफूलाई कति चोखो सावित गर्न खोज्दैछन् भन्ने कुराको अनुसन्धान नगरी उनकै पैसामा प्रहरी अधिकारीहरु विक्ने हो भने यो जस्तो दुर्भाग्य केही हुँदैन । गौतमले अपराध महाशाखामा एसएसपी अमात्य छँदा आफ्ना पार्टनर घैंटेको फसेको उठाएको विषयमा पनि छानविन गर्ने हो भने उनको डरलाग्दा कर्तुतहरु बाहिर आउने निश्चित छ ।

  त्यसो त गौचन र घैंटेको मिलन गौतमले नै गराएका थिए । गौचन हत्याकाण्डमा मुछिएका डन बस्नेतलाई प्रयोग गरी गौतमले काठमाडौंमा ठेक्का कब्जा गर्दै आएको बारेमा पनि प्रहरीले अनुसन्धान गर्नु जरुरी छ । एक ठेकेदार भन्छन्–‘गौतमको इमो, भाइवर र मेसेन्जर अनुसन्धान गर्ने हो भने बस्नेतसँगको कनेक्सन बाहिर आउँछ ।’ गौतमको योजनामा महानगरिय प्रहरी बृत्त कालीमाटी र कलंकीको भवन बनाउने ठेक्का चार महिना अघि मात्र गुण्डा नाइके दिपक मनाङ्गेका सहयोगी उमेश लामाले पाएका थिए । सो बारेमा पनि प्रहरीले अनुसन्धान गर्नु पर्ने ति ठेकेदार बताउँछन् । निर्माण व्यवसायी महासंघबाट आउने कमिसन पनि गौतमले तिनै ३५ वटा सिम बोकेर हिड्ने डिएसपी मार्फत प्रहरीका उच्च हाकिमहरुलाई बाँड्दै आएको स्रोत बताउँछ ।

  महासंघका अध्यक्ष समेत रहेका गौचनको पहलमा एक महिना अगाडि दश अर्बको हुलाकी राजमार्गको टेण्डर चिनिया कम्पनीलाई दिलाइएको थियो । गौचनमाथि त्यतिबेला बस्नेत र मनोज पुनको समूहले तीन करोड माग गरेको थियो । उक्त टेण्डर मिलाए वापत गौचनको समूहले महासंघको नाममा ५० करोड कमिशन लिएको भन्दै गौतमको निर्देशनमा बस्नेतले गौचनसँग रकम माग गरेका थिए । सोही रकमको भागवण्डा नमिलेपछि गौतमकै सूचनाका आधारमा गौचनमाथि आक्रमण भएको कुरा बाहिर आएपनि गौतमले प्रहरीमा दलाली गरेकै कारण उनीमाथि अझै अनुसन्धान हुन सकेको छैन ।

 यस बारेमा आईजीपी प्रकाश अर्याललाई केही ठेकेदारहरुले सूचना दिए पनि छानविन हुन नसकेको ति ठेकेदार बताउँछन् । यतिसम्मकी केही दिन अघि मात्र निर्माण व्यवसायीहरुले पत्रकार सम्मेलन नै गरी गौचन हत्यामा प्रहरीले अनुसन्धान हुँदैछ भनेर टार्ने बाहेक कुनै काम नगरेको बताएका थिए । प्रहरीले नै हत्यारालाई जोगाउन खोजेको भन्दै हत्यारालाई चाँडै पक्राउ नगरे देशभरका सम्पूर्ण निर्माण कार्य नै ठप्प पार्ने चेतावनी दिएका थिए । गौचनको हत्या लगत्तै जिपछिरिङ लामालगायतका दर्जनौ ठेकेदारलाई फोन गरी लोप्साई राई नामका व्यक्तिले रकम माग गरेका थिए ।

  बस्नेतले पनि केही ठेकेदारलाई फोन गरेर गौचन ठिक मान्छे नभएको भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरी रकम माग गरेका थिए । स्रोतका अनुसार हुलाकी राजमार्गको ठेक्काबाट कमिसन नपाएपछि गौतमले ठेकेदारहरुको सूचना बस्नेतसम्म पु-याउँदै आएका छन् । आपराधिक कृयाकलाप र घैंटेसँग जोडिएका यिनै ठेकेदारको निर्देशनमा प्रहरी चल्न्ने हो भने देश अपराधीहरुको साम्राज्य बन्ने निश्चित छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित